आर्थिक

स्वरोजगार कोषले गर्‍यो एकैदिन ५० करोड ऋण स्वीकृत

By खबरहब

May 30, 2022

काठमाडौँ– युवा स्वरोजगार कोषले सोमबार एकदिन मै करीब ५० करोडको ऋण स्वीकृत गरेको छ ।

सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारी संस्थाका फाइलहरूलाई अन्तिम निर्णयार्थ स्वीकृत गरेसँगै करीब ५० करोड सम्बन्धित सहकारी संस्थाका खातामा निकासा हुन लागेको हो ।

कोषले सहकारी संस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय ऋण स्वीकृतिमा सुस्तता आएको थियो ।

सोमबार तयारी अवस्थामा रहेका १२० वटा सहकारी संस्थाका फाइललाई एकैपटक अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाइल स्वीकृत भएको हो ।

सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्य प्राप्त गर्नलाई युद्धस्तरबाट काम अघि बढाइरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।

कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोक कर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्रा कर्जा प्राप्त गर्दछन् ।