तस्वीर- एयू/यूएन

अन्तर्राष्ट्रिय

सोमाली सेनाको कारवाहीमा अल शबाबका ४० लडाकु मारिए

By खबरहब

September 30, 2022

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा सेनाले गरेको सैन्य कारवाहीका क्रममा अल शबाब आतङ्ककारी सङ्गठनका ४० जना लडाकुको मृत्यु भएको छ ।

सोमाली सेनाले कारवाहीमा ४० लडाकु मारिएको जाननकारी दिएको हो । बिहीबार सोमालियाको मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारवाहीका क्रममा ती लडाकुहरु मारिएका बताइएको छ ।

सोमाली सेनाका कमाण्डरले सोमाली समाचार समितिलाई दिएको जानकारीअनुसार सोमालियाका राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान क्षेत्रमा गरेको कारवाहीका क्रममा ४० जना लडाकु मारिएका र अरु केही घाइते भएका जनाएका छन् ।

सो कारवाहीका क्रममा अल शबाब समूहका एकजना कमाण्डर पनि मारिएका बताइएको छ । त्यसक्रममा अल शबाब आतङ्ककारी सङ्गठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको सोमाली सेनाको दाबी छ ।

कारवाहीका क्रममा सोमाली सेनाका कमाण्डर पनि मारिएका छन् । उनलाई अल शबाब संगठनका आतङ्ककारीले गोली हानेका थिए ।

हिरान क्षेत्रमा अल शबाबका लडाकुहरुले विगत लामो समयदेखि आतङ्क मच्चाइरहेको बताइन्छ । गोप्य सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारवाही थालेको बताइएको छ ।