अन्तर्वार्ता

‘गीतको सार आफैँले गाउँदा आउँथ्यो भन्ने अनुभूति हुन्छ’

By सेसेमी लिम्बु

July 30, 2022

काठमाडौँ : पछिल्लो समय राम्रा गीत संगीत बजारमा आइरहेका छन् । यसरी राम्रा गीत संगीत बजारमा आउनुमा स्वयंम गीत तथा संगीतमा राम्रो दखल भएका गायक तथा संगीतकार बढी जिम्मेवार छन् । गीतबारे आफैँ संगीत गर्न सक्ने र गाउन सक्ने संगीतकारले झन् राम्रो गीत तयार पार्न सक्छन् । तर यो क्षमता सबैमा भने हुँदैन । जोसँग हुन्छ, त्यो व्यक्तिले भने गीत संगीतको गहिराई बुझेर उचाईमा पुर्याउने गर्छन् । यसैमध्येमा पर्छन्, गायक तथा संगीतकार सागर अधिकारी ‘सरद’ । उनी गीत गायनसँगै संगीत भर्छन् । उनै गायक तथा संगीतकार सरदसँग खबरहबका लागि सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंशः

आज तपाई गायन र संगीत सिर्जनामा सक्रिय हुदैगर्दा सुरुवाती दिनहरुमा गायक वा संगीतकारका रुपमा अघि बढ्छु भन्ने सोच के थियो ? पक्कै पनि म गायक बन्नको लागि मेरो घर दाङ्ग जिल्लाबाट संगीत पढ्नकै लागि भनेर काठमाडौँ प्रवेश गरेको थिएँ । काम गर्दै जाने क्रममा संगीत सिर्जनातिर पनि एक खालको झुकाव भयो । कोसिस गर्दै गए । त्यसपछि मेरो गायन र संगीतको साथसाथै लिएर जाँदैछु ।

तपाईँले आफ्ना संगीतमा रहेका अधिकांश गीतहरुमा आफ्नै आवाज दिनु भएको छ भने अन्य गायक गायिकाहरुको पनि आवाज रहेका हुन्छन् । आफैँ पनि एउटा गायक भएको हुनाले अरुको आवाजले आफ्नो–आफ्नो गीतमा कत्तिको न्याय दिन सकेको छ, जस्तो लाग्छ ?

मैले धेरै राम्रा गायन भएका नयाँ पुरानो सबै स्रष्टाहरूसँग काम गरेको छु । आफैले गायनको मापदण्डलाई बुझेको कारण धेरै जस्तो मैले फ्रेमिंगहरु गर्दाखेरी गायकको गायन हेरेर उहाको टुल क्वालिटी हेरेर र उहाँको टेक्स्चर र रेन्ज हेरेर म संगीत बनाउँछु । जसले गर्दा खेरि कतिपय मैले राम्रो परिणाम पनि भेट्छु । कतिपय गीतहरूमा त्यो एउटा अपेक्षा पुरा भएको जस्तो लाग्दैन, जहाँ सायद यदि आफूले त्यसलाई गाएको भए अलि राम्ररी प्रस्तुत गर्न सकिन्थ्यो कि जस्तो लाग्छ । पक्कै पनि दर्शक श्रोताहरूको हातमा छ, मेरो आवाज मन पराउने नपराउने । तर त्यो गीत भित्रको जुन एउटा सार हुन्छ, त्यो आफैले गाएको भए आउथ्यो कि जस्तो अनुभूति चाँहि हुन्छ । जो संगीतकार स्वयं आफै गायक छ प्राय उहाँहरूलाई यस्तो अनुभूति हुने गर्छ । जो गायक आफै संगीतकार हुनुहुन्छ, त्यस्ता स्रष्टाका सिर्जनाहरूमा झट्ट जो कोहीले पूर्ण रुपमा निभाएर गाउन चाँहि कठिन नै पर्छ ।

गीत, संगीत, गायन र संयोजन अफैले गरिरहनु हुँदा एउटा गीत श्रोता दर्शकको मन मस्तिष्कमा बस्न यी सबै पाटोमध्ये कुन विधा बढी बलियो हुन जरुरी देख्नुहुन्छ ? यो गीत संगीत भनेको आफैमा टिम वर्क हो । एउटा मात्र कारण पनि कमजोर भयो भने त्यो कुराप्रति जति अपेक्षा राखिएको हुन्छ । सोही किसिमको परिणाम आउने सम्भावना कम देख्छु । पक्कै पनि एउटा गीतको जन्म शब्दबाटै हुन्छ, त्यसैले शब्द राम्रो चाहियो र त्यसको संगीत पनि त्यतिकै राम्रो चाहियो । त्यसलाई न्याय गर्ने आवाज पनि चाहियो । पछिल्लो समयमा संगीत संयोजन पनि उत्तिकै उत्कृष्ट भए संगीतको एउटा राम्रो सिर्जना गर्न ठूलो भूमिका खेल्छ । त्यसैगरी राम्रो रेकर्डिङ र मिक्सिङ पनि हुनुपर्छ । जुन डिजिटल प्लेटफर्मले गीत आधा हेर्ने र आधा सुन्ने पनि एउटा ट्रेन्ड छ । त्यसमा विभिन्न चलनचल्तीका र कुनै फरक धारका भइरहेका बेला दर्शकहरूलाई बुझ्न अलि गाह्रो हुन सक्छ । त्यसैले एउटा राम्रो गीत हुनको लागि म्युजिक भिडियो पनि उत्तिकै गुणस्तरीय हुन जरुरी छ ।

कति समय आफ्ना गीतहरु अप्रत्याशित तरिकाले लोकप्रिय भइरहेको बेला कुनै आशा गरिएका गीतहरु पनि ओझेल परिरहेका हुन्छन् । यस्तो भिन्नता के–कुराले ल्याउछ ? यसमा समय र प्रविधिले ठुलो भूमिका खेलिरहेको हुन्छ । कुनै समय थियो, जहाँ भिडियो भन्दा पनि अडियो गीतहरूले बजार पाइरहेको हुन्थ्यो । समग्रमा भन्नुपर्दा यसको अडियो मेकिङ सकिएपछि धेरै राम्रा सिर्जनाहरु पनि आफ्नो फोल्डरमै सीमित रहेका छन् । अहिले राम्रो भिडियो र मिडिया प्लेटफर्म पाएन भने त्यो सिर्जना खुम्चिएर बसेको हुन्छ । त्यसको लागि भिडियो मेकिङ पनि उत्तिकै आवश्यक छ । त्यसलाई न्याय गर्ने भिडियोको परिकल्पना र विषयवस्तु पनि बलियो हुन जरुरी छ ।

राम्रा सिर्जनाहरु पनि सर्जकको फोल्डरमै सीमित भएर सार्वजानिक हुन नसक्नुको कारण के हुन् ? यसमा आर्थिक पाटोले पनि फरक पारिरहेको हुन्छ । एउटा गुणस्तरीय संगीतको लागि राम्रो रचना, संगीत संयोजन र त्यसमा संगीत साधन समावेश गर्ने कुरा पनि आउँछन् । जसमा यी सम्पूर्ण मेकिङको लागि आर्थिक आवश्यकताहरू आउने गर्छन् । त्यसपछि अडियो तयार भए पश्चात म्युजिक भिडियो बनाउनको लागि पनि व्यवस्थित रुपमा राम्रो टिमसँग काम गर्नु पर्ने हुन्छ । यी सानो कुराले पनि पूर्ण रुपमा गुणस्तरीय संगीत सिर्जनामा ठुलो भूमिका खेलिरहेको हुन्छ । त्यसैगरी राम्रो विषयवस्तु हुँदा पनि सोचेको जस्तो प्रगति गर्न नसक्ने हुँदा युट्युबमा लाखौ लाख खर्च गरेर बुस्टिङ गर्ने ट्रेन्ड पनि बढ्दै गएको छ । पक्कै पनि अहिले अडियो र भिडियोमा मात्र सीमित नभएर त्यसको प्रचार प्रसारमा कमी हुँदा कति उत्कृष्ट सृजनाहरू ओझेल पर्न बाध्य भएका छन् ।

अहिलेको सांगीतिक बजारलाई नियालिरहदा समुर्ण सर्जकहरुलाई कस्तो चुनौती आइरहेको महसुस गरिरहनु भएको छ ? मेरो आफ्नो दृष्टिकोण के छ भने सबैको आ–आफ्नो शैली र क्षमता हुन्छ । संगीत भनेको कल्पना पनि हो । हामीले सिर्जना तयार गर्ने हो । त्यो सिर्जना दर्शकले रुचाओस् र अत्याधिक रुपमा सफल हुन पुगोस भन्ने सबैले अपेक्षा राखेको हुन्छ । कहिलेकाँही राम्रो सिर्जनाले पनि सोचेको जस्तो प्रगति नगरीरहेको बेला बजारमा दर्शकले कस्ता किसिमको संगीत रुचाउनु हुन्छ भन्ने ठम्याउन नसक्नु पनि चुनौती रहेको छ । तर यो संगीतकर्मीको यस्तो गीत लोकप्रिय भयो अब यस्तै गर्नु पर्छ भन्ने पाटो तिर लाग्नु भन्दा आफुले गुणस्तरीय काम गरेर एउटा भिन्न धार बनाउन सके आफ्नो एउटा पहिचान बनाउन पनि सफल हुन सकिन्छ भन्ने मेरो मान्यता रहेको छ ।

तपाईले कस्ता शैलीका गीतहरु गाउन बढी रुचाउनु हुन्छ ? म विशेष गरेर सुगम संगीत, आधुनिक गायन र सेमी क्लासिकल गजल शैलीका गीतहरू गाउन रुचाउँछु । तर मैले विभिन्न प्रकारका गीतहरू गाएको छु । जसमा आधुनिकदेखि लोक भाका र पप विधाका गीत संगीत पर्न आउँछन् ।

