कोभिड महामारीको कारण आक्रान्त भएको मानव समुदायमा अहिले फेरि त्रास फैलन थालेको छ । मङ्कीपक्स संसारका धेरै देशमा पुगेपछि यसले मान्छेलाई भयभित तुल्याउन थालेको हो। कतिपय देशमा त हामी फेरि लकडाउनको समयमा तर्फ फर्कने होइनौ भन्ने चिन्ता पनि जाग्न थालेको छ। धेरै वैज्ञानिकले यो भाइरस कोभिड जस्तो सङ्क्रामक नभएका कारण लकडाउन नै गर्नुपर्ने अवस्था नरहेको तथा भयभीत हुन आवश्यक नरहेको बताइसकेका छन्।
यसको अहिले नै भ्याक्सिन र उपचार दुवै छ। साथै एउटा लक्षण देखिने बित्तिकै उपचार गरेमा तत्काल पार पाउन पनि सकिन्छ। अक्सफोर्ड विश्वविद्यालयका महामारी विज्ञानका वैज्ञानिक प्राध्यापक पिटर हर्बीले मास भ्याक्सिनेसन र लकडाउन आवश्यक नरहेको बताइसकेका छन्।
सङ्क्रमित व्यक्तिलाई आइसोलेट गर्न भने मन्कीपक्स भित्रिएका देशमा अति आवश्यक ठानिएको छ। विश्व स्वास्थ्य सङ्गठनका इमर्जेन्सी कार्यक्रमका डा. रासमन्ड लुइसले पनि मास भ्याक्सिनेसन आवश्यक नरहने जनाइसकेका छन्। साथै उनले कुनै यात्रा प्रतिबन्ध पनि जरुरी नभएकोमा जोड दिएका छन् ।
कोभिड महामारीका कारण मानिस आत्तिने र समुदाय नै यसको असरमा एकै पटक थला पर्ने त होइन भन्ने चिन्तामा पर्नुलाई स्वाभाविक मान्न सकिएला। तर, यो भाइरल सङ्क्रमण भए पनि ठ्याक्कै कोभिड जस्तो नभएकोमा वैज्ञानिक जोड दिन्छन्।
अहिले सामाजिक सञ्जालको जथाभाबी प्रयोग र यसबाट उब्जिएको शङ्काले पनि धेरैलाई पिरोल्न थालेको छ। धेरैले अमेरिका र चीन जस्ता शक्ति राष्ट्र तथा अहिले युद्ध गरी रहेका रुस र युक्रेनकै कारण यो फैलिएको आशंका गरेका छन्। त्यस्तो आशङ्का गर्नेहरूको मतमा आणविक हतियारका कारण मन्कीपक्स मान्छेमा आएको हुनसक्छ। धेरैले यो ल्याबमै मानव सिर्जित भाइरस भएको आशङ्का पनि गर्न थालेका छन्।
यो कसरी मानिसको शरीरमा आउन थालेको हो भन्ने पत्ता लगाउन डिएनए परीक्षण तथा स्क्यानीङ हुन थालेको छ। वैज्ञानिक जिन स्क्यानीङ गरेर यसको बाटो पहिल्याउन प्रयास गरिरहेका छन्। यसको जिन स्क्यानीङबाट पश्चिम अफ्रिकामा धेरै पहिलेदेखि रहेको मन्कीपक्स र अहिले संसारमा फैलिएको मन्कीपक्स एउटै भएको तथ्य फेला परेको छ ।
यस अगाडि पनि बेलायतमा सन् २०१८ र २०२१ मा मनग्ये मात्रामा मन्कीपक्सका सङ्क्रमित भेटिएका थिए। अमेरिकामा २०२१ मा धेरै सङ्ख्यामा यसका सङ्क्रमित फेला परेका हुन्। ती सबै अफ्रिकाबाट आएका मानिसबाट या त्यहाँबाट ल्याएका जनावरबाट नै सरेको थियो।
