देश/प्रदेश

फूलको थुंगासमेत नपाएका शहीदका सालिक

By खबरहब

January 30, 2022

तनहुँ– पृथ्वी राजमार्गको छेउमा शहीद लालध्वज पार्क छ । कोत्रे बजारमा रहेको सानो पार्कमा शहीद लालध्वज गुरुङसँगै सर्वसिङ गुरुङ, हस्तवीर गुरुङ र इमानसिङ गुरुङको सालिक ठडाइएको छ ।

ढुंगामा कुँदिएको सालिक राजमार्ग छेउमै भएकाले धुलाम्मे देखिन्छ । ढुंगा बिछ्याइएको पार्कमा पनि धुलो जमेर त्यसैमाथि झारपात उम्रेका छन् ।

आइतबार देशभर शहीद दिवस मनाइएको छ । देश परिवर्तनका निम्ति क्रान्तिमा होमिएर प्राणको आहुति दिएका शहीदहरूको सालिकमा माल्यार्पण गर्दै योगदानको चर्चा गरेर विभिन्न स्थानमा दिवस मनाइयो । तर, राजमार्गको छेउमा रहेको कोत्रेको शहीद पार्कमा भने केही कार्यक्रम भएन ।

स्थानीय सरकार, स्थानीयवासी, राजमार्गमा ओहोरदोहोर गर्ने यात्रु कसैको नजर परेन । र, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धमा लागेर कोत्रे बजारमा २०१८ सालमा सहादत प्राप्त गरेका ती शहीदको सालिकले शहीद दिवसको दिनमा पनि एउटा फुलको थुंगो पाएन । सालिकमा माल्यार्पण भएन । शहीद दिवसको दिनलाई मात्रै भए पनि पार्क परिसर सरसफाइ गरेर चिटिक्क बनाउन सकेनन् कोत्रेवासीले ।

शुक्लागण्डकी नगरपालिका-२ हलेदीमा पनि पृथ्वी राजमार्गको छेउमा जनयुद्धका शहीदहरूको सम्झनामा स्मृति पार्क बनाइएको छ । पार्कमा जनयुद्धका शहीदको बलिदानीलाई सम्मान गर्दै प्रतिकात्मक मूर्ति राखिएको छ । त्यहीको मूर्तिको छत्रछायामा बसेर आइतबार एक घण्टा शहीदको स्मरण गर्नलाई पनि शहीद स्मृति पार्क निर्माण समितिले कन्जुस्याइँ गर्‍यो ।

२०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गरेका शहीद कृष्णप्रसाद पौडेलको सालिकले पनि शहीद दिवसको दिन फुलको थुंगो पाएन । शुक्लागण्डकी नगरपालिका-८ पाटनमा उनको स्मृतिमा पार्क त बनाइएको छ । तर, पार्कमा राखिएको सालिकले फुलको थुंगोसमेत नपाएको बेला उनको योगदानको चर्चा हुने भएन नै ।

यी त केबल प्रतिनिधि शहीदका सालिक हुन् । वर्षभरी बेवास्ता गरे पनि कम्तीमा एक दिन शहीद दिवसमा समेत शहीदका सालिकले फुलको थुंगो पाउन मुस्किल देखिएको छ । देशभर शहीद दिवस मनाइरहँदा शहीदका सालिकले एउटा फुलको थुंगोसमेत नपाउनुले शहीदको योगदानको अपमान भएको महसुस गर्छन् शहीद परिवार ।

शहीद कृष्णप्रसाद पौडेलका पुत्र हिमाल पौडेल शहीदलाई एक दिन मात्र नभई हरेक दिन सम्झनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘शहीदलाई सम्झेर मात्र हुँदैन । शहीदले देखाएको बाटोमा पनि हिँड्न सक्नुपर्छ । के सपना देखेर प्राणको आहुति दिएका थिए ? के प्राप्ति भइरहेको छ ? राजनीतिक दलहरूले मूल्याङ्कन गर्न सक्नुपर्छ ।’

देशमा तीन तहका सरकार छन् । विभिन्न शासन व्यवस्था परिवर्तनका भएर संघीयता कार्यान्वयनमा आएको छ । त्यसका लागि हजारौं शहीद बनेको भुलेका छन् तीनै तहका सरकारले ।

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले कोरोना संक्रमणका कारण कार्यक्रम गरेर शहीद दिवस मनाउन नपाएको बताए । उनले भने, ‘हामीले शहीदको योगदान बिर्सन्न हुँदैन । एक दिन मात्रै होइन हरेक दिन स्मरण गनुपर्छ । तर यसपालि कोरोना कहरले गर्दा कार्यक्रम गरेर मनाउन पाएनौं’, उनले भने ।

व्यास नगरपालिका–८ पुलिमराङ अर्थात् शहीद गाउँमा भने शहीदको योगदानको चर्चा गर्दै दिवस मनाइएको छ । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धको क्रान्तिमा होमिएर पुलिमराङका ६ जनाले सहादत प्राप्त गरेका थिए । आइतबार व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने लगायतका जनप्रतिनिधि पुलिमराङस्थित शहीद स्मारक पार्कमा पुगेर शहीदको सालिकमा माल्यार्पण गरे ।

शहीदका गाउँलेलाई सम्बोधन गर्दै मेयर न्यौपानेले गुरुयोजना अनुसार शहीद स्मृति पार्क निर्माणलाई सहयोग गर्ने बताए । पुलिमराङ चिनाउन व्यासले वर्सेनी अल्ट्रा म्याराथन गर्दै आइरहेको थियो । यसपालि कोरोना कहरले हुन नपाएको म्याराथन अवस्था सामान्य भएमा फागुन ७ गते प्रजातन्त्र दिवसमा गर्ने उनको प्रतिबद्धता छ ।