खेलकुद

सेलाएको फुटबल सरुवा बजारमा तातेका रोनाल्डो

By एसेन्स श्रेष्ठ

August 31, 2022

काठमाडौँ : विश्व फुटबलको सरुवा बजार यसपटक निकै उतारचढावमा रह्यो । यो उतारचढावबीच थुप्रै स्टार र सुपरस्टार खेलाडीको सरुवाले बजार तात्यो । तर एउटा नाम भने अझै सरुवा बजारमा चर्चामा छ । जुन नाम हो, क्रिष्टियानो रोनाल्डो ।

सेप्टेम्बर १ मा ट्रान्सफर मार्केट बन्द हुँदैछ । अब सम्भावित खेलाडीहरुलाई आफ्नो टोलीमा आबद्ध गराउन वा आफ्नो टोलीबाट बिदा गर्न मात्र २४ घण्टाको समय बाँकी छ ।

इङ्लिश प्रिमियर लिगमा आगमी २४ घण्टामा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छ भने अत्याधिक समर्थकहरुको चासोको विषय बनेको छ ।

यसैगरी घडीको टिकटिकसँगै क्रिस्टियानो रोनाल्डोको लिगको आगामी दिनहरु कस्तो हुन्छ ? र कुन क्लबसँग हुनेछ भन्ने पनि चर्चाको विषय बनेको छ ।

नापोलीको प्रयास रोनाल्डोका म्यानेजर जर्ज मेन्डेसले रोनाल्डोलाई बायर्न म्युनिख, चेल्सी र एट्लेटिको म्याड्रिडमा ट्रान्सफर गराउन विफल भएका थिए ।

यसपश्चात थुप्रै यूरोपबाहिरका क्लबहरुले राम्रो रकमका साथ रोनाल्डोलाई आबद्ध गर्ने प्रस्ताव आएको पनि खबर आएको थियो । तर, विश्वकप फुटबलको मुखमा रोनाल्डोको चाहना यूरोपियन क्लबमा नै खेलेर फर्म हुने रहेको कुरा बाहिरिएको थियोे । विश्वकपमा राम्रो प्रदर्शनको लागि रोनाल्डोको सो निर्णय भएको हुनु पर्दछ ।

कुन क्लबले रोनाल्डोलाई आबद्ध गर्छन ? भन्ने प्रश्न उठिरहँदा नापोलीले रोनाल्डोलाई आबद्ध गर्ने कुरा चर्चामा आइरहेको छ । इटालियन क्लब नापोलीले पूर्ण रुपमा नै रोनाल्डोलाई आफ्नो टोलीमा आबद्ध गर्ने कुरा बाहिरिएको छ ।

२ पटक सिरि ए, ६ पटक कोप्पा इटालिया, २ पटक सुपरकोप्पा इटालियाना र १ यूईएफए कपको उपाधी जितिसकेको नापोलीलाई रोनाल्डो सहि लगानी बन्न सक्ने सम्भावना रहेको छ ।

तर, सन् २०२१–२०२२ को सिजनमा म्यान्चेष्टर युनाईटेडका लागि २० खेलमा १४ गोल गर्न सफल रोनाल्डोले यस सिजनको ४ खेल गोलरहित बिताइरहेका छन् । यस्तोमा रोनाल्डोको सरुवा बजारले धेरै शंका, उपशंका र आशयहरु जन्माएको छ ।

यूनाइटेड छोड्न रोनाल्डो आतुर सन् २०२१ को सिजनमा म्यान्चेष्टर यूनाईटेड च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो । यो परिणाम रोनाल्डोको लागि भने पक्कै पनि अस्वीकार्य नै थियो । यससँगै रोनाल्डो युनाईटेडबाट टाढिने चर्चा व्यापक हुन थाल्यो ।

साथै यूनाईटेड प्रिमियर लिगको उत्कृष्ट ४ मा पर्न असफल भएका कारण रोनाल्डोलगायत अन्य खेलाडीको तलबमा पनि २५ प्रतिशत कटौती गरेको थियो । हार जितलाई खेलको नतिजाको रुपमा नलिई खेलाडीलाई हतोत्साहित बनाउने कार्य भएको रोनाल्डोले महसुस गरेको देखिन्छ ।

यस्तै ट्रान्सफर मार्केटमा यूनाईटेडको कमजोर प्रस्तुति पनि रोनाल्डोलाई चित्त नबुझेको देखिन्छ ।

यूनाईटेडको दोस्रो कालमा रोनाल्डोको प्रदर्शन रोनाल्डोलाई स्टार खेलाडी बनाउनमा यूनाईटेडको पहिलो कार्यकालले निकै महत्वपूर्ण भूमिका खेलेको थियो । यसमा दुई मत छैन ।

११ वर्षपश्चातको रोनाल्डोलाई हेर्दा उनको क्षमता र अनुभवसँगसँगै उमेर पनि वृद्धि भएको छ । ३७ वर्षीय रोनाल्डोले भने आफ्नो उमेरले खेलको प्रदर्शनमा असर नपरेको दाबी गर्दै आएका छन् । उमेरको विषय उठ्दा उनले सार्वजनिक रुपमा पनि आक्रोश पोख्दै आएको पनि सबै जना अवगत छन् ।

यद्यपि, ११ वर्षपश्चातको यूनाईटेडको कार्यकालमा भने रोनाल्डो एक स्थापित खेलाडीका रुपमा भित्रिए । रियल म्याड्रिड,युभेन्ट्स जस्ता क्लबमा आफ्नो क्षमता पुष्टि गरिसकेका रोनाल्डोले कसैलाई प्रदर्शनले पुष्टि गराउन नपर्ने वातवरण सृजना भईसकेको पनि दखिन्छ ।

