काठमाडौं– आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको छ । ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरुमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरु गुयास, मनाबी र एज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं सैनिक एवम् प्रहरीलाई त्यसतर्फ पठाइने बताएका छन् ।
सो क्षेत्रमा ४ हजार प्रहरी र ५ हजार सैनिक परिचालन गरिने बताइएको छ ।
गत वर्ष राष्ट्रपति बनेयता गुलेर्मो लासोले हिंसा रोक्न आपतकालीन शक्तिको प्रयोग गरेको यो दोश्रो पटक हो । बीबीसीका अनुसार आपतकाल घोषणा गरिएका क्षेत्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू गरिनेछ ।
पछिल्ला केही समययता इक्वेडोरमा आपराधिक ग्याङ्गको हिंसामा उच्च वृद्धि भएको बीबीसीले जनाएको छ । राष्ट्रपति लासोले लागूऔषध तस्करका कारण आफ्नो मुलुकमा हिंसा बढेको बताएका छन् ।
छिमेकी मुलुकहरु कोलम्बिया र पेरुबाट अन्यत्र लागूऔषध तस्करी गर्न तस्करहरुले इक्वेडोरलाई ट्रान्जिट हबको रुपमा प्रयोग गर्दै आएको बताइन्छ ।
यसबाहेक मेक्सिकोका कुख्यात लागूऔषध तस्करहरुको पनि त्यहाँका स्थानीय ग्याङ्गसँग साँठगाँठ रहेको बताइएको छ ।