अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

March 30, 2022

अडियो सुन्नुहोस्:

आज चैत्र १६, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण १२ जना मारिए

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो ।

आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर भिताली किम त्यहाँ नरहेको बीबीसीले जनाएको छ ।

रुसी फौजको हवाई आक्रमणमा अरु २२ जना घाइते भएको युक्रेनी गृहमन्त्रालयले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गरेका छन् । डेनमार्कको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘माइकोलाइभ क्षेत्रमा कुनै सैनिक निशाना थिएनन् । माइकोलाइभका बासिन्दाबाट रुसलाई कुनै खतरा थिएन ।’

यता क्षेत्रीय गभर्नर भिताली किमले भने उक्त भवनमा मानिसहरु आउने कुरेर बसेका रुसी फौजले धेरै जनाको हुलमुल भएपछि आक्रमण गरेको आरोप लगाएका छन् । ‘म धेरैबेर सुतेको थिएँ । तर भाग्यमानी साबित भएँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘अधिकांश मानिसहरु चामत्कारिक हिसाबले भागे । तर, कसरी मलाई थाहा छैन ।’

केही सातायता युक्रेनी फौजले रुसी आक्रमणको डटेर सामना गरिरहेका छन् । युक्रेनी प्रतिरोधको सामनाबाट हतास बनेका रुसी फौजले यस्ता गैरसैनिक एवम् नागरिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना हुँदा ८ शान्ति सेना मारिएका छन् । कङ्गोको पूर्वमा पर्ने उत्तरी किभु प्रान्तमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका सैनिक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा ८ जना सवार रहेको र दुर्घटनामा कोही पनि बाँच्न सफल नभएको बताइएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा ६ जना पाकिस्तानी एक सर्बियाली र एक रुसी नागरिक रहेको कङ्गोमा तैनाथ शान्ति मिसन मोनुस्कोले जानकारी दिएको छ ।

उद्धारकर्ताहरुले मृतकको शवलाई उक्त प्रान्तको राजधानी गोमा शहरमा ल्याइपुर्‍याएको सीएनएनले जनाएको छ । संयुक्त राष्ट्रसंघस्थित पाकिस्तानी प्रतिनिधिको कार्यालयले दुर्घटनामा मारिएका आफ्ना सैनिकको पहिचान गरिएको र उनीहरुका आफन्तलाई पनि दुर्घटनाबारे जानकारी गराइएको जनाएको छ ।

पूर्वी कङ्गोमा मार्च २३ आन्दोलन (एम २३) नामक विद्रोही समूहले हिंसा मच्चाउँदै आएको छ । छिमेकी मुलुकहरु रुवाण्डा र युगाण्डाले यो समूहलाई सहयोग गर्ने गरेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोले आरोप लगाउने गरेको छ । सोही द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन तैनाथ छ ।

यता कङ्गोको सेनाले भने एम २३ विद्रोहीले संयुक्त राष्ट्रसंघको हेलिकोप्टर खसालेको आरोप लगाएको छ । यद्यपि हेलिकोप्टर दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ ।

इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमा आइतबार मतदान हुने

पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा आगामी आइतबार अर्थात् अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मामिला मन्त्री शेख रसिदले खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने जानकारी दिएको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

गत सोमबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । ३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस हुने र ३ अप्रिलमा मतदान हुने मन्त्री रसिदको भनाइ छ । उनले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल हुने समेत उनको भनाइ छ । प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

ट्रिब्युनका अनुसार ३४२ सिट रहेको संसद्मा प्रधानमन्त्री खानको सरकार विपक्षीभन्दा केबल २ मतले अघि रहेको छ । अविश्वासको प्रस्ताव पारित गर्नका लागि पाकिस्तानी संसद्मा १७२ मत आवश्यक पर्छ । यद्यपि हालै खानको दलका सांसद् खयाल जमानको मृत्यु भएकाले संसदीय समिकरण अझ जटिल बनेको बताइएको छ ।

