तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको आत्मघाती हमलामा १९ जनाको मृत्यु

By खबरहब

September 30, 2022

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा विश्वविद्यालयको परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अरु ३० जना घाइते भएको बीबीसीले जनाएको छ ।

विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक शिया सम्प्रदायका हजारा समुदायको बसोबास रहेको सो क्षेत्रमा पछिल्लो समय हिंसात्मक आक्रमणका घटना बढ्दै गएको बताइएको छ ।

विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला उक्त शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो । आक्रमणको समयमा सो स्थानमा ६ सयभन्दा धेरै मानिसहरु रहेको जनाइएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले जनाएअनुसार आक्रमणमा १९ जना मारिएका छन् ।

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ । आक्रमणपछि घटनास्थलतर्फ एम्बुलेन्सहरु पुगेका थिए ।