राजनीति

प्रदीपको टीमले जितेमात्र काठमाडौं–५ मा विकासको ढोका खुल्छ : नरहरी आचार्य

By खबरहब

October 30, 2022

काठमाडौँ- नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेलको टीमले मात्र गर्न सक्ने बताएका छन् ।

आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् ।

‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन् ।’

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए । ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने ।

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो । त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ ।’