समाचार

सिरहामा पूर्ण खोप लगाउनेको संख्या ४८ प्रतिशत

By खबरहब

January 31, 2022

सिरहा– सिरहामा लक्षित उमेर समूहमध्ये ४८ प्रतिशत जनताले मात्र पूर्ण खोप अर्थात दोश्रो डोजको कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार १८ वर्ष र त्यसभन्दा माथि उमेर समूहको दोश्रो डोजको प्रगति ४८ प्रतिशत रहेको छ । त्यस्तै, प्रथम डोजको खोप लगाउनेको संख्या ६२ प्रतिशत रहेको छ । त्यसैगरी, १२ देखि १७ वर्ष उमेर समूहमा प्रथम डोजको प्रगति ८९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सिरहामा विद्यार्थीहरूलाई खोपः सोमबार बसेको सिरहा जिल्ला कोभिड व्यवस्थापन समिति एवम् जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार गोलबजार, धनगढीमाई, सुखीपुर, अर्नामा, औरही, भगवानपुर र लक्ष्मीपुरपतारीका विद्यालयहरूमा १८ गतेसम्म विद्यार्थीलाई मोडर्ना खोप लगाइने छ ।

त्यस्तै, सिरहा, लहान, कल्याणपुर, मिर्चैया, कर्जन्हा, नरहा, सखुवानन्कारकट्टी र विष्णुपुरका विद्यालयहरूमा १९ गतेसम्म खोप कार्यक्रम सञ्चालन रहने छ ।

बरियारपट्टी र नवराजपुरमा भने १४ गतेसम्म खोप कार्यक्रम चलेको थियो । सरकारले १२ देखि १७ वर्षका विद्यार्थीहरूलाई विद्यालयहरूमा नै खोपको व्यवस्था गरेको हो ।