अन्तर्राष्ट्रिय

९ सेकेन्डमा भत्काइएका भारतीय ट्वीन टावरको कथा

By हिमाल कोइराला

August 30, 2022

काठमाडौं – आइतबार नेपालसहित विश्वभरका सञ्चारमाध्यममा ९ सेकेन्डमा भत्काइएका भारतीय ट्वीन टावरको निकै चर्चा भयो । गैरकानूनी रुपमा निर्माण गरिएका नोइडाका दुई गगनचुम्बी भवन भत्काइएको भिडियो भारतीय सञ्चारमाध्यमबाटै भाइरल भएका थिए । जसको असर विश्वव्यापी छ ।

राजधानी नयाँ दिल्ली नजिक उत्तर प्रदेशको नोइडा सहरमा क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका दुई गगनचुम्बी भवन अर्थात ‘ट्वीन टावर’ आइतबार भत्काइदिएको थियो । जुन अदालतको आदेशबाट खरानी पार्नुअघि ती भवन बचाउँन पैँसाको खोलो बगाए पनि त्यो सम्भव हुन सकेन ।

अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको आरोप लाग्दै आएको थियो । विश्व सम्पदा सूचीमा रहेको राजधानी दिल्लीस्थित ऐतिहासिक कुतुब मीनारभन्दा अग्ला यी भवनको निर्माण गैरकानुनी रहेको भन्दै अदालतमा मुद्दा समेत परेको थियो । कुतुब मीनार भारतको राजधानी नयाँ दिल्लीस्थित महरौलीमा रहेको छ । इँटाबाट बनाइएको यस मीनारलाई भारतको महत्वपूर्ण ऐतिहासिक सम्पदा मानिन्छ ।

यसै मुद्दामाथि सुनुवाइपछि भएको फैसलामा सर्वोच्च अदालतले टावरहरू भत्काउन अनुमति दिएको थियो । अदालतको आदेशपछि अगस्ट २१ का लागि तय गरिएको यो काम नोइडा प्राधिकरणको अनुरोधमा २८ अगस्टसम्म लम्ब्याइएको थियो ।

सर्वोच्च अदालतले फैसला सुनाउँदै यी भवनको निर्माणमा नोइडा प्राधिकरण एवम् भवन निर्माता कम्पनी सुपरटेकबीच साँठगाँठ रहेको पाइएको समेत जनाएको थियो । सर्वोच्चले आफ्नै खर्च र नोइडा प्राधिकरणको निर्देशनमा भवन भत्काउन निर्मातालाई आदेश दिएको थियो।

यस भवन निर्माण परियोजनाको सुरुआत सन् २००४ मा भएको थियो । त्यसबेला उत्तर प्रदेशको न्यू ओख्ला इण्डस्ट्रियल डेभलपमेन्ट अथोरिटी (नोइडा)ले ‘सुपरटेक एमराल्ड कोर्ट’ नामक आवास परियोजना निर्माणका लागि नोइडा क्षेत्रको सेक्टर ९३ ‘ए’ मा जग्गा छुट्याएको थियो ।

पछि सन् २००५ मा परियोजना निर्माणको योजना पारित गरिएको थियो । प्रारम्भिक योजनाअनुसार यस परियोजनामा १४ वटा टावरहरुको निर्माण गरिने एवम् ९ वटा तला राखिने उल्लेख थियो । साथै त्यसबेला यहाँ किनमेल केन्द्र र बगैँचाको पनि निर्माण गरिने योजना अघि सारिएको थियो ।

सन् २००६ मा नोइडा प्राधिकरणले योजनामा संशोधन गर्दै यस परियोजनाका भवनमा दुई तल्ला थप्दै भुईँतल्ला समेत गरी ११ (जी प्लस ११) तले भवन बनाउन स्वीकृती प्रदान गरिएको थियो । यसबाहेक यही संशोधन अनुसार दुई टावर एवम् एक किनमेल केन्द्र गरी थप तीन भवनहरु बनाउन समेत उक्त परियोजनालाई स्वीकृती प्रदान गरिएको थियो ।

