अन्तर्राष्ट्रिय

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

March 31, 2022

अडियो सुन्नुहोस्ः

सेनाले पुटिनलाई गुमराहमा पारेको अमेरिकी टिप्पणी युक्रेन आक्रमणका विषयमा सल्लाहकारहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गुमराहमा पारेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसका अनुसार पुटिनसँग डराउने सल्लाहकारहरूले उनलाई युक्रेनमा रुसी फौजले भोगिरहेको परिस्थितिबारे खुलेर जानकारी गराएका छैनन् ।

‘रुसी सेनाबाट पुटिन गुमराहमा परेको महसुस गरिरहेका छन् ।’ ह्वाइट हाउसकी प्रवक्ता केटी बेडिङफिल्डलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसका कारण ‘पुटिन र उनको सैनिक नेतृत्वबीच निरन्तर तनाव’ समेत उत्पन्न हुँदै आएको छ ।

‘पुटिनको युद्ध ठूलो रणनीतिक गल्ती हो जसले रुसलाई लामो कमजोर बनाएको छ र रुस विश्वमा एक्लो परेको छ ।’ बेडिङफिल्डले भनिन् । यतिमात्रै नभई पश्चिमा मुलुकको प्रतिबन्धका कारण रुसी अर्थतन्त्रमा परेको प्रभावबारे पनि पुटिनलाई सही जानकारी दिइएको छैन ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनले ह्वाइट हाउसको यो मूल्यांकन निकै असहज भएको टिप्पणी गरेको छ । पेन्टागनका प्रवक्ता जोन किरबीले युद्धबारे पूर्ण रुपमा जानकार नभएका कारण पुटिनले द्वन्द्व अन्त्य गर्न विश्वसनीय कदम चाल्ने प्रयास नगर्ने बताएका छन् ।

‘अनि अर्को कुरा, उनीजस्ता नेताले खराब समाचार पाए भने कस्तो प्रतिक्रिया दिन्छन् भन्ने पनि तपाईलाई थाहा हुन्न ।’ किरबीले भने । यसबारे रुसी पक्षबाट कुनै टिप्पणी आएको छैन ।

रुसी र अमेरिकी अन्तरिक्षयात्री सँगै पृथ्वी फर्के

अमेरिका र रुसबीच सहकार्यको एउटा दुर्लभ सङ्केतस्वरूप दुवै देशका अन्तरिक्षयात्रीहरू सँगै पृथ्वीमा फर्केका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पृथ्वीमा फर्किने क्रममा उनीहरू कजाकस्तानमा उत्रिएका हुन् ।

नासाका अन्तरिक्ष यात्री मार्क भान्डे हेई, रुसका दुई अन्तरिक्ष यात्री एन्तोन स्केप्लेरोभ र प्योत्र दुब्रोभ कजाकस्तानमा एकै साथ उत्रिएको समाचार संस्था एपीले जनाएको छ । युक्रेनमा जारी रुसी आक्रमणलाई लिएर रुस र अमेरिकाबीच तनाव बढिरहेका बेला उनीहरूको सहयात्रा भएको हो ।

अमेरिकी अन्तरिक्ष यात्री भान्डे हेईले लामो समयसम्म अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए । सन् २०१६ मा अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले बनाएको ३४० दिनको अघिल्लो रेकर्ड तोड्दै उनी ३५५ दिन अन्तरिक्षमा बसेका थिए ।

नासाका प्रशासक बिल नेल्सनले एक विज्ञप्तिमा भनेका छन्, ‘मार्कको मिसन रेकर्ड तोड्ने मात्र होइन, यसले चन्द्रमा, मंगल ग्रह र त्यस बाहिर भावी मानव अन्वेषकहरूको लागि मार्ग प्रशस्त गर्दैछ ।’

अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग गर्ने

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले थप ५० करोड डलर सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ताका क्रममा अमेरिकाले सहयोगको बाचा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनले रुससँग लड्नका लागि आफूहरूलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीच भएको कुराकानी क्रममा पनि युक्रेनलाई आवश्यक परेको र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ ।

