मुख्य समाचार

दिउसो १ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 30, 2022

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. अध्यक्ष नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता  

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच  भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा दुई नेताबीच  आज बिहान छलफल भएको हो । चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको स्रोतले जनाएको छ ।

आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति जुटेको छ ।

उनीहरुबीच एकता संयोजन समिति निर्माण र चुनावी घोषणापत्र बनाउने विषयमा छलफल भएको  बताइएको छ । 

२. पशुपतिनाथमा  २ हजार ४ सय प्रहरी परिचालन  

भाद्र शुक्ल तृतीया अर्थात् आज हरितालिका तीज पर्व , हिन्दु नेपाली महिलाहरूले   उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन् ।भगवान शिवको आराधना गर्दै  व्रत बसी उल्लासपूर्वक मनाउने पर्व तीजका दिन शिवालयको मन्दिरहरूमा भीड  लागेको छ ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास  रहेको छ । सत्य युगमा आजैको दिन निराधार व्रत बसी पार्वतीले महादेव पति पाएकाले आजको दिनमा व्रत बस्दा मनोकाङ्क्षा पूरा हुने सांस्कृतिक तथा धार्मिक विश्वास छ ।

वर पाउन  पार्वतीले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको छ  ।सोही आधारमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरिन्छ ।

यस्तै काठमाडौँको हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ ।  आज बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिर परिसरमा भएको तीज कार्यक्रमको लागि दुई हजार ४ सय प्रहरी परिचालन गरिएको छ । तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा  लगायतले  शुभकामना सन्देश दिएका छन् ।

३. राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी अघि बढाएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नेगरी तयारी गरिएको भएपनि आजै हुन्छ वा हुँदैन भन्ने विषयमा यकिन नभइसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यद्यपि आज दिउँसो अपरान्ह ३ बजेका लागि बोर्डको बैठक बोलाइएको पनि उनले जानकारी दिए । जेठ १६ देखि २५ गतेसम्म  सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

देशभरका १ हजारले २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन  गरिएको थियो । 

४. अभिनेता पल शाहको मुद्दाको पेशी आज 

बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार  आज तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतलेभदौं २१ गतेका  लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्दाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लड्न सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ । गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा  रहेका  छन ।

गत फागुन ११  गते मा नाबालिकामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद उजुरी परको थियो । 

५. रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु 

रौतहटमा चट्याङ लागेर तीन  जनाको मृत्यु भएको छ ।  केही  घाइते भएका छन् । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको रहेका छन् । चट्याङ लागेर एउटै गाउँको एकैपटक तिन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ अहिले  शोकमग्न भएको छ  ।

उपचारमा क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।स्थानीय सरोज सहनीको धान खेतमा काम गरिरहेका बेला बिहान साढे सात बजेतिर चट्याङ लागेको थियो।

चट्याङ लागेर सत्य नारायण सहनीकी श्रीमती ४० वर्षकी सहेली देवी घाइते भएकी छन् । घाइते सहेली देवीको उपचार सिटी हस्पिटलमा भइरहेको प्रहरीले जनाएको छ । 

६. विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्न माग  

बुटवलको एक निजी बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै अभिभावकले कारबाहीको माग गरेका छन् । दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाँईले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् ।

गुरागाईँले थप्पड हान्दा तिलोत्तमा–५ का रायमाझीको कान र बंगारामा समेत असर गरेको जेनितका अभिभावकले बताएका छन् ।  विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले शिक्षक गुरागाईंले जेनितलाई कुटपिट गरेकोबारे विद्यालयले आन्तरिक छानबिन गरिरहेको र दोषी प्रमाणित भए कारबाही गर्ने बताएका छन् ।

७. बेपत्ता भएका युवकको शव फेला 

झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव  आज बिहान भेटिएको छ।   हिजो दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भूपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव भेटिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो । उनको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर ३ दोभानमा आज बिहान साढे ७ बजे फेला परेको डीएसपीबसन्त पाठकले जानकारी दिए ।

सामुएलसँगै उनका साथी पनि गएका थिए । दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएको थियो

८. हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने धर्मगुरु सदरको घोषणा 

इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरको समर्थनमा भएको प्रर्दशनका क्रममा प्रहरीले गोली चलाउँदा  ३०  जनाको मृत्यु भएको छ ।  एक सय सुरक्षाकर्मी  सहित  ७ सय घाइते भएका छन् । धर्मगुरु सदरले राजनीतिबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका  समर्थकले राजधानी बग्दादमा प्रर्दशन गरेका थिए ।

प्रर्दशनका क्रममा ३०  जनाको मृत्यु भएको समाचार संस्था अलजजिराले जनाएको छ । भिडलाई नियन्त्रण गर्न   प्रहरीले निकै सकस भइरहेको पनि जनाइएको छ । प्रर्दशनकारीमाथि प्रहरीले   अश्रु ग्याँस  समेत  प्रहार गरेको  छ ।  

प्रर्दशन हिंसात्मक  भड्कदै  गएपछि  देशमा कर्फ्यु आदेश जारी गरिएको छ । यसैबीच शिया धर्मगुरु सदरले  भने हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् ।

प्रर्दशन हिंसात्मक रुपमा भड्कदै  गएपछि उनले आज अनसनको घोषणा गरेका हुन् । हजारौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका छन् ।

यता संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन् ।

९. अमेरिकाको क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

 अमेरिकाको क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ ।

एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार तीन सय ६१ वटा हत्याका घटना अभिलेख भएका थिए । त्यसअघिको वर्ष एक सय ५० वटा त्यस्ता घटना भएका थिए । सन् २०२१ मा हत्याका तीन चौथाई घटनामा बन्दुकको प्रयोग भएको थियो । गत वर्ष ज्यान गुमाएका करिब आधा व्यक्ति दक्षिण अमेरिकीमूलका थिए भने करिब ३० प्रतिशत अश्वेत  रहेका थिए ।

१०. आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी भोलिमात्र सगरमाथामा लगिने 

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र गोक्यो तालमा आज प्रदर्शनी गरिने भनिएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी रोकिएको छ । विश्व भ्रमण अन्तर्गत  हिजो नेपाल आइपुगेको ट्रफी  आज  सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेको थियो ।

 तर, खराब मौसमका कारण प्रदर्शनी रोकिएको छ ।नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले खराब मौसमका कारण ट्रफी सगरमाथा पुर्‍याउन नसकिएको बताए । उनले  भोलि  पुनः सगरमाथा र गोक्यो पुर्‍याइने जानकारी गराए ।खनालले विश्वकप ट्रफी भोलि नै भक्तपुर दरबारस्क्वारमा बिहान साढे  ११ बजेबाट प्रदर्शनीमा राखिने  क्यानले जनाएको छ ।

यस्तै  न राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्‍याइने उनले बताए ।क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।  यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो ।विश्वकपको एक  दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ ।

अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।