फाइल फोटो

समाचार

हिलाम्य सडकका कारण स्थानीयवासीलाई सास्ती

By खबरहब

September 30, 2022

भोजपुर– यहाँका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दसैँ मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडवाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँगाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका कारण स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत समस्या छ । 

वर्षाका कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द छ । खास गरेर दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिकामा सदरमुकामसम्मको यातायात सेवा सञ्चालनमा समस्या भएको छ । त्यस्तै उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकासँगको यातायात सञ्चालनमा पनि समस्या छ । सडक हिलाम्य भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिउपजसँगै खाद्यान्न ढुवानीमा समस्या छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय नागरिकको माग छ । स्थानीय तहले बिग्रिएको ठाउँमा मात्र मर्मत गरिदिए मात्रै पनि यातायात सञ्चालनमा सहजता हुने स्थानीय बताउँछन् । 

सडक हिलाम्य भएर यातायात सञ्चालनमा समस्या भएपछि दसैँ मान्न देशविदेशबाट आएकालाई गन्तव्यसम्म पुग्न नै समस्या छ । सुत्केरी तथा गर्भवती  महिला, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयको भनाइ छ ।

कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । गाउँपालिकामा विभिन्न कामका लागि मानिसको आवतजावत बढे पनि सडक सञ्चालनमा भने समस्या छ ।

भोजपुर सदरमुकामबाट कोट हुँदै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायतका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । दसैँका लागि आवतजावत गर्न कठिनाइ भएको छ । स्थानीय कृषक गणेशप्रसाद राईले भने, ‘यो पटक हिले दसैँ हुने भयो, सबै सडक हिलाम्य छन्, बजारसम्म जान आउन समस्या छ, स्थानीय तहले केही सडक मर्मत गरे पनि निरन्तरको वर्षात्ले बाटो बिग्रिएको छ ।’

दैनिक उपभोग्य वस्तु ढुवानीका लागि कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका व्यापारी सन्तोष विष्टले जानकारी दिए। विभिन्न ठाउँमा पहिरो गएको छ भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका उनले बताए। उनले भने, ‘यसले गर्दा अहिले हाम्रो ठाउँमा सडकका कारण समस्या परेको छ, आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।’

पूर्वी क्षेत्रबाट भोजपुर-लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर-चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमितरूपमा यातायात सञ्चालनमा रहेको छ । यो सडक पनि करिब पाँच वर्ष अगाडि मात्र कालोपत्र सम्पन्न भएपछि स्थानीयलाई राहत मिलेको हो । 

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, सिद्धेश्वर र गुप्तेश्वर तथा टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भएको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेको यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्नो क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन् ।