देश/प्रदेश

ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

By खबरहब

August 31, 2022

सुदूरपश्चिम- ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुन थालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुगेर भजन कीर्तनमा रमाइरहन्छन् । सेवा केन्द्रमा आयोजना हुने भजन कीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उनीसहितका वृद्ध वृद्धा पुग्छन्।

उनले भने, “दैनिक दिवा सेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गरेका उनका घरमा छोराबुहारी, नातिनातिना छन्।

 त्रियासी वर्षीय भूमि नन्दन जोशी पनि दिउँसोको समयमा दिवा सेवा केन्द्रमा पुग्छन्। “भजन कीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उनले भने, “आफ्नो दिनको सहरा नै यो सेवा केन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवा केन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउँछन् ।

उनले भने, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवा सेवा केन्द्रमा दैनिक कम्तीमा आठ/दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजन कीर्तनका गीत गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ ।

त्यस क्रममा उनीहरूले जीवनमा भोगेका सुख दुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्छन्। धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ ।

सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहनुभएकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताए। उनले भने, “खाजा चियाको व्यवस्थासँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरूलाई राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ ।

वयस्क उमेरमा जस्तो बुढेसकालमा खाने, लाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र सहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्ध वृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको समय बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाको योजना बनेको थियो ।

“महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा रु दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्‍यौ”, केन्द्रका संरक्षकसमेत रहेका श्रेष्ठले भने, “पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।”

दुई तले दिवा सेवा केन्द्र भवनको पहिलो तल्लामा भजन कीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रो तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताए।

ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्व अध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रदर्शक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवा सेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पुर्‍याइरहेको बताए।

उनले भने, “घरमा छोराबुहारी, नातिनातिना, छाडेर एकान्त ठाउँ (वृद्धाश्रम) मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुने गरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।” उक्त केन्द्रले वृद्धवृद्धालाई पटक पटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।