मनोरञ्जन

द कश्मीर फाइल्स ‘युएई’ मा रिलिज हुने 

By खबरहब

March 31, 2022

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु,फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको थियो । फिल्मले अहिलेसम्म २ सय ३६ करोडको कलेक्सन गरिसकेको छ ।

हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु, मलयालम, कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरुमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ ।

यसका साथै फिल्म युएईमा पनि रिलिज हुने भएको छ । बलिउड अगाडि नै युएईमा भारतीय फिल्महरु रिलिज हुने भएता पनि यो फिल्म भने सेन्सर पास नहुँदा प्रदर्शनमा आउन सकेको थिएन । फिल्मका निर्देशक विवेक अग्निहोत्रीले फिल्म युएइमा बिना काँटछाँट रिलिज हुने जानकारी सोसल मिडिया मार्फत दिएका छन् । ‘फिल्म ७ अप्रिलबाट रिलिज हुँदैछ। निकै उत्साहित छु’ विवेकले सोसल मिडियामा लेखेका छन् ।

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।