अन्तर्वार्ता

‘देउवाविरुद्ध चुनाव लडेर युवालाई आँट दिन्छु’

By चन्द्रकान्त न्यौपाने

July 30, 2022

गणतन्त्रको १६ वर्षसम्म शासकबाट नागरिक आक्रोशित भएका छन्। मुलुकमा विकृति, भ्रष्टाचार, बेथिति अन्याय, अत्याचार बढेको छ। त्यसैले नागरिकमा दलका नेता तथा कार्यकर्ताप्रति दिकदारी सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं कमलादीमा भएको कार्यक्रम भाग लिन आउँदा उनीविरुद्ध प्रदर्शन भयो। नागरिकमा यस्तो डर, त्रास र दिकदारी धेरै छ। पछिल्लो समय लामो समयदेखि सत्तामा रहेका नेताहरुविरुद्ध चर्को आलोचना बढेको छ। एक समय त्यसरी आक्रोश पोख्नेमध्येका एक युवा थिए, सागर ढकाल। बीबीसी मिडिया एक्सनको चर्चित कार्यक्रम ‘साझा सवाल’मा उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध शिक्षा सुधारको विषयमा प्रश्न गर्दा हप्काई खाएका थिए। तत्कालीन प्रधानमन्त्री देउवाले कार्यक्रममा ‘तपाई बढ्ता नबोल्नुस’ भन्दै हप्काइएका थिए। उनै देउवा अहिले पनि देशको प्रधानमन्त्री छन्। उही व्यक्ति प्रधानमन्त्री भए पनि अहिले परिस्थिती फेरिएको छ। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेर आएपछि सागर ढकाल देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा पुगेका छन्। जनताको आवश्यकता नबुझ्ने, युवालाई रोजगारी सिर्जना गर्न नसक्ने, खाली आफ्नो मात्रै स्वार्थ खोजेर राजनीतिमा अडिरहने नेताविरुद्ध विद्रोह गर्ने अभियान चलेका बेला सागर ढकाल प्रधानमन्त्री देउवाविरुद्ध चुनाव लड्न उनकै चुनाव क्षेत्र डडेल्धुरा पुगेर प्रचारप्रसारमा लागिसकेका छन्। उनको चुनावी अभियान, देउवाविरुद्धको चुनावी लडाइँ र नयाँ अभियानका विषयमा ढकालसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

देउवाकै चुनावी क्षेत्रमा पुगेपछि माहोल कस्तो पाउनु भएको छ ? चुनावी तयारी सुरु भएको छैन। पहिला गाउँघरको वातावरण बुझौँ भन्ने उद्देश्यले गाउँको परिवेश निहालेको हुँ। चुनावी तयारी अब केही समयमै सुरु हुन्छ।

देउवाविरुद्ध चुनाव लड्ने तपाईंको योजना र हिम्मतको प्रशंसा भइरहेको छ, एक किसिमले भाइरल हुनुभएको छ। तपाईंलाई यो अभियान अत्तिको चुनौतीपूर्ण लागेको छ ? भाइरल पनि दुई प्रकारका हुन्छन्। एउटा कन्टेन्ट दिने देशलाई कसरी डिरेक्सन दिने र अर्को मजाक हुन्छ। मैले देश कसरी बनाउने भन्ने विषयमा विभिन्न अध्ययन गरेको छु। हाम्रो योजना हेरेर मैले चीन सरकारसँग पनि काम गरेँ। अफ्रिका किर्गिस्तानदेखि लिएर अमेरिका बेलायत बसेर पनि काम गरेँ। त्यहाँबाट कसरी देशलाई चलाउने भन्नेबारेमा र देशको सम्पूर्ण समस्या बुझेर हामी अगाडि आएका छौँ। जनताले त्यो बुझ्नु भएको छ। यो चुनौती लिनुपर्छ भनेर म अगाडि बढेको हुँ।

