फाइल फोटो

देश/प्रदेश

सुर्खेतबाट तीन हजार नौ सय खसी काठमाडौँ पठाइयो

By खबरहब

September 30, 2022

सुर्खेत-बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीनहजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो ।

चाडपर्वसँगै बजारमा खसीबोकाको अभाव देखिएका बेलामहिलाले उत्पादन गरेका खसीबोका काठमाडौँ पठाएको ‘पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित सानाकिसानको संस्था सवलीकरण परियोजना’ का संयोजक पदमबहादुर दलामीले जानकारी दिए । उक्त परियोजना हेफर इन्टरनेशनल नेपाल र सुन्दर नेपाल संस्थाले सञ्चालन गरेको हो ।

परियोजनामार्फत उद्यमी महिलाले उत्पादन गरेका खसीबोकाको न्यूनतम मूल्यसमेत निर्धारण गरिएको छ । जसअनुसार जिउँदो खसी प्रतिकिलो रु ५०० देखि रु ५३० मूल्य तोकिएको छ । पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थ प्रमाणपत्रका आधारमा खसीबोका खरीद गरेर काठमाडौँ पठाइएको पनि परियोजना संयोजक दलामीले जानकारी दिए ।

सुर्खेत जिल्लास्थित सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था, त्रिवेणी, सफल, उपहार सामाजिक, भेरी किनारा सामाजिक, सम्झौता, लाटीकोइली र उत्तरगङ्गा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँ लक्षित खसीबोका बिक्री गरिरहेका छन् । सहकारीले दसैँतिहारको अवधिमा मात्र छ हजार ८०० खसीबोका बिक्री गर्ने लक्ष्य राखेको परियोजना संयोजक दलामीले जानकारी दिए ।