राजनीति

शेरधन राईद्वारा मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका काम समेट्दै श्वेतपत्र सार्वजनिक

By खबरहब

October 30, 2022

भोजपुर- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् ।

आज भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर राईले उक्त श्वेतपत्र सार्वजनिक गरेका हुन् । तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृहजिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताए ।

श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिंचाइ, भवन निर्माण, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त भएका थिए ।

२०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नु भएको थियो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

त्यस्तै, प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहेका छन् ।