तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

By खबरहब

March 30, 2022

काठमाडौं– इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो ।

सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ । बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् ।

घटनाका क्रममा खिचिएका भिडियोमा कालो वस्त्र लगाएको बन्दुकधारीले मानिसहरुमाथि जथाभावी गोली चलाएको देखिन्छ । प्यालेष्टाइनको वेष्ट ब्याङ्कस्थित जेनिन भन्ने स्थानमा बसोबास गर्ने २६ वर्षीयले गोलीकाण्ड मच्चाएको जनाइएको छ ।

बन्दुकधारी यसअघि पनि इजरायली कारागार चलान भइसकेको पूर्व कैदी रहेको बबीसीले जनाएको छ ।

पछिल्लो एक सातामा इजरायलमा भएको यो तेश्रो आक्रमण हो ।

आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री नफ्तलाई बेन्नेटले आकस्मिक सुरक्षा बैठक डाकेका छन् । ‘इजरायलले प्राणघातक अरब आतंकवादको सामना गरिरहेको छ ।’ बेन्नेटले भने ।