समाचार

वनमन्त्री यादव स्वदेश फिर्ता

By खबरहब

September 30, 2022

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।

यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान गरेका थिए । अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकहरूले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गरेका थिए ।