सन् २०१२ मा नोइडा प्राधिकरणले नयाँ योजनामा जुम्ल्याहा भवनलाई ४० तल्ला सम्म बनाउन स्वीकृत दिएको थियो । यद्यपि सो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुले उत्तर प्रदेशस्थित अल्लाहवाद उच्च अदालतमा ती भवनको निर्माण गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरेका थिए ।

सन् २०१४ मा उच्च अदालतले मुद्दामाथि सुनुवाइ गर्दै ती भवन गैरकानूनी रुपमा निर्माण गरिएको भन्दै भत्काउन आदेश जारी गरेको थियो । यस्तै, अदालतले निर्माणकर्तालाई सो भवनका अपार्टमेन्टहरु खरिद गरेका खरिदकर्तालाई थप १४ प्रतिशत ब्याजसहित पैसा फिर्ता दिन समेत आदेश दिएको थियो । अदालतले भवन निर्माण गर्ने क्रममा नोइडा प्राधिकरणका अधिकारी एवम् निर्माणकर्ताबीच मिलेमतो भएको समेत औँल्याएको थियो ।

पछि नाइडा प्राधिकरण र भवन निर्माता कम्पनी सुपरटेकले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । वर्षौँको अदालती प्रक्रियापछि गत वर्ष सर्वोच्च अदालतले पनि ती भवनले भवन निर्माण संहिता पालना नगरेको भन्दै भत्काउन आदेश जारी गरेको थियो ।

यद्यपि एक वर्ष ढिला गरी गत आइतबार ती भवनहरु भत्काइएको छ । ती दुई गगनचुुम्बी भवनको उचाइ १०३ मिटर अर्थात् ३३८ फिट रहेको जनाइएको छ । भवन भत्काउनका लागि ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गरिएको थियो । रोयटर्सका अनुसार विस्फोटको ९ सेकेण्डभन्दा कम समयमा नै ती भवनहरु ध्वस्त भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भवन भत्काएसँगै आसपास कुनै क्षति भए/नभएकोबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ । अवैधानिक रुपमा धेरै भवनहरुको निर्माण भए पनि भारतमा भवन ध्वस्त पार्ने यस्तो कार्य निकै दुर्लभ मात्रै हुने गरेको बताइन्छ ।

ती भवन भत्काउनु अघि सो क्षेत्रमा रहेका हजारौँ मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । नजिकैका केही भवनमा भने धुलो नपसोस् भन्नाका लागि प्लास्टिकले छोपिएको थियो । भवन भत्काउने क्रममा नजिकै रहेका घरको छतमा बसेर स्थानीयहरुले चिच्याएर खुशीयाली मनाएका थिए ।

ट्वीन टावर भनेर चिनिइएका नोइडाका दुई भवनको नाम ‘एपेक्स’ र ‘केयन’ दिइएको थियो । ती भवन भत्काउने बेला सो क्षेत्रमा ट्राफिक प्रभावित भएको थियो भने भवन भत्काइसकेपछि धुलोको मुस्लो उडेको देखिन्थ्यो । अग्नि नियन्त्रकहरुले भवन भत्केपछि उत्पन्न धुलो कम गर्न पानीको फोहोराको प्रयोग गरेका थिए । भवन भत्काइसकेपछि सो स्थानमा ८० हजार टनको भग्नावशेष मात्र बाँकी रहेको जनाइएको छ ।

यद्यपि, उत्तर प्रदेश सरकारको वातावरण विभागले प्रदूषणको स्तर अनुगमन गर्न भत्काइएको स्थानमा ६ वटा विशेष धुलोप्रतिरोधी मेशिन जडान गरेको छ । भत्काइएको ठाउँ नजिकैको क्षेत्रमा आकाश र जमिनको सतहमा रहेको धुलोलाई ‘एन्टी स्मोग गन’ले हावामा पानीका थोपाहरू छर्केर तल झारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।