ब्रेकिङ स्टोरी

हङकङको खुसी छिनिएको २५ वर्ष

By मनोज घिमिरे

June 30, 2022

‘सन् १९९७ मा फर्कने हो भने त्यो सबै झुट जस्तो लाग्छ,’अहिले अक्सफोर्डमा रहेर काम गरिरहेका, हङकङमा जन्मिएका एकाउन्टेन्ट थोमस फङले भनेका छन् । यो त्यही वर्ष हो, जुन वर्षमा पूर्वब्रिटिस उपनिवेश हङकङ चीनलाई हस्तान्तरण गरिएको थियो । त्यो समयमा हङकङको स्वाधीनता यथावतै रहने सर्तमा चीनको विशेष प्रशासनिक क्षेत्र ( एसएआर)को रूपमा हस्तान्तरण गरिएको हो ।

हङकङको पूर्ण स्वतन्त्रता सन् २०४७ सम्म यथावत् रहने शर्तमा दुवै पक्ष मन्जुर थिए । त्यसपछि मात्र यो चीनको पूर्ण अधीनस्थ रहने गरी सहमति भएको थियो । चीनले त्यो समयमा भएका धेरै जसो सम्झौता भङ्ग गरेको छ । एक दशक अगाडि विद्यार्थीको रूपमा बेलायत पुगेका ३१ वर्षीय फङले भनेका छन् ।

बेइजिङकै प्रभावमा विवादित राष्ट्रिय सुरक्षा ऐन दुई वर्ष अगाडि नै लागू भएको छ । यसले हङकङबासीको भविष्य र उनीहरूको स्वतन्त्रता माथि नै प्रश्न चिह्न खडा गरेको छ । त्यसपछि नै सबै हङकङबासीका लागि बेलायत झन् प्रिय लाग्न थालेको थियो । यसपछि बेलायत एउटा नयाँ गन्तव्य बनेको थियो ।

बेलायतले दिएको ब्रिटिस नेसनल ओभरसीज (बीएनओ)को सुविधामा हङकङका बासिन्दा ६ महिनासम्म त बिना भिसा बेलायत जान सक्ने प्रावधान पहिले नै थियो । राष्ट्रिय सुरक्षा ऐन लागू भएपछि बेलायतले पनि हङकङबासीको सवालमा बीएनओमा परिमार्जन गरेको छ । त्यहाँ दिइएको नयाँ भिसा प्रणालीका अनुसार ५४ लाख जनसङ्ख्या भएको हङकङका ७० प्रतिशतले बेलायतमा बस्ने, काम गर्ने र अध्ययन गर्ने अवसर पाउने छन् ।

सन् २०२१ को जनवरी यता १ लाख जना हङकङबासी बेलायत पुगिसकेका छन् । बेलायतले ५ वर्षमा यो सङ्ख्या ३ लाख पुग्ने अनुमान सहित नीति बनाएको हो । अहिले २५ वर्ष भइसकेपछि पनि धेरैलाई यो सम्झौताका बारे शङ्का उत्पन्न हुन थालेको छ।

त्यसो त हङकङबासी अब विकल्परहित अवस्थामा पुगेका छन् । सन् १९९७ मा बेलायतले हङकङ छाड्दा फङ ६ वर्षका थिए । उनका परिवारले पनि त्यो ठाउँ छाड्न नचाहेका होइनन् । उनीहरूका धेरै आफन्त अमेरिका र क्यानडा जानुका बाबजुद फङका अभिभावकले हङकङमा नै समय कटाए ।

‘त्यो सबै कुराको डर महसुस गर्नका लागि त म सानै थिए । तर, त्यो हस्तान्तरणमा कोही पनि सकारात्मक थिएनन्’, उनकै विचारमा बेलायतले राम्रोसँग शासन गरेको थियो । त्यो हस्तान्तरणले नै सबै कुरा बिग्रिएको हो ।

बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले तत्कालीन चिनियाँ राष्ट्रपति देउसाउ पेंगसँग सन् १९८० को दशकमा नै समझदारी गरेका थिए । त्यो समझदारीपछि नै हङकङमा डर र त्रास उत्पन्न भएको थियो ।

अन्य उपनिवेशको जस्तो हङकङबासीलाई आफ्नो स्वतन्त्रता चयनको अवसर नै दिइएन । अहिले चिनियाँ हङकङ उपनिवेशको इतिहासलाई नै गलत व्याख्या गर्न सुरु गरेका छन् । इतिहास नै तोडमोड हुने कुरामासमेत फङको चिन्ता छ । अहिले हङकङमा नयाँ पाठ्यक्रम तयार गरिएको छ । सो पाठ्यक्रममा कहिले पनि बेलायती उपनिवेश भएको कुरा उल्लेख गरिएको छैन ।

अर्का एक काङ नाम गरेका व्यक्ति छन् । उनी पनि बेलायतले हङकङ हस्तान्तरण गरेकै वर्ष जन्मिएका थिए । गत वर्ष यो कानुन पास हुनु भन्दा अगाडि नै उनी परिवारसहित बेलायत पुगेका हुन् । ‘मेरो आमाले आफू ठगिएको महसुस गर्नु भएको छ । उहाँले अन्तिम गभर्नरको समयसम्मको अनुभव गर्नुभएको थियो,’ उनले भने ।

सहरका अन्तिम गभर्नरले राजकीय जहाज ब्रटानीकाबाट जुलाइको झरिलो रातमा त्यहाँबाट हिँडेको दृश्य अहिले पनि हङकङबासीका लागि अविस्मरणीय मानिन्छ । त्यसो त उनी बेलायती उपनिवेशको पक्षधर होइनन् । तर, चिनियाँ सरकारका कारण उनी सकारात्मक हुन सकिरहेकी छैनन् ।

