ब्रेकिङ स्टोरी

नेपालमै पेन्सिल उत्पादन गरेर बेचिरहेका विश्वास

By विद्या लामा

October 29, 2022

काठमाडौँ : आफ्नो ठाँउमा पाइने स्थानीय स्रोत साधन परिचालन गरेर नेपालमा नै केही गर्नुपर्छ भनेर ४ वर्षको अनुसन्धानपछि विगत एक वर्षदेखि गृह जिल्ला रामेछापको मन्थलीमा ग्रिन सेभर प्रालिबाट कागजबाट पेन्सिल उत्पादन गर्दै आएका छन्, विश्वास श्रेष्ठ ।

श्रेष्ठले काठमाडौँको अमृत साइन्स क्याम्पसबाट आइएससी र त्रिचन्द्रबाट बीएस्सी पुरा गरेका छन् । अध्ययन सकिएसँगै विश्वासले साढे ४ वर्ष गाउँकै नजिकैको विद्यालयमा पनि शिक्षकको रुपमा अध्यापन गराएका छन् ।

विज्ञानका विद्यार्थी भएको नाताले पनि कलेजमा शिक्षकले कागजलाई पुन प्रयोग गरेर पेन्सिल बनाउन सकिन्छ भन्ने कुराको ज्ञान उनले पाएका थिए । सोही अनुरूप आफूले पढेको कुरालाई उनले व्यवहारमा उतारे ।

आज रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विश्व समुदायले पनि चिनोस् भनेर सगरमाथा पेन्सिल भनेर ग्रिन सेभर प्रालिबाट उनी प्रयोगमा आइसकेका कागजबाट पेन्सिल उत्पादन गर्दै . आएका छन् ।

नेपालमा अन्य देशबाट पेन्सिल आयात हुने तर स्वदेशमा उत्पादन किन नगर्ने भनेर प्रयोगमा आइसकेको कागज र पत्रपत्रिकाबाट उद्योग स्थापना गरेको विश्वास बताउँछन् ।

कसरी बन्यो स्वदेशमै पेन्सिल ? अनुसन्धान गर्ने क्रममा सुरुमा पेन्सिल उत्पादन गर्दा केही नराम्रो भएको विश्वासको अनुभव छ । पछि पुन अनुसन्धान गरेपछि राम्रो बनेको र ग्रिन सेभर कम्पनी दर्ता गरेर उद्योग स्थापना भएको उनले बताए । आफू एक्लैको अनुसन्धानमा लागेको उनले सुरुमा उद्योग खोलेर कसरी चलाउने भनेर ? केही न केही कुरा सुनेको उनको भनाई छ ।

तर पनि साथीभाईले कागजबाट पेन्सिल बनाउनु नौलो कुरा हो भन्दै हौसला दिएको उनी बताउँछन् । हाल यस उद्योगबाट दुई किसिमका पेन्सिल उत्पादन भइरहेको उनले बताए । जसमा सगरमाथा भेल्भेट र कागजबाट बनेको सगरमाथा पेन्सिल उत्पादन भइरहेका छन् ।

भेल्भेटको चाही भुवाको प्रयोग गरिएको उनले बताए । सुरुमा मानिसहरूले कागजबाट पेन्सिल बन्छ भनेर अचम्म मान्ने गरेको उनी बताउँछन् । प्रयोग गरिसकेपछि सबै खुसी हुने गरेको उनले बताए । सुरुमा लगानी गर्न लाख रुपैयाँ हाराहारी लागेको उनी बताउँछन् । हाल उद्योगमा ८ जना कार्यरत रहेको उनले बताए ।

लगानीको अभावले बाह्य बजारमा पुग्न सकस स्रोत र साधनको कमीले गर्दा ब्रान्डिङ र प्याकेजिङमा केही समस्या भएको विश्वास बताउँछन् । जसका कारण स्थानीय बजारमा नै हाललाई निर्यात गर्दै आएका छन् ।

बजारमा माग हुँदा पनि स्रोत साधनको अभावले सबै ठाउँमा आपूर्ति हुन नसकेको उनले बताए । दैनिक १ लाख पेन्सिल उत्पादन गरेर प्रत्येक विद्यार्थीको हातमा पुर्याउने लक्ष्य राखेको उनको भनाइ छ । केही मात्रामा बाहिरबाट आयात भएको पेन्सिलसँग बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको उनको भनाई छ ।

काठको प्रयोगले वातावरणमा पुर्याएको क्षति न्यूनीकरण गर्न पनि प्राकृतिक साधनलाई पुन प्रयोग गरौँ भन्ने नारा लिइएको उनले बताए । पेन्सिल बनाउनको लागि कागजको व्यवस्थापन गर्न स्टाफहरू अन्य ठाउँमा जाने गरेको उनी बताउँछन् ।

लिड चाही अन्य देश भारत र चीनबाट ल्याउने गरेको उनले बताए । प्रति प्याकेट ५५ रुपैयाँमा व्यापारीलाई बेच्ने गरेको उनले बताए । जसमा १२ वटा पेन्सिल र एउटा इरेजर र शार्पनर हुने उनको भनाई छ । व्यापारीले प्रति प्याकेट ८० रुपैयाँ र प्रति गोटा १० रुपैयाँमा बिक्री गर्ने गरेको विश्वास बताउँछन् ।

समाजसेवामा पनि झुकाव   उनले कम्पनीबाट आम्दानी भएको रकमले रामेछापको सहयोगी मन भनेर सानो टिम बनाएका छन् । जसले रामेछाप जिल्लाका कुनै मानिसलाई सहयोग, राहतको खाँचोँ छ भने सो टिमबाट उपलब्ध गराउने गरेको बताए ।

यसैलाई मानवीय सहयोग भन्दा पनि वित्तीय रुपमा हेर्नु पर्ने उनको बुझाई छ । तर पनि साना तिना सहयोग गर्न पाउँदा उनीहरूको जीवनलाई सुधार्न पाउँदा खुसी महसुस हुने उनले अनुभव सुनाए ।

सफलताका लागि धैर्यता राखेर निरन्तरता दिन सुझाव कुनै पनि काममा सफलता पाउनुछ भने त्यसलाई निरन्तरता दिन उनी सुझाउँछन् । प्रतिफल पाउन हतारिनु भन्दा पनि धैर्यता गर्न उनको सुझाव छ । केही नयाँ काममा हामी हात हाल्छौँ भने पहिला सो विषयमा ज्ञान लिएर अगाडि बढ्दा राम्रो हुने उनले बताए ।

समाजलाई केही दिन्छु भन्ने लाग्छ भने परिश्रम र धैर्यता गरेर लागेको खण्डमा सफल भइन्छ भन्ने उनी विश्वास गर्छन् । लाखौँ युवा विदेशिने क्रम बढ्दो रुपमा रहेको बताउँदै उनले बाहिर जानु मात्र समस्याको समाधान नभएको बताए ।

नेपालमा नै केही गर्न सकेको खण्डमा भावी पुस्ताले पनि सहजता पाउने उनले बताए । आफुभन्दाु ठुलाबडासगँ सल्लाह सुझाव लिर्नुपर्ने विश्वास बताउँछन् । यस्तै स्वदेशमा उत्पादन भएको वस्तुलाई सबैले प्रयोग गरेमा मात्र नेपाली रुपैयाँ बाहिर नजाने र रोजगारी अवसर यही मिल्ने उनको बुझाई छ ।