फाइल फोटो

समाचार

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?

By खबरहब

January 31, 2022

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ ।

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको संक्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।

मौसमी फ्लु हुँदा दुई/चार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण पाँच देखि १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।

फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चार/पाँच दिनको फरकमा सर्छ ।

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ? – रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने – निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने – श्वास लिँदा धेरै बल लगाउनुपर्ने – छातीमा गाह्रो हुने

कस्तो अवस्थामा अस्पताल जाने ? – सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन – ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा – ज्वरो निरन्तर आएमा – श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा – ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा – मधुमेह, मिर्गाैला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? – फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने – मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने – सकभर स्वस्थ्य रहने – प्रशस्त मात्रामा उमालेको पानी पिउने – धेरै मात्रामा झोल पदार्थ पिउने

बिहानदेखि बेलुकासम्म के–के गर्ने ? – सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने – काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने – स्यानिटाइजर नभए साबुन पानीले हात धुने – शौचालय जाँदा र बाहिरबाट घर फर्केेपछि २० सेकेण्ड मिचीमिची हात धुने – बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने – हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने – लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने – घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )