अन्तर्वार्ता

‘प्रचण्डकै कारण माओवादी कमजोर भयो’

By धीरज बस्नेत

July 31, 2022

स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) अहिले उक्त गठबन्धनलाई निरन्तरता दिने तर कुन ढङ्गले दिने भन्ने आन्तरिक छलफलमा निरन्तर लागिपरेको छ। कहिले वाम गठबन्धन त कहिले  समाजवादी केन्द्र बनाउने भन्दै एमालेसँग छलफल अगाडि बढाएका विषय पनि सतहमा आएका छन् । माओवादीले समाजवादी केन्द्र किन बनाउन चाहेको छ ? वाम गठबन्धनको सम्भावना कति छ ? अगामी चुनावी गठबन्धन कस्तो बन्छ ? यी र यस्तै विषयमा माओवादी केन्द्रका प्रभावशाली नेता हरिबोल गजुरेलसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

सरकारले निर्वाचनको मिति घोषणा नगर्दासम्म आगामी मङ्सिरमा चुनाव नहुने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ, यसको सार के हो ? निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगको सुझाव लिएर सरकारले निर्णय गर्ने हो । संविधान र कानुनको आधारमा निर्वाचन हुन्छ । संविधानको दायराभन्दा बाहिर सरकार जान सक्दैन । केही समय लाग्ला तर मङ्सिरमा नै चुनाव हुन्छ भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ । हाम्रा कमजोरी हामीले नियालिरहेका छौँ । तर, हामीविरुद्ध अन्य व्यक्तिले झुटो भ्रम फैलाएका छन् । सरकारले कानुनको सीमाभित्र रहेर निर्वाचन गराउन सक्छ । केही समय ढिलो भए पनि नियमअनुसार निर्वाचन सम्पन्न गराउने हो ।

चुनावको पनि अवधि होला नि, जहिल्यै त हुँदैन होला ? समय सीमा कसरी तोक्ने भन्ने बहस भएको छ संसद्को पूर्ण कार्यकाल समाप्त हुनुपर्छ भनेर सर्वोच्चले भनेको छ, समयको प्रतिकूलता हेरेर मौसमको अवस्था हेरेर निर्वाचन मिति तय हुनसक्छ ।

समाजवादी केन्द्र निर्माणको कुरा कहाँ पुग्यो त ? समाजवादी केन्द्र निर्माण भन्ने कुरा नै गलत छ । समाजवादी केन्द्र बनाउने भनेर हामीले भनेको छैनौँ । वामपन्थी शक्ति एक ठाउँमा आउनुपर्छ भनेका छौँ । समाजवादी भनेको कम्युनिस्ट आन्दोलनभित्रको धारा हो कि बाहिरको धारा हो त त्यो त छुटाउनुपर्‍यो नि । कम्युनिष्ट आन्दोलनभन्दा बाहिरको धारामा त हामी जान सक्दैनौँ। त्यसरी एकता गर्न सकिँदैन । समाजवादी केन्द्र बनाउने भनेका छैनौँ । खाली एउटा मोर्चा बनाउने, एकता गर्ने भन्नेबारेमा छलफल मात्र भएको हो ।

समाजवादी केन्द्रका नाममा उपगठबन्धन बन्ने सम्भावना थियो, त्यो तुहिएको हो त ? बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासँग सहमति हुँदैछ भनेर  पहल भइरहेको छ । यो नै समय भनेर भन्न सकिँदैन । सहकार्य गरेर अगाडि जान सकिन्छ ।

त्यसमा कुन–कुन पार्टी सामेल हुन सक्छन् ? एकीकृत समाजवादी, वामदेव गौतम, माओवादी केन्द्र, बाबुराम भट्टराईको अझै तय भएको छैन । राष्ट्रिय जनमोर्चाको पनि फाइनल भएको छैन । ती विषयमा छानबिन भएर फाइनल भएपछि अगाडि आउँछ ।

एमालेसँग पनि सहकार्य गन्नुहुन्छ ? एमालेले आफूले गरेका गल्तीप्रति कुनै पश्चात्ताप गरेको छैन । त्यसैले एमालेसँग सहकार्य हुँदैन । एमालेसँग गठबन्धनको च्याप्टर समाप्त भइसक्यो ।

गठबन्धनको साहारा किन लिनुभएको छ, एक्लै लड्ने तागत नभएर हो ? जनयुद्ध र जनआन्दोलन फिगर सात दलसँग सहकार्य गरेको माओवादीले किन त ? त्यसपछि गणतन्त्र आयो । ४६ सालको आन्दोलनमा  पञ्चायतविरुद्ध सबैले मोर्चा बनाएर गएको हो । त्यो एउटा निश्चित उद्देश्यका लागि गरिएको हो नि । तर, बाहिर डराएर गर्‍यो भन्ने गलत अफवाह फैलिएको छ । दुईपटक भएको संसद् विघटनलाई रोक्नका लागि माओवादीले यो गरेको हो ।

एक्लाएक्लै लडे निवार्चनमा तपाईंहरुको जम्मा ८ सिट मात्र आउँछ भन्ने विश्लेषण पनि भइरहेका छन् । तपाईं के भन्नुहुन्छ ? आउँदो चुनावमा स्थानीय चुनावको हिसाबकिताब हुँदैन । आँकडाले देखाउने भन्ने त एउटा अनुमानमा आएको कुरा हो । तर, वास्तविक चुनावमा त्यस्तो हुँदैन । एक्लै लड्दा वि. सं. २०७० मा म २६ सिट जितेका थियौँ । त्यसपछि त एक्लै लडेनौँ । संविधान कार्यान्वयन गर्ने कुरामा एमालेको नेतृत्वमा असम्भव भएपछि उहाँहरूले हामीलाई छोड्दिनुहोस् हामी संविधान कार्यान्वयन गर्छौँ । कांग्रेसलाई सहमति गराउछौँ भनेर उहाँहरूले छोड्छौँ भनेर नछोडेपछि स्थानीय तहको चुनाव गराउनुपर्‍यो। सङ्घ र प्रदेशको चुनाव गराउनुपर्‍यो । त्यसैले त्यो कार्यभार पूरा गर्नका लागि कांग्रेससँग  सहकार्य गर्नुपर्‍यो । त्यसपछि कम्युनिष्टलाई एकता गराउनुपर्छ भनेर लागिपर्‍यौँ ।

आफ्नो सङ्गठन बलियो बनाउनेभन्दा पनि अरू दलको सहारा खोज्ने प्रवृत्ति माओवादीमा मौलाउँदै गयो भन्ने आरोप छ नि ? माओवादीले नीतिका आधारमा हेरेको छ कि, फाइदालाई हेरेको छ भन्ने थाहा पाउनुपर्‍यो  नि । माओवादीले मूल नीतिमा रहेर फाइदा हेर्ने हो । नीतिभन्दा बाहिर गएर फाइदा हेरेको छैन । आफूमा भएका कमी कमजोरी हामीले सबै स्वीकारेका छौँ । हाम्रा कमी कमजोरीका कारण हामी केही कमजोर देखिएका पक्कै हौँ । हामीलाई अरुले कमजोर बनाएको होइन । कमजोरीले नै गर्दा जनताले भोट नदिएको कुरा स्वीकारेका छौँ । कम्प्रमाइज गरेर अगाडि बढ्यौँ । त्यसले नीति र विधिको विकास गर्न सकेन । अध्यक्षले आँट नगर्दा पार्टी कमजोर हुँदै गएको चाहिँ हो । प्रस्तुति : पुष्पाञ्जली बस्नेत