फाइल फोटो

देश/प्रदेश

रुखबाट लडेर घाइते रोकाको उपचारमा ४ लाख सहयोग

By खबरहब

June 30, 2022

बागलुङ : रुखबाट लडेर गम्भीर घाइते भएकी ताराखोला गाउँपालिका–२ अर्गलकी कलामति रोकालाई उपचारार्थ चार लाख १४ हजार २८९ सहयोग प्रदान गरिएको छ । स्थानीय नवसिर्जना युवा क्लबले आर्थिक सहयोग अभियान चलाएर उठेको सो रकम आज रोकाको परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेका अनुसार २५ वर्षीया रोका अहिले पोखरास्थित हरियोखर्क अस्पतालमा उपचाररत छन् । “रोकाको मेरुदण्डमा समस्या देखिएको छ, उपचारमा अर्थाभाव भएपछि क्लबले सहयोग अभियान चलाएको हो”, उनले भने ।

५० देखि बढीमा ३० हजारसम्म सहयोग गर्ने २५० सहयोगदाता अभियानमा जोडिएको क्लबले जनाएको छ । अर्थाभावकै कारण रोकाको उपचारमा समस्या निम्तिएपछि देशविदेशबाट सहयोग प्राप्त भएको थियो ।

सहयोग रकम प्रदान गर्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्तीले मानवीय सेवाका क्षेत्रमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । क्लबले यसअघि पनि घाइते र बिरामीको उपचारका लागि सहयोग रकम जुटाएको थियो ।