‘हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ’ जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

अमेरिकी टेलिभिजन एनबीसीका अनुसार राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि जेलेन्स्कीले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको बताए ।

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ। अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ ।

युक्रेनी रुसी विदेशमन्त्रीबीच भेटवार्ताको सम्भावना रहेको टर्किस विदेशमन्त्रीको भनाइ

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुने टर्कीले जनाएको छ । टर्किस विदेशमन्त्री मेल्भत चाभुसोग्लुले ए हाबेर टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा आगामी साता वा दुई साताभित्र रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ताको सम्भावना रहेको जनाएका हुन् ।

यसअघि टर्कीको मध्यस्थतामा दुई देशका प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा शान्ति वार्ता भएको थियो । अन्तरवार्ताका क्रममा विदेशमन्त्री चाभुसोग्लुले इस्तानबुल शान्ति वार्तामा भएका सहमतिको कार्यान्वयन टर्कीले नदेखेको समेत बताए । यद्यपि वार्ताबाट केही उपलब्धि भने हासिल भएको उनको भनाइ छ ।

इस्तानबुलमा भएको शान्ति वार्ताका क्रममा रुस र युक्रेनका वार्ताटोली बीच रुसले युक्रेनमा आक्रमणको स्तरमा कमी ल्याउने तथा युक्रेनले सुरक्षा ग्यारेन्टी भएको खण्डमा तटस्थताको नीति अपनाउने सहमति भएको थियो । यद्यपि युक्रेनले भने रुसले उक्त सहमति कार्यान्वयन नगरेको र आक्रमणलाई जारी राखेको आरोप लगाएको छ ।

रुस र युक्रेनकोअर्थतन्त्रमा ठूलो धक्का लाग्ने प्रक्षेपण

पूर्वी युरोपमा युद्धमा होमिएका दई मुलुकहरु रुस र युक्रेनको अर्थतन्त्रमा यस वर्ष ठूलो धक्का लाग्ने प्रक्षेपण गरिएको छ । पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कूल ग्राहस्थ उत्पादन जीडीपी २० प्रतिशतले सङ्कुचित हुनेछ।

अर्धवार्षिक क्षेत्रीय आर्थिक रिपोर्ट सार्वजनिक गर्दै लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट इबीआरडीले यस्तो प्रक्षेपण गरेको हो । इबीआरडीका अनुसार दुई देशबीचको युद्धले ५० वर्षका लागि ‘सबैभन्दा ठूलो आपूर्ति झट्का’ निम्त्याउनेछ।

‘अहिले ६० प्रतिशत युक्रेनी कूल ग्राहस्थ उत्पादन हुने भूभागमा युद्ध भइरहेको छ ।’ इबीआरडीको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, युक्रेनका ३० प्रतिशत व्यापारहरु बन्द भइसकेको र विद्युत खपत युद्धअघिको तुलनामा ६० प्रतिशतले कमी आएको जनाइएको छ ।

फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि इबीआरडीले यो वर्ष युक्रेनी जीडीपी ३ दशमलब ५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो ।

युक्रेनी सेना तयार छ–जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो ।

‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर वाक्यांशमा पनि विश्वास छैन’, एउटा भिडियो सम्बोधनमा उनले भने । रुसी सेनाहरू पूर्वी डोनबास क्षेत्रमा आक्रमण गर्न पुनः संगठित भइरहेका उनले बताए ।

‘हामी केही पनि दिनेछैनौँ । हामी हाम्रो क्षेत्रको प्रत्येक मिटरको लागि लड्नेछौं’, उनले थपे । मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तापछि एक रुसी वार्ताकारले मस्कोले राजधानी किभ र उत्तरी सहर चेर्निगिभ वरपर भएका आक्रमण कटौती गर्ने बताएका थिए तर पनि रुसी सेनाले निरन्तर गोलाबारी गरेको थियो ।