पहिलो पटक स्टुडियोमा गीत रेकर्डिङ गर्दाको अनुभव कस्तो थियो ? मेरो पहिलो रेकर्ड अत्यन्तै उत्साहजनक रह्यो । दाङमा कलेजको एउटा कार्यक्रममा गीत गाउने क्रममा एक जना अग्रज व्यक्तित्व डा. गोविन्द आचार्य जो आफै गायक र संगीतकार पनि हुनुहुन्छ । उहाँले २०५७ सालमा मलाई म्युजिक नेपालमा पहिलो रेकर्डिङ गराइदिनु भएको थियो । जतिबेला शैक्षिक रुपमा सङ्गीतको खासै ज्ञान थिएन । त्यति बेला हाम्रो आदरणीय यम बराल दाइहरूसँग आधुनिक गीतमा सहकार्य गर्ने मौका पाएको थिए । जसबाट मैले एउटा राम्रो प्रतिक्रिया पाए । यहाँबाट मैले

व्यवसायिक रूपमै अघि बढाउँछु भन्ने धारणाका साथ गीत रेकर्डिङ भन्दा पनि संगीत अध्ययनलाई बढी प्राथमिकता दिन थाले ।

यसरी फ्रिलेन्सिङको रुपमा काम गर्दै छु भनिरहदा आर्थिक रुपमा कत्तिको चुनौतिपूर्ण रहेको छ ? यसलाई हेर्ने आ–आफ्नो दृष्टिकोण पनि हुन्छ । पक्कै पनि सम्भावना नदेखी यहाँसम्म टिक्न चुनौतिपूर्ण नै रहन्थ्यो । हाम्रो संगीत उद्योग पनि सानो छ । आर्थिक हिसाबले त्यति धेरै सम्पन्न पनि छैन । त्यो दृष्टिकोणले हेर्दा विश्वको अरु देशका सर्जकहरूको स्थिति हेर्ने हो भने हामी भन्दा धेरै राम्रो गतिमा रहेको देख्न सक्छौ । हाम्रो देशको बजार हेर्ने हो भने पछिल्लो समय व्यवसायिक संगीतको ट्रेन्ड बढिरहेको छ । अझै राज्य पक्षबाट यसलाई उद्योगका रुपमा स्थापना गर्ने व्यवस्थापन सुरु नभएको हुनाले सुरक्षित छ भन्ने अवस्था पक्कै पनि छैन । तर आफू निरन्तर काम गरिरहँदा र मेरो कामप्रति उत्तिकै विश्वास गर्नु हुँदा आफ्नो व्यक्तिगत रुपमा म अत्यन्तै सन्तुष्ट छु ।

पछिल्लो समय संगीत क्षेत्रमा अत्याधिक रुपमा लगानी भइरहदा राज्यले किन यसलाई अझै प्राथमिकता नदिएको होला ? पक्कै पनि देशको राजनीतिक अस्थिरताले पनि प्रभाव पारिरहेको हुन्छ । विशेष गरेर राज्यले यो क्षेत्रका स्रष्टाहरूको निमित्त संरक्षण व्यवस्था गर्ने र राम्रो सिर्जनाहरुलाइ विभिन्न माध्यमबाट प्रोत्साहन गर्न दिनुपर्ने प्राथमिकता त्यति देखेका छैनौँ । त्यहीँ पनि विभिन्न संस्थाले विभिन्न कलाकारको हक हितका लागि कोसिस गरि रहनु भएको छ । आफ्नो संघर्ष पनि रहेको छ । यसमा अवसरहरू पनि छन् । यी दुवै कुरालाई आफूले कसरी प्रयोग गरेर अघि बढ्ने कुरामा पनि निर्भर पर्छ । अन्य क्षेत्र जस्तो यसमा व्यवसायिक अवसरको अपेक्षा राख्न अहिलेनै सम्भव भइसकेको छैन । अझ साँचाे कुरा भन्नु पर्दा संगीत उद्योग रहरले आउनु भएका व्यक्तित्वहरूकाे उपस्थितिले धानेको छ ।

अहिले गुणस्तरीय गीत सिर्जना भन्दा पनि बढी मात्रामा गीत सिर्जना गर्ने चलन बढ्दै गएको हो ? यसलाई भन्दा अर्थ फरक लाग्न सक्छ । तर चलेका सबै सिर्जनाहरु नराम्रा छन् भन्न मिल्दैन । त्यहाँका केही राम्रो विषयवस्तु भएकै कारण दर्शकहरूले रुचाउनु हुन्छ । तर अहिले मान्छेको प्राथमिकता राम्रो सिर्जना गर्ने भन्दा पनि त्यसलाई कसरी चलाएर हिट बनाउने तर्फ बढ्दै छ । त्यही पनि जुन सुकै धारका गीतहरू पनि दर्शकले रुचाउन सक्ने बनाउनु एउटा स्रष्टाको खुबी पनि हो । हामीले विशेष गरि यस्तै किसिमको गीतहरू ल्यायौ भने दर्शकहरूले रुचाउनु हुन्छ भन्ने सामान्य मानसिकता रहन्छ नै । तर त्यो भन्दा फरक अलि प्रयोगात्मक संगीत पनि दर्शकहरूले खोजिरहनु भनेको हुन्छ भन्ने मेरो मान्यता रहेको छ।