देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

By खबरहब

July 30, 2022

काठमाडौँ– आज दिनभर शान्तिपूर्ण माध्यमबाट अन्तराष्ट्र्रिय समस्याको समधान खोजिनु पर्ने राष्ट्रपतिको भनाइ,संसदीय छानबिन समितिको प्रतिवेदन मान्य नहुने ओलीको चेतावनी, नेपालको आर्थिक वृद्धिदर गएको वर्षकै हाराहारीमा रहने प्रक्षेपण, एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार लगायतका समाचार चर्चामा रहे ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

शान्तिपूर्ण माध्यमबाट अन्तराष्ट्र्रिय समस्याको समधान खोजिनु पर्ने राष्ट्रपतिको भनाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि राष्ट्रहरूका बिचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने नेपालको मान्यता रहेको बताएकी छिन् ।

आज ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्वमा आणविक हतियारको होडबाजी रोकिनुपर्नेमा जोड दिदै सबै प्रकारका युद्धको विरोध गर्ने बताइन् ।

संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको उनले बताइन्।

जलवायु परिवर्तन आजको विश्वले भोग्नुपरेको ठूलो चुनौतीका रूपमा खडा भएको भन्दै उनले यसका लागि अन्तर्राष्ट्रिय कानुनहरू बन्न बाँकी नै रहेको धारणा पनि राखिन् ।

उनले न्यायमा आधारित विश्व व्यवस्थाले मात्र नेपाल जस्ता राष्ट्रहरूको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्नसक्ने जिकिर गरिन । साथै उनले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि, अभिसन्धि र महासन्धिप्रति सदैब प्रतिबद्ध रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलनहरुले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुने र अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालको योगदान स्थापित हुने विश्वास गरिन् ।

संसदीय छानबिन समितिको प्रतिवेदन मान्य नहुने एमाले अध्यक्ष ओलीको चेतावनी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् ।

आज काठमाडौंमा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने काम भएको भन्दै छानविन समितिको प्रतिवेदन मान्य नहुने बताएका हुन् । ओलीले नियोजित रुपमा नै गठबन्धन दलको बहुमत हुनेगरि आफु अनुकुलको समिति बनाइएको तर्क गरे ।

बजेट निर्माण गर्दा देश मारा र अनैतिक आपराधिक काम भएको ठोकुवा गर्दै ओलीले निष्पक्ष छानबिन गर्न सरकारले नचाहेको बताए । अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार देशकै लागि अभिसाप भएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने र देशलाई जोगाउनुपर्ने धारणा राखेका थिए ।

उनले निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै समयमा नै निर्वाचन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । त्यस्तै ओलीले कांग्रेस कुनै रचनात्मक काम गर्न नसक्ने पार्टी भएको समेत आरोप लगाउदै एमालेको लोकप्रिय नारालाई कांग्रेसले आफु अनुकुल बनाएको धारणा राखेका थिए ।

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुट्न र एमाले सरकारले गरेका राम्रा कामहरुका बारेमा जनतालाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए ।

माओवादीलाई दोश्रो पार्टी बनाउन सहयोग नगरे तालमेल हुँदैन : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताएका छन् ।

आज काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोश्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने बताएका हुन् ।

आफुले कांग्रेसका नेताहरुसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उनको भनाई छ । प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई समृद्धिको दिशातर्फ लैजाने आफ्नो इच्छा रहेको धारणा राखे ।

उनले आगामी निर्वाचन स्थानीय तह भन्दा राम्रो नजिता ल्याएर देशको बागडोर नै सम्हाल्ने गरि जानुपर्ने बताए । स्थानीय चूनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै प्रचण्डले मोहन बैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गरेका थिए ।

प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरि मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको दावी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताए ।

त्यस्तै प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि अघि बढेपनि केहि व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गरे । उनले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पारे ।

गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहन्छ : माधव नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम सिलगढी आइपुग्नुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताएका थिए ।

शेखर कोइरालालाई कोरोना संक्रमण नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

हिजो रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि आज बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् छ ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

नेपालको आर्थिक वृद्धिदर गएको वर्षकै हाराहारीमा रहने प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर गएको वर्ष जस्तै रहने प्रक्षेपण गरेको छ ।

आईएमएफको वर्ल्डको इकोनोमिक आउट लुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर हो। तर गएको अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो।

अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ ।

एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिएका छन् ।

पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।

थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गर्दा जिप दुर्घटना प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । आज लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।