फाइल तस्वीर- टर्किस राष्ट्रपतिको कार्यालय

अन्तर्राष्ट्रिय

टर्की भन्छ ‘रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना छ’

By खबरहब

March 31, 2022

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने टर्कीले जनाएको छ । टर्किस विदेशमन्त्री मेल्भत चाभुसोग्लुले ए हाबेर टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा आगामी साता वा दुई साताभित्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ताको सम्भावना रहेको जनाएका हुन् ।

यसअघि टर्कीको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता भएको थियो । अन्तरवार्ताका क्रममा विदेशमन्त्री चाभुसोग्लुले इस्तानबुल शान्ति वार्तामा भएका सहमतिको कार्यान्वयन टर्कीले नदेखेको समेत बताए । यद्यपि वार्ताबाट केही उपलब्धि भने हासिल भएको उनको भनाइ छ ।

इस्तानबुलमा भएको शान्ति वार्ताका क्रममा रुस र युक्रेनका वार्ताटोली बीच रुसले युक्रेनमा आक्रमणको स्तरमा कमी ल्याउने तथा युक्रेनले सुरक्षा ग्यारेन्टी भएको खण्डमा तटस्थताको नीति अपनाउने सहमति भएको थियो । यद्यपि युक्रेनले भने रुसले उक्त सहमति कार्यान्वयन नगरेको र आक्रमणलाई जारी राखेको आरोप लगाएको छ ।