हाल विपक्षीसँग १६९ र सत्ता गठबन्धनसँग १७१ सिट सुरक्षित रहेको ट्रिब्युनले जनाएको छ । यस्तो अवस्थामा संसद्मा एक सिट मात्रै रहेको जमात ए इस्लामी पार्टीको मतले प्रधानमन्त्री खानको भविष्य निर्धारण गर्ने बताइएको छ ।

इजरायलमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु

इजरायलमा भएको पछिल्लो अक्रमणमा ५ जनाको मृत्यु भएको छ । तेल अभिभ शहरनजिकै एक प्यालेष्टाइनी बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो ।

सुरक्षाकर्मीको जवाफी कारवाहीमा बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ । बन्दुकधारीलाई निष्कृय बनाउन गोली चलाउने सुरक्षाकर्मी पनि मारिएको इजरायली अधिकारीले जनाएका छन् ।

घटनाका क्रममा खिचिएका भिडियोमा कालो वस्त्र लगाएको बन्दुकधारीले मानिसहरुमाथि जथाभावी गोली चलाएको देखिन्छ । प्यालेष्टाइनको वेष्ट ब्याङ्कस्थित जेनिन भन्ने स्थानमा बसोबास गर्ने २६ वर्षीयले गोलीकाण्ड मच्चाएको जनाइएको छ ।

बन्दुकधारी यसअघि पनि इजरायली कारागार चलान भइसकेको पूर्व कैदी रहेको बबीसीले जनाएको छ ।

पछिल्लो एक सातामा इजरायलमा भएको यो तेश्रो आक्रमण हो । आक्रमणलगत्तै इजरायली प्रधानमन्त्री नफ्तलाई बेन्नेटले आकस्मिक सुरक्षा बैठक डाकेका छन् । ‘इजरायलले प्राणघातक अरब आतंकवादको सामना गरिरहेको छ ।’ बेन्नेटले भने ।

रुसी विदेशमन्त्री चीन भ्रमणमा

रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलो पटक रुसी विदेशमन्त्री चीन भ्रमणमा निस्केका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ बहुपक्षीय छलफलका लागि चीन पुगेका हुन् ।

चीनमा रहँदा उनले अफगानिस्तानका विषयमा पाकिस्तान, इरानm ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरुसँग छलफल गर्ने अल जजिराले जनाएको छ ।

यस छलफलमा चीनका तर्फबाट विदेशमन्त्री वाङ यी र तालिबानले नियुक्त गरेका अफगान विदेशमन्त्री अमिर खान मुत्तकी पनि सहभागी हुने बताइएको छ । कतार र इण्डोनेशियालाई पाहुनाका रुपमा यस छलफलमा डाकिएको छ ।

यसबाहेक रुसी विदेशमन्त्रीले अफगानिस्तानका लागि चिनियाँ तथा अमेरिकी विशेष प्रतिनिधिसँग पनि बेग्लै छलफल गर्ने कार्यक्रम छ ।कोरोना भाइरसको नयाँ लहर झेलिरहेको चीनले यो बैठक आन्हुई प्रान्तको टुङ्सी शहरमा आयोजना गर्न लागेको जनाइएको छ ।

युक्रेनमाथि आक्रमण जारी राखेको रुसका विदेशमन्त्रीले चीनमा रहँदा युक्रेनका विषयमा पनि कुराकानी गर्ने वा नगर्ने केही खुलाइएको छैन ।

पुरानो क्षेप्यास्त्र परीक्षण गरेर ‘उत्तर कोरियाले झुक्यायो’

उत्तर कोरियाले यसै साता परीक्षण गरेको अन्तरमहादेशीय क्षेप्यास्त्र नयाँ नभई पुरानो शैलीको भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले गत बिहीबार ह्वासोङ १७ नामक ‘भीमकाय’ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो ।

‘ह्वासोङ १७ परीक्षण गरेको उत्तर कोरियाली दाबी झूठो भएको दक्षिण कोरिया र अमेरिकी जासुसी निकायले निष्कर्ष निकालेका छन् । यो वास्तवमा ह्वासोङ १५ थियो । त्यसैले हामी उत्तर कोरियाले झुक्यायो भनिरहेका छौं ।’ पूर्व सैनिक अधिकारी समेत रहेका दक्षिण कोरियाली सत्तारुढ डेमोक्र्याटिक पार्टीका नेता मिन होङ चुलले भने ।

ह्वासोङ १५ लाई उत्तर कोरियाले अन्तिमपटक सन् २०१७ मा परीक्षण गरेको थियो । यही क्षेप्यास्त्रको अघिल्लो साता पनि असफल परीक्षण भएको बताइएको छ ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बताउँदै यो क्षेप्यास्त्रले ६ हजार किलोमिटरको उचाईमा पुगी १ हजार किलोमिटर टाढा जापानी जलक्षेत्रमा खसेको जनाएको थियो ।

नयाँ वा पुराना जुनसुकै शैलीको क्षेप्यास्त्र भएपनि पछिल्लो परीक्षणबाट उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्रलाई अझ परिष्कृत बनाएको दक्षिण कोरियाली एवम् जापानी सैनिक विश्लेषकहरुलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन च्यानल एबीसीले जनाएको छ ।

आक्रमणको स्तर घटाउने रुसी बाचाप्रति युक्रेन संशकित

आक्रमणको स्तर घटाउने रुसी वाचाप्रति युक्रेन सशंकित देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको स्तर घटाउने रुसी घोषणालाई विश्वास गरिहाल्ने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच प्रत्यक्ष द्विपक्षीय शान्ति वार्ता जारी रहेका बेला रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले राजधानी किभ र चेर्निभ शहर आसपास रुसले आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ बताएका थिए ।

नियमित भिडियो सन्देशका क्रममा जेलेन्स्कीले भने, ‘छलफलमा हामीले सुनेका यस्ता संकेतलालाई सकारात्मक भन्न सकिन्छ ।’ उनले थपे– ‘तर यस्ता संकेतले ठूलो आवाजमा पड्किने रुसी गोलालाई शान्त पार्दैनन् ।’

उनले युक्रेनी सेनाले रुसको हात बाँधिदिएको टिप्पणी समेत गरे । ‘हामीले हाम्रो रक्षा गर्न छाड्नुहुन्न किनकी आक्रमणकारी फौजले फेरि आक्रमण गर्न सक्छ ।’

‘युक्रेनीहरु मूर्ख छैनन्’ उनले भने, ‘युक्रेनीहरुले विगत ३४ दिनको आक्रमण र विगत ८ वर्ष डोनबासमा भएको युद्धबाट ठोस नतिजामा मात्रै विश्वास गर्नुपर्छ भन्ने सिकेका छन ।’

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । समाचार संस्था एएफपीका अनुसार देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ । यो आर्थिक संकट सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

श्रीलङ्कामा प्रयोग हुने बिजुली मध्ये ४० प्रतिशत जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेको बताइएको छ ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा पानीको मात्रा कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको एएफपीले जनाएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको एएफपीले जनाएको छ ।

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी पलायन

रुसी आक्रमणका कारण ३९ लाख युक्रेनी अन्य देशमा शरणार्थी बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार मङ्गलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।

देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेको युएनएचसीआरले जनाएको छ । ‘अवश्य पनि, विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछि कै अप्रत्याशित हो’, युएनएचसीआरका प्रवक्ता म्याथ्यु साल्टमार्शले जेनेभामा पत्रकारहरुसँग भने ।

‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ’ रेड क्रस एण्ड रेड क्रेजेन्ट सोसाइटिज (आईएफआरसी) को अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष फ्रान्सेस्को रोकाले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर–युक्रेनीहरू पनि पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठन आइओएमले जनाएको छ ।