प्राध्यापक हार्बी अहिले के भएको भन्ने ठ्याक्कै थाहा पाउन कठिन भए पनि अफ्रिकाबाट आउने मानिसबाटै अमेरिका र युरोपमा यो सङ्क्रमण फैलिएको हुन सक्ने बताउँछन्।
अहिले यूरोपमा आएको यो त्रास र भयलाई पनि भुराजनीतिक रूपमा लाभ लिन खोज्ने देश पनि भेटिएको छन्। मंकीपक्स फैलनुमा बिल गेट्स र अमेरिकी सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउसीको हात रहेको हल्ला पनि चलाइएको छ। यस्ता अनावश्यक अफवाह फैलाउने काम रुसी सञ्चार माध्यमले गरेका छन्। यसैगरी, चिनियाँ एप विइबो र इन्सटाग्राममा पनि यी कुरा उल्लेख गरिएका छन्।
रोमानीया, जर्मन, इङ्ग्लिस, अरेबीयन , फ्रान्सेली, स्लोभानीया र हंगेरी लगायत भाषामा रहेका फेसबुक आइडीमा यस्ता विषय नभएका होइनन्। तथापि धेरै अफवाह चिनिया एपमै फैलने गरेका छन्।
सन् २०२१ मा अमेरिकामा रहेको बायो सेक्युरिटी संस्था न्युक्लीयर थ्रेट इनिसेटिभ (एनटीआइ)ले भविष्यमा आउन सक्ने महामारीको विषयमा सल्लाह गर्न र यसको समाधानका लागि तयारी गर्न एउटा कार्यशाला गोष्ठी आयोजना गरेको थियो । त्यस गोष्ठीमा पनि मन्कीपक्स लगायत अन्य सम्भावना रहेका कुनै पनि भाइरल सङ्क्रमण र समुदायमा फैलन सक्ने रोगबारे सल्लाह र छलफल गरेका थिए।
त्यसै कार्यशाला गोष्ठीमा हरेक वर्ष भाइरसको नयाँ टेन्ड देखा परेको तथा सङ्क्रमणबाट ग्रसित हुनेको सङ्ख्यामा वृद्धि भइरहेकाले यसमा सचेत हुनुपर्ने आवाज उठेको थियो। सोही गोष्ठीमा मानव जीवनमा यस्ता सङ्क्रमणको बारम्बार सामना गर्नुपर्ने भएकाले यसको तयारी गर्नु पर्नेमा जोड दिइएको थियो।
सामाजिक सञ्जालमै कोभिड भ्याक्सिनका कारण मन्कीपक्स फैलिएको आशङ्का पनि गरिएको छ। अस्ट्रजेनकाले बनाएको भ्याक्सिनमा चिम्पान्जीको अंश भएका कारण यसैले मन्कीपक्स आएको आशङ्का व्यक्त गरिएको छ। तर, वैज्ञानिकले यसका बारे पनि सबै कुरा प्रस्ट पारेका छन्। चिम्पान्जीमा मङ्कीपक्स छैन। तर, बाँदरमा हुने गरेको छ। कोरोना भ्याक्सिनमा प्रयोग हुने कुनै पनि तत्त्व मङ्कीपक्ससँग सम्बन्धित नरहेको जनाउँदै वैज्ञानिकले यसमा सचेत गराएका हुन्।
सामाजिक सञ्जालमा अर्को विषय पनि उठाइएको छ। कोभिड भ्याक्सिनले मानिसको इम्युन सिस्टमलाई कमजोर बनाउने भएका कारण अन्य सङ्क्रमणको सम्भावना बढी हुन्छ। यसै कारण अहिले मन्कीपक्स फैलिएको भन्ने खालको आशय सामाजिक सञ्जालमा प्रस्तुत हुन थालेको छ।
भ्याक्सिनले हाम्रो इम्युन सिस्टमलाई कमजोर बनाउने होइन, एउटा लक्षित सङ्क्रमणमा यो बढी सक्रिय हुने हो। भ्याक्सिनले अर्को इम्युन रेस्पोन्स भएका केही उदाहरण पक्कै छन्। जस्तो विगतमा अस्ट्रजेनका भ्याक्सिन प्रयोग गर्नेको रगत जम्ने समस्या देखिएको थियो। तर, यो र मन्कीपक्सका कुनै सम्बन्ध भने छैन।
