ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीका लागि नेताको दौडधुप !

By खबरहब

November 30, 2022

काठमाडौं – मंसिर ४ गते भएको आम चुनावको मत परिणाम सार्वजनिक भइनसक्दै नेताहरु प्रधानमन्त्रीको दौडमा सक्रिय भएका छन्। अहिलेको सत्ता गठबन्धनले बहुमत पुर्याएर फेरि सरकार बनाउने रणनीति तयार पारेको छ। गठबन्धनभित्र आधा दर्जन नेताले प्रधानमन्त्रीका लागि दाबी गर्दै आएका छन्। कांग्रेसमा शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म प्रधानमन्त्रीका दाबेदार छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली सरकार गिराएर देउवालाई प्रधानमन्त्री बनाएको ऋणको ब्याज खाने दाउमा छन्।

पार्टीले चुनावी परिणाम राम्रो नपाए पनि गठबन्धनमा मौका मिले प्रधानमन्त्री पदमा आफू सक्षम उम्मेदवार रहेको माधव नेपालको भित्री चाहना छ। कांग्रेसमा देउवासँगै, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइरालादेखि गगन थापासम्म भावी प्रधानमन्त्रीको रुपमा आफूलाई मत मागेर निर्वाचित भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फेरि पाँच वर्ष सत्ता बाहिर बस्दा ठूलो राजनीति मूल्य चुकाउनुपर्ने भन्दै वाम गठबनधनको कार्ड फालेर अगाडि बढेको छ। हिजो बहुमतको सरकार नपचेर पटकपटक संसद् भंग गरेका एमाले अध्यक्ष केपी ओली आज नेतालाई बधाई दिने नाममा पानीमाथिको ओभानो बन्दै छन्।

मिश्रित चुनावी परिणामले संसदीय प्रक्रियामा हुने बहुमतीय खेल सुरु भइसकेको छ। सत्ता गठबन्धनले बहुमत पुर्याए ओली रिङ आउट हुन्छन्। प्रचण्ड र माधव नेपालको भागमा प्रधानमन्त्री पर्ने सम्भावना कम छ।

गोरखाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई बधाई दिँदै ओलीले सल्लाह गरेर अगाडि बढ्न गरेको आग्रहले पुनः वाम गठबन्धनको सरकारको चर्चा चुलिएको छ। तर, ओलीको बधाई ग्रहण गरेका प्रचण्डले उनको बोलीलाई तत्काल विश्वास गर्ने वातावरण छैन। हुँदाखाँदाको बहुमतको सरकार र पार्टीलाई छिन्नभिन्न बनाउन ओलीले गरेको हर्कत प्रचण्डले बिर्सिएका छैनन्। तर, ओलीको लचकता र भूराजनीतिक अवस्थितिले वाम गठबन्धनको कार्डको भुलभुलैयामा प्रचण्ड पर्ने हुन कि भन्ने आशंका देउवामा पनि देखिन्छ। उत्तर तर्फको छिमेकीले प्रचण्ड र ओलीलाई फेरि मिलार वाम सरकारको परिकल्प गरेको छ। तर, त्यो पाँच वर्ष अघिको जस्तो सजिलो समिकर भने पक्कै हुने छैन।

यता ओलीले बधाई दिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले प्रचण्ड र माधव नेपालसँग बालुवाटारमा सरकार गठनका विषयमा छलफल गरिसकेका छन्। देउवा, प्रचण्ड र नेपालबीचको छलफलपछि नेताहरुले अहिलेकै सत्ता गठबन्धले सरकार बनाउने प्रतिक्रिया सार्वजनिक गर्दै आएका छन्। अहिले सत्तामा रहेकै दल मिलेर सरकार बनाउने खुलासा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरिसकेका छन्।

कांग्रेसमा गगनको रहर र देउवाको दाउ नेपाली कांग्रेसका लोकप्रिय मत पाएर महामन्त्री बनेका गगन थापाले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई चुनौती दिएर प्रधानमन्त्रीका लागि दाबी गर्ने बताउदै आएका छन्। निर्वाचन अगाडिदेखि मतदातासम्म पुग्दा होस् वा पत्रकारसँग कुरा गर्दा गगनले लगातार प्रधानमन्त्रीको रटान लगाइरहेका छन्। उनको यो रटानमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले खुलेर साथ दिए पनि अन्य नेता यो विषयमा बोलेका छैनन्। पार्टी प्रवक्तासमेत रहेका डा. प्रकाशरण महतले भने गगनले हल्ला गरेर मात्र नहुने टिप्पणी यसअघि नै गरिसकेका छन्।

देउवा पद छाड्न तयार छैनन्। कांग्रेसमा रामचन्द्र, शेखरदेखि गगनसम्मको रहरको टुंगो संसदीय दलको निर्वाचनले गर्नेछ।

पार्टी सभापति देउवाले समानुपातिकको टिकट वितरणमै संसदीय दलमा आफ्नो बहुमत पुग्नेगरी ‘सेटिङ’ मिलाइसकेको कुरा गगनलाई थाहा नभएको होइन। तर, उनी पार्टी महामन्त्रीमा पाएको लोकप्रिय मतकै बलमा प्रधानमन्त्री पदमा दाबेदारी छोड्न तयार देखिदैनन्। शीर्ष नेताले नयाँ पुस्तालाई एक पटक नेतृत्व दिएर जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्नु उपयुक्त भए पनि त्यो तहसम्मको उदारता देउवा र प्रचण्डले गर्न सक्ने देखिँदैन।