प्रधानमन्त्री देउवाविरुद्ध पछिल्लो समय आलोचना र विरोध प्रदर्शन भइरहेको छ, यसलाई कुन संकेतका रुपमा लिनु भएको छ ? पूर्व प्रधानमन्त्री हराउने र युवालाई देश चलाउन दिने भन्दा पनि नेपाल भनेको बुद्ध जन्मेको देश हो। त्यसैले सबैलाई मानसम्मान सहित हजुरबुवालाई अब नातीले आराम दिन्छन् भन्ने सन्देश फैलाउनुपर्छ। पूर्व प्रधानमन्त्री हराउने भन्दा पनि उहाँहरूलाई आराम दिने कुरा हो। हिजो युवाले गरेका प्रदर्शनको उद्देश्य पनि त्यही नै हो। नागरिकता विधेयक जस्ता विषयमा पनि विवादहरू भएका छन्। त्यसलाई हामीले सही रूपले अगाडि बढाउन सक्नुपर्छ। त्यसको लागि नै हामीले १५०० मोडलको अवधारणहरू ल्याएका हौँ। संसदमा पनि हामीले अक्सफोर्ड लेबल अनुसारको संस्थान बनाउन सक्छौं भनेर त्यो कार्यक्रम गरेका हौँ।

तपाईं झण्डै पाँच वर्ष अक्सफोर्ड विश्वविद्यालय पढेर आउनुभयो, यसबीचमा केही भिन्नता पाउनुभयो देशमा ? पाँच वर्ष अगाडि पनि म योजनामै थिएँ। तर, अहिले स्पष्ट योजना छ। चुनावको तयारी भन्दा पनि चुनावपछि के गर्ने भन्ने बारेमा पनि योजनासहित आएका छौँ। समस्या मात्र होइन। समाधान पनि ल्याएका छौँ। यसबीचमा कांग्रेससँग एउटा प्रमुख मुद्दा थियो। जसको कारण वितृष्णा थियो र उसले चुनावमा हार व्यहोर्यो। सम्भवतः यसपाली तीन वटै पार्टीले अत्याचार गरेका छन्। नियम कानुन पनि नमान्ने, जनताको मतलाई पनि ध्यान नदिएको कारण जनता निराश छन्। अहिले हेर्दा मैले सुरु गरेको जस्तो देखिन्छ, तर पहिला अन्य युवाहरूले पनि सुरु गरिसकेको विषय हो।

पुरानै नेता भएसम्म देश बन्दैन, उनीहरूले केही गर्ने सक्दैनन् भन्ने तपाईंको निष्कर्ष हो ? नेपाल किन बनेन भन्दा ६० वर्षको अवस्थालाई हेर्दा हाम्रो संविधान मात्र बनायौँ। तर, त्यसलाई कार्यान्वयन गर्ने जनशक्ति नै भएन। क्षमता नै छैन। चीनमा सी चिन फिङलाई निर्देशन गर्न विश्वविख्यात व्यक्ति छन्। बेलायतमा पनि विज्ञ छन्। तर, नेपालमा कुनै संस्थाहरू छैनन्। भएको एउटा त्रिभुवन विश्वविद्यालयमा पनि विकृति छन्। त्यसैले हामीले केही नजानेको मान्छेलाई देश चलाउन दिएका छौँ। गाडी चलाउन नजान्ने मानिसलाई गाडी दिए जस्तो भयो यो देश। कम्तीमा पनि गाडीबारे न्युनतम ज्ञान भएको साधारण चलाउन जान्नेलाई त दिनु पर्यो नि। अनि बल्ल गाडी किन चलेन भनेर सोध्नु पर्यो नि त। ६० वर्ष देखिएका सबै मन्त्री राजनीतिज्ञ सबैलाई हेर्ने हो भने सबैमा केही फरक छैन। त्यसैले अबको मन्त्री छान्दा जसले जे जानेको छ, त्यो काम मात्र गर्नु पर्दछ। यदि हाम्रो अभियान सफल भयो भने ६ महिनामा प्रधानमन्त्रीले पनि मन्त्री छान्न पाउनुहुन्न। जनता र उनीहरूको योजनामा हुन्छ। जनतासामु जाँदा मेरो काम शिक्षामा, स्वास्थ्य विकासमा, ऊर्जामा हो भनेर बुझ्नुपर्छ।

यसरी देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा पुग्दा कस्तो पाउनुभयो त्यहाँको वातावरण ?