यस्तै, यूनाईटेडको सुरुवाती कार्यकालमा रोनाल्डोलाई आफुलाई स्थापित गर्न जुन उर्जा देखिन्थ्यो । त्यो उर्जा दोस्रो कार्यकालमा आउँदा भने धेरै हदसम्म घटेको पनि धेरैको टिपणी रहेको छ ।

प्रिमियर लिगमा रोनाल्डोको वर्तमान यस वर्षको लिगको सुरुवात यूनाईटेडको लागि दुःखद बन्यो । ब्राइटन एण्ड होभ अल्बियनविरुद्धको खेलमा २–१ गोलले पराजित भएसँगै माहोल निराशाजनक बन्यो ।

ब्रेन्टफोर्डविरुद्धको दोस्रो खेलको पहिलो हाफमा नै यूनाईटेडले व्यहोरेको ४–० गोल क्षति लजास्पद साबित भयो ।

रेड डेभिल्स्का स्टार खेलाडी सीआर सेभेन चम्कन त परै जाओस् गोल हान्न पनि असमर्थ रहे । यससँगै रोनाल्डोको टोलीका अन्य खेलाडीसँग मेलमिलाप कम भएको खबर पनि बाहिरियो ।

सो खेलपश्चात प्रशिक्षक एरिक टेन ह्यागले पनि यूनाईटेडबाट रोनाल्डोको ट्रान्सफर खुल्ला रहेको आशय व्यक्त गरे । तर, क्लबले रोनाल्डोसहितको प्रशिक्षण भिडियो सार्वजनिक गर्दै माहोल ठिक भएको देखाउन पनि खोजेको थियो ।

रोनाल्डो र प्रशिक्षक ह्यागको सम्बन्ध चिसिसेकेको हल्ला चल्दैँ गर्दा लिभरपुलविरुद्धको खेल नजिकियो । यूनाईटेडले लगातार ३ खेलमा पराजित हुने सम्भावना धेरै खेल पण्डितले प्रकट गरेका थिए ।

सो सम्भावनालाई गलत साबित गर्न प्रशिक्षक ह्याग सफल भए । उनले रोनाल्डोलाई प्लेलिङ ११ मा समावेश नगरी लिभरपुलविरुद्धको टोलीलाई मैदान प्रवेश गराएका थिए ।

सो खेलमा यूनाईटेडको लिगमा पुर्नागमन भयो । २–१ ले लिभरपुललाई पराजित गर्दै यूनाईटेडले रोनाल्डो बिना नै लिगमा जितको खाता खोले । यसले रोनाल्डो बिना नै यूनाइटेड बलियो भएको सानो झलक देखायो ।

साथै जितलाई निरन्तरता दिन सोहि टोलीको साथ ह्यागले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्ने सम्भावना देखियो । यूनाईटेडले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको थियो ।

दोस्रो हाफमा यूनाईटेडको पक्कड बलियो हुँदा र अग्रता कायम नै रहँदा प्रशिक्षक ह्यागले रणनीतिमा परिवर्तन ल्याए । करिब २२ मिनेट बाँकी हुँदा ह्यागले रोनाल्डोलाई मैदानमा प्रवेश गराएका थिए ।

रोनाल्डोको प्रवेशसँगै साउथह्याम्पटनको रणनीति दबाबमा आएको देखियो । साथै सोहि दबाबलाई बढाउन ह्यागले क्यासमिरोलाई पनि यूनाईटेडको लागि डेब्यु गराए । खेलमा अर्को गोल हुन सकेन ।

यसले ह्यागले प्रतिस्पर्धी टोलीलाई कसरी आश्चर्यमा पार्न सक्छन् भन्ने एउटा उदाहरण पनि दिएको थियो । ह्यागले टोलीसँग थप प्रयोग गर्न बाँकी भएको पनि बुझ्न सकिन्छ ।

लेस्टर सिटीविरुद्धको पाँचौँ खेलमा भने ह्याग, रोनाल्डो र अन्य खेलाडीको तालमेल कतिको फलदायी हुन्छ, त्यो भने हेर्न बाँकी नै रहेको छ । तर टोलीमा रोनाल्डोको भूमिका कस्तो हुन्छ, त्यो सारा फूटबल जगतले नियालिरहेको साँचो हो ।

यद्यपि, भरपर्दो गोलकर्ताको छवि भएको रोनाल्डोको गालरहित खेलहरुले भने पक्कै पनि प्रश्न उठाएको छ । रोनाल्डोको प्रि–सिजन टुरमा भएको अनुपस्थिति र उनको प्रशिक्षण शैलीमा आवश्यक परिवर्तनको अभावले पो उनको गोलको खडेरी भएको हो की जस्तो पनि महशुश हुन्छ ।

रोनाल्डाको आगामी गोल इङ्लिश प्रिमियर लिगमा हुन्छ कि नापोलीसँगको आबद्धतापश्चात च्याम्पियन्स लिगमा हुन्छ, भन्ने अर्को प्रश्नको विषय बनेको छ । वा प्रशिक्षक ह्यागले यूनाइटेडमा नै रोनाल्डोको लागि ठाँउ बचाउँनेछन् ।

तर जे हुन्छ, रोनाल्डोको क्षमता, च्याम्पियन्स लिगमा कीर्तिमान थपिरहने उनको चाहना र विश्व बजारको मूल्यले देखाउनेछ ।