फाइल तस्वीर- एपी

अन्तर्राष्ट्रिय

चीनमा कोभिड विरुद्ध ‘शून्य सहनशीलता’ का कारण मानिसहरूको मानसिक स्वास्थ्य बिग्रँदै

By खबरहब

May 30, 2022

 काठमाडौँ- गत मार्च महिनाको अन्त्यबाट चीनको वित्तीय केन्द्र सांघाईमा लकडाउनको घोषणा गरिएको छ । चीनले लागू गरेको कोरोना भाइरसविरुद्ध ‘शून्य सहनशीलता’ को नीतिअनुसार सांघाईमा लकडाउनको घोषणा गरिएको हो ।

लकडाउनका कारण सांघाईका बासिन्दाहरुमा मानसिक समस्या देखा पर्दै जान थालेको छ । सांघाईका बासिन्दाहरुमा एन्जाइटी, डिप्रेसन र अन्य मानसिक स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन् ।

यता सरकारले भने लकडाउनमा रहेका मानिसहरुका लागि मनोवैज्ञानिक एवम् मानसिक स्वास्थ्यका लागि अस्पताल तथा आवासीय समुदायलाई स्रोत तथा साधनहरु उपलब्ध गराइरहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार झण्डै दुई महिना लामो लकडाउनका कारण मानिसहरूको दैनिकी एवम् उनीहरूको काम समेत प्रभावित भएको छ । मानिसहरू छुट्टाछुट्टै बसोबास गरिरहेका कारण कठिन अवस्था रहेको र सामाजिक वृत्त धूमिल भएको डब्लुएचओको भनाइ छ ।

एक्लोपना, संक्रमणको त्रास, आफन्तको मृत्युको शोक र आर्थिक कठिनाइले गर्दा मानिसहरुमा तनावको स्तर बढेको जनाइएको छ । यसबाहेक स्वास्थ्यकर्मीहरुमा कामको दबाब, र अत्यधिक कामपछि थकानका कारण आत्महत्याको सोचाइजस्ता घटना बढ्दै गइरहेको डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ ।

व्यक्तिगत स्वास्थ्य, सामाजिसक असुरक्षा, एक्लोपना, जीविकोपार्जनको पहुँचमा कमीजस्ता कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको जनाइएको छ । यद्यपि मानसिक स्वास्थ्यविद्हरुले चिनियाँ नेतृत्वले यसलाई गम्भीरतापूर्वक नलिएको दाबी गरेका छन् । पछिल्ला अनुभवबाट पनि चिनियाँ नेतृत्वले पाठ नसिकेको उनीहरुको भनाइ छ ।

झण्डै अढाई वर्षअघि चीनले विश्वमै पहिलो पटक आफ्नो मुलुकको वुहान शहरमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो । यद्यपि लकडाउनको समयमा मानसिक स्वास्थ्यलाई भने चीन सरकारले प्राथमिकता दिएको छैन ।

ल्यान्सेट रेस्पिरोटरी मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा कोरोना भाइरसको पहिलो लहरका क्रममा अस्पताल भर्ना भएका आधाभन्दा धेरै मानिसहरुले अझै पनि थकान र सुत्न नसक्नेजस्ता समस्याको सामना गरिरहेको उल्लेख छ । यसबाट उनीहरुको मानसिक अवस्था तथा समाजमा काम गर्ने दशौ लाख मानिसहरुको क्षमतामा प्रभाव पारिरहेको जनाइएको छ ।

चीनको राजधानी बेइजिङमा रहेको चीन–जापान मैत्रिपूर्ण अस्पतालका चिकित्सकहरुले गरेको अध्ययनको रिपोर्ट सार्वजनिक भएपनि चीनले कोभिड १९ विरुद्ध ‘शून्य सहनशीलता’ लाई निरन्तरता दिइरहेको छ ।

स्वास्थ्यविद्हरुले चिनियाँ नेतृत्वले लकडाउनका कारण मानसिक स्वास्थ्यमा उत्पन्न नकारात्मक प्रभावबारे वास्ता नगरेको समेत आरोप लगाएका छन् । उनीहरूका अनुसार अत्यावश्यक सामान किन्नका लागि र मृतकप्रति शोक व्यक्त गर्नका लागि समेत बाहिर जान नपाएका कारण सांघाइका बासिन्दाहरु ‘मानसिक अस्पताल’ मा जस्तै बस्न बाध्य भएको आरोप लगाएका छन् ।

चीनको अधिनायकवादी नेतृत्वले आफूहरु सबै विषयमा जानकार रहेकोजस्तो व्यवहार गर्ने र कुनै विशेष क्षेत्रका जानकारहरुको सल्लाह सुझव नलिने भएका कारण यस्तो अवस्था आएको चिकित्सकहरुको टिप्पणी छ ।

यसाबाहेक चीन सरकारको गलत कार्यहरुलाई त्यहाँ रहेका सरकार नियन्त्रित सञ्चारमाध्यमहरुले प्रकासन, प्रसारण नगर्ने भएका कारण पनि यस्तो अवस्था आएको बताइन्छ ।

मानवअधिकारवादी संस्था तथा व्यक्तित्वहरुले यसअघि पनि चीनले मानसिक स्वास्थ्य जस्ता अन्य मानवअधिकारको उल्लङ्घन गर्दै आएको बताउने गरेका छन् । चीनले उइगुर मुसलमान तथा अन्य तुर्केली भाषा बोल्ने अल्पसङ्ख्यकविरुद्ध ‘नरसंहार’ गरेको समेत आरोप लाग्ने गरेको छ ।

संयुक्त राष्ट्रसंघका एकजना अधिकारीले पनि चीनको कोभिड १९ विरुद्ध ‘शून्य सहनशीलता’ नीतिको आलोचना गरेका छन् । उनका अनुसार जनस्वास्थ्यका हिसाबमा यो लागू गर्न सकिन्न । ‘मानिसले धेरै चिज नियन्त्रणमा राख्न सक्छ तर विषाणुविरुद्ध आदेश दिन सक्दैन ।’ उनको भनाइ छ ।

उनका अनुसार मानिसहरुको जीवन र स्वास्थ्यमा आँच आउने गरी लकडाउन गर्नुभन्दा चीनले भाइरससँग बाँच्न सिक्नुपर्छ । लामो समयसम्म लकडाउन भएको खण्डमा यसले मानिसहरुको मानसिक स्वास्थ्यमा अझ नकारात्मक असर पर्ने जनाइएको छ ।

यसैबीच चीनले मानसिक स्वास्थ्यका क्षेत्रमा चालेको कदमबारे पनि समाचार आइरहेका छन् । यद्यपि मानसिक स्वास्थ्यबारे स्पष्ट विवरण भने सार्वजनिक भइसकेको छैन । तैपनि सञ्चारमाध्यममा आएका समाचारमा लकडाउनबाट विस्तारै मुक्त भएका धेरै मानिसहरुले मानसिक स्वास्थ्य सेवा लिइरहेको जनाइएको छ ।

चीनको ‘सर्च इन्जिन’ बाइडुमा अप्रिल महिनामा ‘मनोवैज्ञानिक परामर्श’ का लागि खोजहरुको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ । एक वर्षको अन्तरालमा मनोवैज्ञानिक एवम् मानसिक स्वास्थ्यबारे खोजको संख्यामा २५३ प्रतिशतको वृद्धि भएको जनाइएको छ ।