मुख्य समाचार

दुई तिहाई नेकपाको सरकार ‘माछो माछो भ्यागुतो’ भयो : नेता खनाल

By खबरहब

June 30, 2022

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद् भङ्ग गर्ने कार्यले गैर दलीय प्रवृत्ति अगाडि आएको बताएका छन् ।

६४ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराशा छाएको बताए । ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछो-माछो भ्यागुतो भयो । यस कारण जनतामा निराशा छ,’ उनले भने ।

सनकभरमा संसद् भङ्ग गर्दा गैर दलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसद्लाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए ।

‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद् विघटन गरिदिन्छन् । अनि गैर दलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैर दलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ? संसद् राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ । सनकको भरमा संसद् भङ्ग गर्ने प्रवृत्तिले हो, गैर दलीय प्रवृत्ति अगाडि आएको । यस कारण हामीले संसद्लाई जनताको, राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक छ,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले भने ।