काठमाडौँ- ललितपुरको सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा जारी शहीद स्मारक सी डिभिजन लिगमा दशौँ जित निकाल्दै झापा फुटबल क्लब बी डिभिजनमा बढुवा भएकोे छ ।
सोमबार दिउँसो भएको खेलमा झापाले वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेर बी डिभिजनमा बढुवा भएको हो ।
झापाको जितमा पुजन राईले ४ र सन्तोष लावतीले १ गोल गरे । पुजनले खेलको १३ औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए । पुजनले व्यक्तिगत तथा झापाको लागि खेलको ६६ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
खेलको ७४ औँ मिनेटमा पुजनले झापाको लागि तेस्रो गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । खेलको इन्जुरी समयमा सन्तोषले झापाको लागि चौथो गोल गरे ।
त्यसपश्चात झापाको लागि पाँचौँ गोल गर्दै पुजनले व्यक्तिगत चौथो गोल गरे । झापाका पुजन राई म्यान अफ द म्याच घोषित भए ।
१२ खेलमा १० मा जित निकालेको झापा ३१ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । झापाले आजको खेल जितेसँगै एक खेल अगावै नै बी डिभिजनमा बढुवा भएको हो । झापाले आफ्नो अन्तिम खेल स्वयम्भू क्लबसँग खेल्नेछ ।
प्लानिङ ब्वाईज यूनाईटेड र आरसी ३२ फुटबल एकेडेमी भने २८ अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । अब अन्तिम खेलमा झापा पराजित भए वा आरसी ३२ ले आफ्नो खेल जिते पनि झापा शीर्ष स्थानमा नै रहनेछ ।
झापाले १२ खेलमध्ये १० मा जित, १ मा पराजित भएको र १ बराबरी खेलेको हो । यता, वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेको छ । ओएसिस क्लब भने महावीर क्लबसँग पराजित भएलगत्तै रेलिगेट भएको थियो ।