मुख्य समाचार

बिहान १० बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 30, 2022

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. आज हरितालिका तीज पर्व, व्रत तथा पूजा–आराधना गरी मनाउँदै    भाद्र शुक्ल तृतीया अर्थात् आज हरितालिका तीज पर्व, हिन्दु नेपाली महिलाहरूले  उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदै छन् ।

आज बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास  रहेको छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव पती पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने सांस्कृतिक तथा धार्मिक विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिव लिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेपछि अन्ततः पार्वतीले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ ।

सोही आधारमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरिन्छ ।यसैबीच काठमाडौँको हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चार वटै ढोका खुला गरिएको छ ।  आज बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिनेछ ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले तीजका अवसरमा शुभकामना सन्देश  दिएकी छन् । तीजको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीलाई शुभकामना दिँदै राष्ट्रपति  भण्डारीले  तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध थप सुमधुर बनाउने विश्वास व्यक्त गरेकी हुन् ।

त्यस्तै प्रधानमन्त्री शेर बहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटाले  पनि तीजको अवसरका शुभकामना सन्देश  दिएका छन् ।

२. मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

मिथिला क्षेत्रमा श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्ल पक्ष चतुर्थीका दिन खास गरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्त्वका साथ  सो पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको मैथिली अभिमानी करुणा झाले जानकारी दिनुभयो ।

 यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञ स्थलमा द्विप प्रज्वलन गर्दै उपवास बसेको व्रतालुले फलफूल र मिष्टान्न परिकारलाई प्रसादको रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा छ ।

चन्द्रमाको पूजा हुने सो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादको रूपमा राखेर चन्द्रमालाई प्रजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञ स्थलमै बसेर घरका पुरुष सदस्यहरू प्रसाद ग्रहण गर्ने परम्परा रहेको अभिमानी झाको भनाइ छ ।

तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने यस पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र भन्ने गरिन्छ ।

 ३. उम्मेदवारी सिफारिस गर्दा पैसा नउठाउन कांग्रेसको निर्देशन

आगामी  मंसिर ४ गते हुने सघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम नउठाउन नेपाली कांग्रेसले  निर्देशन दिएको छ ।

निर्वाचनका लागि उम्मेदवार सिफारिसकालागि रकम उठाउने  सुचना पाएको भन्दै नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको  हो ।  केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन्।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य रकम लिने कार्य वैधानिक नहुने पौडेलले जारी गरेको परिपत्रमा उल्लेख गरिएको  छ ।

 ४. भक्तपुर थिमी नगरपालिकाले अवैध संरचना भत्काउन दियो ३५ दिने म्याद

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। ३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन  नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ।

नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडक तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरीत सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत गरिएको पाइएको नगरपालिकाले जनाएको छ ।

सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने  पनि नगर पालिकाले चेतावनी दिएको छ ।

५. जयपृथ्वी राजमार्ग अवरुद्ध

जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हिजोदेखिआएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी  दिए  ।

उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उहाँले बताए । जिल्ला सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका बस तथा जिप जालेबगरकै पहिरोले रोकिएका छन् ।

अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी  दिए ।

६. जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

मकवानपुरको हेटौडा उपमहानगरपालिमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहेका छन् ।

हेटौडा उपमहानगरपालिका १८ कठायत चोकमा गए राति जिपको ठक्करबाट घाइते थारुको उपचारका  क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो ।  ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई  ठक्कर दिएको  थियो ।

फरार रहेका जिप चालकको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट हटिया मकवानपुरले जनाएको छ ।

७. देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने  

देशका केही ठूला नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विमलनगरस्थित मर्स्याङ्दी, दमौलीस्थित सेती, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य रूपमा  बढ्नेछ । अन्य  केही ठूला नदीमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज मोरङ, उदयपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, सिन्धुली, गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।

मधेश प्रदेशको दक्षिणी भू–भाग भई बहने साना नदीहरूमा समेत बहाव बढ्ने पूर्वानुमान छ । सो नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

८. इराकका धर्मगुरु सदरको समर्थनमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा २० जनाको मृत्यु   

इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरको समर्थनमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा २० जनाको मृत्यु भएको छ ।  अन्य १२ जना भन्दा बढी घाइते भएका छन् ।

धर्मगुरु सदरले राजनीतिबाट संन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकले राजधानी बग्दादमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा  २० जनाको मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ । भिडलाई नियन्त्रण गर्न  प्रहरीले प्रदर्शनकारीमाथि  अश्रु ग्याँस प्रहार गरेको थियो  । प्रदर्शन हिंसात्मक बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरूले राष्ट्रपति भवन भित्र रहेको स्वीमिङ पुलमा स्वीमिङ गरेको दृश्य सार्वजनिक भएको छ । यस्तै  सरकारी कार्यालयहरू पनि बन्द गरिएको छ । इराकका  प्रभावशाली   राजनीतिक  छवि  भएको धर्मगुरु  सदरले हिजो राजीनामा दिने घोषणा गरेका थिए ।

९. टी–ट्वान्टी सिरिजको उपाधिको लागि नेपाल र केन्या भिड्दै 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोली केन्याविरुद्ध पाँचौँ तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ ।

दुुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।पाँच खेलको सिरिज अन्तर्गत ४ खेल सकिदा सिरिज २–२ को बराबरीको अवस्थामा रहेको छ ।  आजको  खेल जित्नेले सिरिज जित्नेछ । घरेलु टोलीविरुद्धको अन्तिम खेलमा मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज आफ्नो बनाउनेछ ।

यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ । हिजो  भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो ।टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

१०. एसिया कप क्रिकेटमा आज  बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै 

युएईमा जारी एसिया कप क्रिकेटमा आज  बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा  हुँदैछ। सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ  पौने ८ बजे  सुरु हुने छ । अफगानिस्तान आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

अफगानिस्तानले पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएर सुखद सुरुआत गरिसकेको छ ।पहिलो खेल खेलिरहेको बंगलादेश पनि जित निकाल्दै प्रतियोगितामा सुरुआत गर्न चाहन्छ ।पछिल्लो पाँच खेलमा दुवै टोली २/२ खेलमा विजयी भएका छन् ।

एक खेल वर्षाका कारण नतिजा विहीन भएको थियो । अन्तिम भेटमा अफगानिस्तानले ८ विकेटको जित निकालेको थियो  प्रतियोगितामा ६ टोली सहभागी रहेका  छन् ।