नेपालका सबै ठाउँ घुमेको छु। खप्तड बाबाको टीका लगाएको छु। डडेल्धुराको पानी खाएको छु। त्यसैले यहाँको सबै संस्कार संस्कृति परम्परा सबै थाहा छ।

गुल्मीमा जन्मेको मान्छे त्यहाँबाट नउठेर किन प्रधानमन्त्रीकै क्षेत्र ताक्नु पर्ने अवस्था आयो ? बुटवलबाट उठे भने डडेल्धुराको तुलनामा लगभग चार पाँच गुणा पैसा कम लाग्छ। धेरै चिन्ता पनि लिनु पर्दैन। धेरै मानिसहरूले मलाई रिस्क नलिनु पनि भन्नु भयो तर मलाई मैले जित्नु हार्नु भन्दा पनि देशले जित्छ कि जित्दैन भन्ने कुरा ठूलो हो। १६५ जना उठाउने भनेर हाम्रो अभियान चलेको छ। तर, त्यसमा मैले आफूलाई सुरक्षित पनि त राख्न सक्छु नि त। अहिलेका नेताहरूले त जहाँ हुनुहुन्छ, त्यहाँबाट उठेर प्रधानमन्त्री हुन्छु भन्ने छ नि त। चुनौती नै नहुने कुरा भएको छ। त्यसैले प्रधानमन्त्रीविरुद्ध लड्दै गर्दा डडेल्धुरामा ठूलो सन्देश दिन सक्छु। यस्ता धेरै कारण छन्। मुद्दा सही हुनु पर्यो हार्छु या जित्नु भन्ने व्यक्तिगत कुरामा मतलब भएन। मैले घोषणा गरेको युवाहरूलाई म्यासेज दिएँ। युवामा एक प्रकारको आँटको सुरुआत गरेँ।

तपाई यसरी चुनाव लड्न धेरैको सहयोग होला, यसरी एक्लै लड्ने आँट त आएन होला ? तपाईले ५ वर्ष अगाडिको पनि मेरो पृष्ठभूमि हेर्न सक्नुहुन्छ। पार्टीमा लागेका युवालाई हामीलाई भन्दा बढी चिन्ता छ। स्वतन्त्र भन्दा पनि अरू माओवादी, कांग्रेस एमाले आत्तिनु भएको छ। किनभने हामी त मन नलागेको कुरा बोल्न पाएका छौँ। तर, उहाँहरू त आफ्ना नेताहरूले गरेका हेरेका चाहिने नचाहिने कुराहरु बोल्दा पनि सुनेर बस्नुपर्ने अवस्था छ। त्यसैले हामीले ४० वर्ष भन्दा कम उमेरका प्रधानमन्त्री बनाउँदा उहाँहरूलाई पनि राहत हुन्छ।

रवि लामिछानेप्रति तपाईँहरूको आकर्षण हैन नि ? रवि लामिछाने लगायत हामी धेरै स्वतन्त्र छौँ। उहाँ आफ्नो तरिकाले अगाडि बढ्नुभएको छ। सबैले सबै जनालाई आआफ्नो तरीकाले हेर्नुभएको छ। सबै जना माओवादी, कांग्रेस एमाले जेलबाट निस्किनु पर्यो। त्यसको लागि हामी सबै मिलेर जनतालाई राहत दिनुपर्छ। हामीसँगै बसेर को प्रधानमन्त्री बन्ने भनेर छलफल गर्नु पर्दछ।

आम नागरिकलाई के भन्न चाहनुहुन्छ ? आम नागरिकलाई गाउँ सहरमा जुन पार्टीको भए पनि ४० वर्ष मुनिका युवालाई उठाई दिनुहोस्। बुवा पुस्तालाई सल्लाहकारका रूपमा र हजुरबुवा पुस्तालाई आराम दिनुहोस् भन्छु।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)