यसैबीच, रुसी सेना किभको उत्तरमा रहेको प्रयोगिबिहीन चेर्नोबिल आणविक ऊर्जा भट्टीबाट बाहिर निस्कन थालेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । ‘हामीलाई लाग्छ कि उनीहरू त्यहाँबाट जाँदैछन् ।

तर, तिनीहरू सबै त्यहाँबाट गइसकेका छन भन्न सक्दिन’, एक अमेरिकी अधिकारीको भनाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

न्यू कलेडोनियामा भूकम्प

प्रशान्त महासागरस्थित फ्रान्सेली प्रशासनमा रहेको न्यू कलेडोनिया क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले दिएको जानकारीअनुसार न्यू कलेडोनियाको टाडिन शहरबाट २८० किलोमिटर दक्षिणपूर्वमा पर्ने समुद्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु सतहभन्दा १० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू कलेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरजति सुनामीका छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।

तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यू कलेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ । ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई हिसाब गर्दा न्यु कलेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

रुससँग धेरै नजिक नहुन चीनलाई बेलायती जासुस प्रमुखको चेतावनी

बेलायती जासुसी निकायका प्रमुखले चीनलाई रुससँग धेरै नजिक नहुन चेतावनी दिएका छन् । बेलायती जासुसी निकाय जीसीएचक्यूका साइबर जासुसी एकाइका प्रमुख सर जेरेमी फ्लेमिङले युक्रेनमाथि आक्रमण गरिरहेको रुससँग धेरैनजिक नहुन चीनलाई चेतावनी दिएका हुन् ।

बीबीसीका अनुसार हाल अष्ट्रेलियामा रहेका सर फ्लेमिङले क्यानबेरास्थित अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयमा दुर्लभ सार्वजनिक सम्बोधन गर्दै रुससँगको गठबन्धनले चीनको दीर्घकालीन हित नहुने बताएका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सल्लाहकारहरूले गुमराहमा पारेको समेत बताए । पुटिनले युक्रेनको अवस्थालाई हल्का रुपमा लिएको समेत उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय नियमलाई ‘जानाजान र गैर कानूनी रुपमा बेवास्ता गर्ने’ रुसी सत्तासँग नजिकको गठबन्धनले विश्वमा नेतृत्वदायी भूमिका निभाउने चीनको दीर्घकालीन चाहना पूरा नहुने उनले बताए ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र बेलायती प्रधानमन्त्री बोरिस जोनसनबीच ‘सौहार्दपूर्ण वातावरणमा’ गत साता कुराकानी भएको समाचार सार्वजनिक भएसँगै बेलायती जासुसी निकायका प्रमुखको यस्तो भनाइ आएको हो ।

नेदरल्याण्ड्समा गोलीकाण्डमा २ जनाको मृत्यु

नेदरल्याण्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनल्ड्स रेस्टुरेन्टमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीकाण्डको घटनामा दुई जनाको मृत्यु भएको छ’, डच प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ ।

डच टेलिभिजन च्यानल आरटीएल ओष्टले जनाएअनुसार रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतङ्कित बनेका थिए ।

गोली प्रहार गरेपछि बन्दुकधारी घटनास्थलबाट फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रहरीले बन्दुकधारीको उद्देश्यबारे केही खुलाएको छैन । साथै टर्किस मूलका भनिएका मृतकको पहिचान पनि सार्वजनिक गरिएको छैन ।

दुर्घटनाग्रस्त विमानका ४० हजारभन्दा धेरै टुक्रा फेला पर्‍यो

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । पत्रकार सम्मेलनका क्रममा चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले यस्तो जानाकारी दिएका हुन् ।

भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको उनको भनाइ छ । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको जनाइएको छ ।

खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको उनले बताए ।

दक्षिणी चीनको युनान प्रान्तको राजधानी कुन्मिङबाट ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो ।