खेलकुद

कतार विश्वकपका क्रममा लियोनल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने 

By खबरहब

December 29, 2022

दोहा – कतार फिफा विश्वकप २०२२ को क्रममा कतार विश्वविद्यालयमा बसेका अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कोठालाई संग्रहालयमा परिणत गरिने भएको छ।

कतार विश्वविद्यालयले अर्जेन्टिनाका कप्तानले प्रयोग गरेको कोठा नम्बर बि २०१ कोठामा संग्रहालय बन्ने जनाएको छ।

‍यसअघि विश्वविद्यालयले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली बसेको कोठाको तस्बिरहरूको श्रृंखला प्रकाशित गरेको थियो।

अर्जेन्टिनाको टोलीको दोहा बसाइका क्रममा कतार विश्वविद्यालय आश्रयस्थल बनेको थियो। सङ्ग्रहालय सोही कम्प्लेक्सबाट सञ्चालन हुने वा क्याम्पसको अन्यत्र सार्ने भन्ने खुलाइएको छैन।

यसले उत्सुक प्रशंसकहरूलाई सर्वकालीन महान फुटबलरको रूपमा चिनिएका मेस्सीले कसरी विश्वकप अभियानका खेलहरूबीचको समय बिताए भनेर हेर्न अवसर प्रदान गर्नेछ।

डेली मेलका अनुसार विश्वकपका क्रममा मेस्सीको नेतृत्वमा रहेको टोलीले पाँच -तारे लक्जरी होटेलहरूको सट्टा विशाल विश्वविद्यालयको क्याम्पमा बस्ने निर्णय गरेको गरेको थियो।

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना तेस्रो पटक विश्विकप विजेता बनेको थियो।