‘तिनीहरूले मलाई पिठ्युँमा हिर्काए। एउटा अधिकारी आएर मेरो डाढमा बुट राख्यो। पेटमा पनि हिर्कायो। मेरो हातमा बाँधेर पाखुरामा समातेर भ्यानमा ठेल्यो’, गत साता राजधानी तेहारानमा प्रहरीबाट गिरफ्तार भएकी एक महिलाले त्यस समयको स्मरण गर्दै भनिन्। हिजाबको नियम उल्लङ्घन गरेको आरोपमा गिरफ्तार भएकी २२वर्षीया अहसा अमिनीको १६ सेप्टेम्बरमा भएको मृत्युपछि अहिले इरानमा देशव्यापी रूपमा विरोध प्रदर्शन जारी छ। त्यसै प्रदर्शनलाई रोक्न नै प्रशासनलाई कठिन भएको छ।
प्रहरीले हिरासतमा नै उनको हृदयघात भएको दाबी गर्दै आएको छ। अधिकारीले टाउकोमा पिटेको र उनको टाउकोलाई गाडीमा लगेर ठोक्काइएको आरोप उनको परिवारको छ।
अमिनीको मृत्युपछि जारी प्रदर्शनको नेतृत्व महिलाले गरेका छन्। उनीहरूको मुख्य माग नै हिजाब नियमलाई खारेजी हो। अहिले उनीहरूको आन्दोलनको माग थपिएको छ। देशव्यापी रूपमा इरानी नेता र इस्लाम धर्मगुरु उनीहरूको निसाना बनेका छन्। इन्टरनेटमा पनि सरकारले लगाम लगाउन खोजेको छ। यसका बाबजुद त्यहाँ देशव्यापी रूपमा भएको विरोध प्रदर्शन र सुरक्षाकर्मीले गरेको गिरफ्तारको समाचार बारम्बार सामाजिक सञ्जालमा देखिन थालेका छन्।
‘त्यहाँको अवस्था सामाजिक सञ्जालमा देखिए भन्दा धेरै नै खराब छ’, प्रदर्शनमा गिरफ्तार एक महिलाले भनेकी छन्, ‘उनीहरू एकदमै क्रुर देखिएका छन्। महिला अधिकारी समेत त्यत्तिकै क्रूर। यी नै मध्यकै एक महिला अधिकारीले त मलाई इजरायली जासुस र वेश्या समेत भनिन्।’
केही कमान्डरले तलको सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि दया राख्न आवश्यक नभएको भन्दै उनीहरूलाई चरम यातना दिन आदेश दिएको भिडियो नै बाहिर आउन थालेका छन्। उनीहरूलाई गोली नै हान्नसमेत आदेश दिइएको भिडियो बाहिर आउन थालेको छ।
प्रदर्शनमा गोली चलाइएको तथा सम्भव भएसम्मका लागि गिरफ्तार गरिएको भिडियो पनि बाहिर आउन थालेको छ। त्यहाँको सरकारी सञ्चार माध्यमले ४० प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ। मानव अधिकार आयोगले त्यो भन्दा धेरै बढीको ज्यान गएको जनाएको छ।
गिरफ्तार भएका कुल सङ्ख्यका बारे कुनै आधिकारिक तथ्यांक छैन। मजान्दरान प्रान्तमा प्रदर्शनको नेतृत्व गरिरहेकी एक महिलाको अनुसार त्यस क्षेत्रमा मात्र चार सय ५० जना गिरफ्तार भएको जनाएकी छिन्। मानव अधिकारवादी समूहले पनि देश भरीमा हजारौँ जना गिरफ्तार भएको जनाएको छ।
‘म सुरक्षाकर्मीलाई धकेलेर भाग्ने प्रयास गरिरहेको थिएँ। यस्तैमा दोस्रो र केही समयमा तेस्रो सुरक्षाकर्मी आएर मलाई घेरा हालेको हो,’ मुख्य सहरमा प्रदर्शनको नेतृत्व गरिरहेका सामले भनेका छन्, ‘यसको केही समयपछि १५ भन्दा बढी जासुस र सुरक्षाकर्मी जम्मा भएर मलाई पिट्न थाले।’
उनले थप भने, ‘मैले मुखमै रगत बगेको स्वादबाटै थाहा पाए। बन्दुकले टाउकोमा हिर्काएका कारण झनझन् गरेको थियो। उनीहरूले मलाई भुइँमा लडाए। मेरो हातलाई पछाडि लगेर बाँधे। जुत्ताको तुनाले नै मेरो दुई वटा गोडालाई बाँधे।’
राष्ट्रपति इब्राहिम रइसीले ३१ प्रान्तमा फैलिएको सो प्रदर्शनलाई नियन्त्रणमा लिन निर्णायक कदम चाल्ने बताइसकेका छन्। सन् १९८८ मा राजनीतिक बन्दीको सामूहिक मृत्युको मुख्य जिम्मेवारी रइसीले त्यस समयमा गरेको कुकर्म धेरै इरानीले सम्झन थालेका छन्। धेरै जनालाई मार्नकै लागि गठित समितिका चार जना मध्ये उनी पनि एक थिए।
‘तिनीहरूले मलाई र अन्य धेरै प्रदर्शनकारीलाई भुँमा लडाएका थिए’, सामले भने, ‘त्यस समयमा मैले राजनीतिक बन्दीको मृत्युमा रइसीको भूमिका सम्झिएँ। त्यस पछि नै मर्छु की भन्ने सोची सकेको थिएँ।’ ् रइसीले सन् १९८८ मा मारिनेहरू इरानको कानुन अनुसार दोषी ठहर भएकाले आफूले कुनै गलत नगरेको दाबी गर्दै आएका छन्। अहिले राष्ट्रपतिले प्रदर्शन रोक्न दङ्गा प्रहरी र अन्य सम्भव भएका सबै कानुनी र सुरक्षा निकायलाई प्रयोग गरे पनि आफैले मार्न नै आदेश भने दिएको कुनै प्रमाण फेला परि सकेको छैन।
अहिले विद्रोहमा सरिक महिला यो विद्रोह नै इस्लामिक रेभुलेसन गार्ड कप (आईआरजीसी) मा परिणत भएको जनाउन थालेका छन्। ‘ मैले भ्यानमा अन्य थुप्रै किशोरी देखेँ। उनीहरूको हिम्मत देखेर मलाई पनि जोस चल्यो। मेले उनीहरूलाई सङ्गठित गर्ने सोच बनाएँ।’ ५१ वर्षीय ती प्रदर्शनकारीले भनिन्, ‘तिनीहरू कराई रहेका थिए। अधिकारीको नाममा हाँसो मजाक गरिरहेको थियो। हाम्रो पुस्ता भन्दा फरक त्यो पुस्तामा भय देखिएन।’
गिरफ्तार भएका प्रदर्शनकारीको आफन्त र परिवारका सदस्य उत्तरी तेहरानको एउटा कुख्यात जेल अगाडि लाइन लागेर उभिएको दृश्य बाहिर आएको थियो। त्यस दृश्यमा उनीहरू गिरफ्तार भएको व्यक्तिको बारे जानकारी लिन र रिहा हुनेको सूची हेर्न उनीहरू पर्खिएर बसेका छन्।
सुरक्षाकर्मीले आफ्नो पारिवारिक सदस्य गिरफ्तार भएको कुरा सार्वजनिक गरेमा स्थिति अझ खराब हुन सक्ने चेतावनी दिएका छन्।
गिरफ्तार भएका सबै जना मुख्य हिरासतमा लगिएका छैनन्। धेरै जना साना प्रहरी चौकीमा राखिएका छन्। कतिपयको अवस्था र राखिएको क्षेत्र नै अज्ञात छ।