बेलायतले हङकङ हस्तान्तरण गर्ने बित्तिकै काङकी आमा पनि कतै शान्तिपूर्वक बाच्ने दिन सकिने त होइन भन्ने कुराले निराश भएकी थिइन् । सन् १९८९ मा शान्त पूर्वक प्रदर्शनमा ट्याङ्क लगाएर गरिएको दमनको उनलाई अझ याद छ । तीयानमेन चोक नरसंहारको घटनाले उनी चिनियाँ सत्ता भन्ने बित्तिकै अत्तालिन थालेकी हुन् । हजारौँ मारिएको अनुमान गरिएको तीयानमेन चोक नरसंहारमा सरकारी तथ्यांक भने २ सय हाराहारीमा मारिएको भन्ने छ ।

त्यसपछि सन् २०२० मा ल्याइएको राष्ट्रिय सुरक्षा ऐनले त त्यो देशको अवस्थालाई अझ खराब बनाएको हो । सरकारले स्थायित्वका लागि यो ल्याइएको बताए पनि विज्ञ आलोचनालाई दबाउनका लागि यो कानुन ल्याइएकोमा सहमत छन् ।

यसै कारण आफूलाई लागेको कुरा अभिव्यक्त गर्ने स्वतन्त्रता गुमाएपछि कोको परिवार त्यहाँबाट बाहिर गएको हो । हङकङको परिवर्तित राजनीति नै त्यस देश छाड्नुको प्रमुख कारण भएको उनीहरू बताउँछन् ।

उनको विचारमा लण्डन हङकङको पुरानो भर्सन हो । यस बीचमा धेरै कुराको तारतम्य मिलेको छ । उनले पहिलो आफू चिनियाँ नागरिक जस्तो भएको र त्यसपछि हङकङबासी जस्तो भएको प्रतिक्रिया दिएका छन् । उनले त्यहाँको बसाई साँच्चै कठिन भएको प्रतिक्रिया दिएका छन् ।

अहिले पनि उनलाई आफ्नो परिचयकै बारे प्रश्न उठी रहेको छ । ‘चिनियाँ, हङकङ या बेलायतीः उनका सामु यसै प्रश्नको उत्तर पनि कठिन छ । बेलायतमै रहेका हङकङ मूलका व्यक्तिका लागि त्यो हस्तान्तरण प्रक्रिया त्यत्ति धेरै चासोको कुरा नलाग्न पनि सक्छ । अथवा यसको असर धेरै नपर्न पनि सक्छ ।

सन् २०१५ मै अध्ययनको सिलसिलामा बेलायत पुगेका एडको विचारमा त्यो घटना देशको सकारात्मक र नकारात्मक बाटोका लागि महत्त्वपूर्ण ठहरिएको एउटा मोड भएको बताउँछन् । उनको विचारमा पनि पछिल्लो समय बढ्दै राजनीतिक अस्थिरता र त्यहाँको मानव अधिकार विरोधी नीतिले देशको अर्थतन्त्रलाई समेत प्रतिकुल प्रभाव पार्नेछ । यी घटनाक्रमले त्यहाँको अर्थतन्त्र उचाइमा पुग्ने कुनै सम्भावना नै छैन । उनलाई हङकङ आफ्नो घर थियो भनेर सम्झन पनि मन लागेको छैन ।

३३ वर्षीय जेमी वङ जनवरीमा लन्डन पुगेकी छिन् । उनी पनि परिवारसहितै त्यहाँ पुगेकी हुन् । सबै जना हङकङमा निराश भएपछि नै यस यात्रा तय गरेका हुन् । उनले बेलायत नै आफ्नो घर हुने ठहर गरेकी छिन् । उनी भन्छिन्‘ हङकङका धेरै जना बेलायत गएका छन् । योक्रम जारी नै रहने छ ।’ सन् १९९७ देखि १९४७ सम्मका हरेक वर्ष हङकङका लागि अर्थपूर्ण रहने छ । तर, अहिले विकसित घटनाक्रमले सन् १९४७ सम्म के हुने भन्ने कसैले अनुमान गर्न सक्ने अवस्था छैन ।

हङकङ हस्तान्तरण गरेपछि आफ्ना अभिभावकले यातनाको महसुस गरेको बताउने उनीहरूले त्यहाँ रहेसम्म भावी पुस्ताका सामु पनि यस्तै आतङ्कको सृजना हुने ठहर छन् । ‘ एक देश मरेको छ । दुई प्रणाली पनि मरेको छ,’ जेमको विचारमा त्यो हस्तान्तरण नै गलत थियो । उनकै विचारमा सन् १९४७ कस्तो हुने छ भन्ने अर्थ छैन । किनकी अहिले नै हङकङ बस्नका लागि उपयुक्त हुन छाडेको छ ।

१ जुलाई १९९७ को दिन चिनियाँ सत्ताका लागि सफलताको दिन थियो । तर, हङकङमा बसोबास गर्नेका लागि प्रजातन्त्र र मानव अधिकार विरोधी युगको जग त्यसै दिन बसेको थियो । कडा सुरक्षा प्रणालीका माझ मनाइने त्यो हस्तान्तरणको वर्ष गाँठले त्यहाँका धेरै जनालाई पीडा दिने छ । सायद यो २५ वर्ष हङकङबासीको खसी छिनिएको २५ वर्षको रूपमा चिनिने छ । स्रोत : बीबीसी, क्राइसिस २४