अहिले संसारका धेरै देशले गाइडलाइन नै तयार पारेका छन्। मङ्कीपक्सका बारे गाइडलाइन तयार पार्ने सुरुवाती देश अमेरिका हो। अमेरिकाकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले तयार पारेको गाइडलाइन अनुसार कुनै गम्भीर रोगको उपचार गराइरहेका बिरामीलाई मङ्कीपक्स देखिएमा तत्काल अस्पताल जान भनिएको छ।
विभिन्न रोगका दीर्घ रोगीलाई पनि मङ्कीपक्स देखिएमा तत्काल उपचार गर्न अस्पताल जान भनिएको छ। एचआइभी भएका, रक्त क्यान्सर भएका, अन्य कुनै पनि किसिमका क्यान्सर भएका ,ट्युमरको समस्या भएका र अङ्ग प्रत्यारोपण भएकालाई धेरै सचेत हुन र बढी सावधानी अपनाउन भनिएको छ।
अटो इम्युन डिजिज लगायत अन्य धेरै स्वास्थ्य जटिलता भएकाहरूका लागि यो रोगबाट विशेष सावधानी अपनाउन तथा सङ्क्रमण भएमा तत्काल अस्पताल जान भनिएको छ। आठ वर्ष भन्दा कम उमेरमा बच्चा भएका स्थानमा यो रोगका बारे अझ बढी सावधानी अपनाउन जरुरी छ। गर्भवती वा दूध खुवाइरहेकी महिला यो रोगबाट बढी सतर्क हुन आवश्यक ठानिएको छ। मन्कीपक्स भएकामा झाडा पखाला, वान्त र निमोनियाको लक्षण देखिएमा तत्काल अस्पताल लैजान आवश्यक छ। यत्ति मात्र होइन यसका कारण शरीरका खास क्षेत्रमा खटिरा आउन पनि सक्छ। त्यसो भएमा तत्काल अस्पताल लैजान जरुरी मानिएको छ।
मङ्कीपक्सका लागि भिन्नै औषधि पत्ता नलागेको भए पनि बिफरका लागि प्रयोग गरिने ओषधि नै यसका लागि उपयुक्त मानिएको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले तिन केजी तौल पुरा भएकाका लागि टेकोभिरिम्याटलाई अनुमोदन गरेको छ। अर्को एन्टी भाइरल रिडोफोभिरलाई पनि एफडीएले अनुमति प्रदान गरेको छ। यसैगरी टेम्बेक्सा नामको अर्को एन्टी भाइरललाई पनि एफडीएलाई अनुमति दिइएको छ।
अहिले मङ्कीपक्स फैली रहेको समयमा यसैका मृत्युको खबर बाहिर आएका छैनन्। तथापि विगतको आँकडालाई आधार मान्ने हो भने मृत्यु दर भयावह नै छ। मन्कीपक्समको मृत्यु दर ५ प्रतिशत मानिएको थियो। यो फैलिएको स्ट्रेन कम घातक भएका कारण यसको मृत्यु दर १ प्रतिशत मात्र छ।
अहिले मङ्कीपक्स संसारका १६ भन्दा बढी देशमा फैलिए पनि यो बिफरकै जस्तो भएका कारण त्यसै खाले भ्याक्सिन र उपचारका कारण निदान सम्भव छ। तर, यो फैलिएपछि निश्चित मापदण्ड अपनाउन भने जरुरी छ। स्रोतः बीबीसी, डब्लुएचओ, सिडीसी, हेल्थ युसीडेभिस