‘हामीलाई प्रहरी चौकीमा लगिएको थियो। त्यहाँ धेरै जना राख्ने अवस्था थिएन’, तीनै प्रौढ महिलाले भनिन्, ‘तिनीहरूले मसहित कम्तीमा ६० जना एउटा सानो कोठामा राखेका थिए। हामी हल्लिन पनि नसक्ने भएर कोचाकोच गरेर बसेका थियौं।’ ‘ हामीहरूले शौचालय प्रयोग गर्न नपाउने र भोक लागेमा आफ्नै दिसा खानु भनेर समेत भनेका थिए। हामीहरूले दिनभर विरोध गर्ने र होहल्ला गर्ने काम गरेका थियौँ। उनीहरूले हामीलाई हकार्दै यसो गरेमा त्यहीँ बलात्कार गर्ने धम्की पनि दिएका थिए’, अर्की एक महिलाले भनिन्।
इरानको दक्षिणी सहरमा गिरफ्तार भएकी एक महिलाका अनुसार त सुरक्षाकर्मीले नै यौन हिंसाको धम्की दिएका थिए। त्यहाँ खटिएका सुरक्षाकर्मीले मेरो नाम सोधेर त्यसपछि वेश्याको रूपमा समेत बोलाएका थिए। मैले यसको विरोध गरेपछि त्यहीँ रहेको एउटा गार्ड बोलाएर बलात्कार गर्न लगाउने धम्कीसमेत दिएका थिए। इरानको मुख्य जेलमा राखिएकी एक महिला आफूहरू ८० जनालाई एउटै साँघुरो कोठामा राखेको बताउँछिन्। ‘तिनीहरूले मेरो मोबाइल खोसेर विरोध प्रदर्शनको कुनै समाचार या फोटो सेयर गरेको छ या छैन भनेर पनि खोजी गरेका थिए’, ती महिलाले भनिन्।
त्यसको भोलिपल्ट नै न्यायाधीश आएर धेरै युवालाई रिहाइ गरेको थियो । पाका व्यक्तिलाई भने अलि बढी नै निगरानी गर्ने गरिएको छ। १० प्रतिशत त्यत्तिकै रिहा भएका छन् भने अन्यलाई धरौटीमा छाडिएको छ।
तेहरानमै राखिएको एक युवा उच्च मनोबल भएको बताउँछन्। उनका अनुसार अनुहार रगताम्मे भएका धेरै जना हाँसी रहेका थिए। उनीहरू एक आपसमा रमाइलो गर्न उक्साइरहेका थिए। तीनै मध्यका एक युवा भन्दै थिए। हामी हाँस्नु पर्छ किनकी हामी जिततर्फ उन्मुख छौं ।
अहिले इरान सरका मानवता विरोधी अपराधको पर्याय नै बनिसेको छ। जसको नेतृत्व तीनै रइसीले गरेका छन्। १९८८ मा राजनीतिक बन्दीलाई मार्ने चार मध्यका कान्छा रइसी २७ वर्षका मात्र थिए। त्यस समयमा नै चार हजारदेखि पाँच हजार जनाको ज्यान गएको थियो। धेरै जना हिरासतमा मारिए। कतिपयलाई भाग्न लगाएर गोली ठोकिएको थियो। त्यस घटनापछि इरानको राजनीतिमा ठूलो उथलपुथल भएको थियो। अन्तर्राष्ट्रिय निकायको इरान प्रतिको चासो बढेको थियो।
केही कट्टरपन्थी धार्मिक अतिवादीले त्यसलाई देवताको आदेशको रूपमा पनि व्याख्या गरेका थिए। ३३ वर्षपछि २०२१ मा भएको मतदानमा इरानी जनताले ती नै रइसीलाई निर्वाचित गर्नु साँच्चै ठूलो भुल नै थियो। जसको परिणाम इरानले अहिले भोगी रहेको छ। स्रोत : इरान प्रिमियर, बीबीसी