समाचार

स्थानीय चुनावको मिति घोषणाको माग गर्दै युवा संघद्वारा निरन्तर विरोध

By खबरहब

January 31, 2022

बारा– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघले सोमबार पनि विभिन्न स्थानमा प्रदर्शन गरेको छ । स्थानीय तहको चुनावको मिति घोषणा हुनुपर्नेलगायत मागहरू राखेर युवा संघले निरन्तर विरोध प्रदर्शन गर्दै आएको हो ।

संघका नेता तथा कार्यकर्ताले सोमबार बारा, नवलपरासी, बर्दियालगायत विभिन्न स्थानमा विरोध प्रदर्शनका साथै मसाल जुलुस निकालेका छन् ।

उनीहरूले वैशाखभित्रै स्थानीय तहको चुनाव हुनुपर्ने, हिंसात्मक अधिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गराउनुपर्नेलगायत माग राखेका छन् ।

यसअघि, शनिबार बसेको नेकपा एमालेसम्बद्ध जनसंगठन समन्वय संयन्त्रको बैठकले आन्दोलनलाई अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जनसंगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।