फाइल तस्वीर

अन्य

कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु

By खबरहब

August 31, 2022

काठमाडौँ- कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीय गिता शाही रहेकी छिन् ।

निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको लक्षण देखिएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा मंगलबार मृत्यु भए पनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

साउन महिनायता कैलालीसहित देशभरका ७० जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गते यता कैलालीको लम्की चुहा नगरपालिकामामात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ । गत वर्ष पनि कैलालीको लम्की चुहामा एक सय ३३ जना डेंगुका बिरामी देखापरेका थिए । खासगरी असारदेखि असोजसम्म डेंगुका बिरामी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । धामीले भने, ‘परीक्षण गर्न किट महँगो छ, हामीसँग किटको अभाव भएकाले परीक्षणको दायरा बढाउन सकेका छैनौँ, माथिल्लो निकायमा पत्राचार गरेका छौँ ।’