गगनको प्रधानमन्त्रीको दाबीको चर्चा गर्नु भन्दा पनि अगाडि नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन महत्वपूर्ण हुन्छ। १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई टक्कर दिएका नेता डा. शेखर कोइराला चुपचाप बसिराखेका छन्। संसदीय दलको निर्वाचनमा बन्ने समिकरणले मात्र कांग्रेसबाट को प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगोमा पुग्नेछ।

पार्टी सभापति देउवाले समानुपातिकको टिकट वितरणमै संसदीय दलमा आफ्नो बहुमत पुग्नेगरी ‘सेटिङ’ मिलाइसकेको कुरा गगनलाई थाहा नभएको होइन। तर, उनी पार्टी महामन्त्रीमा पाएको लोकप्रिय मतकै बलमा प्रधानमन्त्री पदमा दाबेदारी छोड्न तयार देखिदैनन्।

गगनको रहरलाई तोड्न रामचन्द्र पौडेल वा शेखर कोइरालाले बनाउने समिकरण बाधक बन्नसक्छन्। महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई आफ्नै पक्षमा ल्याएर सभापति जितेका देउवा फेरि संसदीय दलको नेतामा बाजी मार्ने आन्तरिक रणनीतिमा जुटिसकेका छन्। यो बाहिर हल्ला गरेको भन्दा निर्णायक सवाल हो।

कसको पक्षमा छ मत परिणाम ? मङ्सिर ४ गते भएको संघीय चुनावमा प्रतिनिधि सभातर्फ दोलखा, स्याङ्जा र बाजुरा बाहेकको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ। जस अनुसार नेपाली कांग्रेसले ५४ र एमालेले ४४ सिट जितेका छन्। यस्तै नेकपा (माओवादी केन्द्र)ले १७ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी)ले १० सिट जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले ७–७ सिट जितेका छन्। नागरिक उन्मुक्ति र लोसपाले ४–४ सिट जितेका छन्। राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले १–१ सिट जितेका छ। अन्य ५ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

माओवादीले समानुपातिकतर्फ १४ सिट प्राप्त गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ल्याएको मत हेर्दा माओवादीकै अनुपातमा सिट ल्याउने छ।

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। एमालेले २७ लाखको हाराहारी मत ल्याएको छ। यो सङ्ख्या अनुसार एमालेले ३२ सिट पाउने छ। यस्तै कांग्रेसले २५ लाख ४८ हजार बढी मत पाएको छ। यही मतलाई हिसाब गर्दा कांग्रेले ३० सिट ल्याउने देखिन्छ।

माओवादी केन्द्रले ११ लाख प्लस मत ल्याएको छ। यो मतको आधारमा माओवादीले समानुपातिकतर्फ १४ सिट प्राप्त गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ल्याएको मत हेर्दा माओवादीकै अनुपातमा सिट ल्याउने छ। समानुपातिकका आधारमा राप्रपाले ७ र जसपाले ५ तथा जनमत पार्टीले चार सिट ल्याउने देखिएको छ। नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड कटाउन सक्ने कि नसक्ने भन्ने धरमरमै छ।

संसदीय गणित र सरकार गठन सम्पूर्ण मतगणनाको काम सकिएपछि निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ। मतपरिणाम राष्ट्रपतिलाई बुझाएपछि राष्ट्रपति भण्डारीले सरकार गठनको आह्वान गर्नेछिन्। अहिले राजनीतिक दल सकेसम्म आ–आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा रहेका छन्।

प्रत्यक्ष र समानुपातिक गरेर प्रतिनिधिसभाको कुल संख्या २७५ हो। यसमा बहुमतको सरकार बनाउन १३८ मत आवश्यक पर्छ। यसरी हेर्दा अहिलेको सत्ता गठबन्धन बहुमत नजिक पुग्छ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको छ भने माओवादी केन्द्रले पनि गठबन्धनलाई प्राथमिकता दिने बताएको छ। नेकपा एमालेले कम्युनिस्ट मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने चाहना राखेको छ। संसदमा कसैको पनि बहुमत नपुग्ने हुँदा दुई वा दुई भन्दा बढी दल मिल्नुपर्ने बाध्यता छ। राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि मात्र समिकरणको टुंगो लाग्ने स्पष्ट देखिन्छ।

२७५ सिटको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पहिलो हुने प्रत्यक्ष निर्वाचित प्रणालीबाट १६५ जना संसद निर्वाचित हुन्छन् । समानुपातिकको तर्फबाट ११० जना निर्वाचित हुन्छन्। प्रत्यक्ष र समानुपातिक गरेर प्रतिनिधिसभाको कुल संख्या २७५ हो। यसमा बहुमतको सरकार बनाउन १३८ मत आवश्यक पर्छ। यसरी हेर्दा अहिलेको सत्ता गठबन्धन बहुमत नजिक पुग्छ। गठबन्धनले स्वतन्त्र ५ जना र रवि लामिछानेको पार्टीलाई साथ लिएमा सुविधाजनक बहुमत पुग्ने देखिन्छ।