तस्वीर- एजेन्सिया वेब्रेस्का पोल्याण्ड

अन्तर्राष्ट्रिय

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी पलायन

By खबरहब

March 30, 2022

काठमाडौं– रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।

देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेको युएनएचसीआरले जनाएको छ । ‘अवश्य पनि, विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछि कै अप्रत्याशित हो’, युएनएचसीआरका प्रवक्ता म्याथ्यु साल्टमार्शले जेनेभामा पत्रकारहरुसँग भने ।

‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ’ रेड क्रस एण्ड रेड क्रेजेन्ट सोसाइटिज (आईएफआरसी) को अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष फ्रान्सेस्को रोकाले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पनि पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठन आइओएमले जनाएको छ ।