राजनीति

तालमेलको निर्णय गठबन्धनको बैठकले गर्छ : कांग्रेस नेता सिंह

By खबरहब

March 30, 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् ।

आज काठमाडौँको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको थियो ।

‘संसदमा कांग्रेसको उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो । यी सबै कुराको ख्याल राख्नुपर्छ ।  गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुरोध गर्दछु,’ तालमेलको विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने ।

अब मतदाताले पनि चुनावमा लेखाजोखा गर्ने बेला आएको उनले बताए । ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्याङ्कन हुन्छ,’ सिंहले भने ।