फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा अज्ञात बन्दुकधारीद्वारा प्रहरी अधिकारीको हत्या

By खबरहब

April 30, 2022

काठमाडौं– पाकिस्तानमा अज्ञात बन्दुकधारीले प्रहरी अधिकारीको हत्या गरेका छन् । पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको प्रशासनिक केन्द्र वाना शहरमा प्रहरी उपरीक्षकको हत्या भएको हो ।

हत्या भएका प्रहरी उपरीक्षकको नाम अस्लम जावेद रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । अखबारका अनुसार रमाजानको ब्रत तोडेपछि बाटोमा हिँड्दै गर्दा उनीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका थिए ।

नम्बर प्लेट बिनाको कारमा आएका बन्दुधकारीहरुले उनलाई शहरको पिर सुल्तान मस्जिदनजिकै गोली हानेको जनाइएको छ । घटनास्थलमै उनको मृत्यु भएको डनले जनाएको छ ।

चिकित्सकहरुका अनुसार उनको टाउकोमा दुई गोली लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाकिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढ्दै गइरहेको बताइन्छ ।