क्रिकेट

रोमाञ्चक बन्यो टी-ट्वान्टी विश्वकप क्रिकेट

By खबरहब

October 31, 2022

काठमाडौँ – अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट वर्षाका कारण रोमाञ्चक बनिरहेको छ। बलिया टोलीको खेलको दिन लगातार पानी पर्दा जित्नैपर्ने टोलीलाई अंक बाड्न बाध्य बनाएको छ। गएको साता त्यही भयो। ग्रुप १ का बलिया टोली इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल वर्षाले रद्द भयो। दुवै टोली अंक बाँड्न बाध्य भए।

जसले गर्दा घरेलु टोली अस्ट्रेलियालाई ठूलो सकस परेको छ। उसलाई सेमिफाइनल समीकरण बनाउन अबका सबै खेल जित्नैपर्छ। तर त्यतिले मात्रै हुँदैन, आफ्नो रनरेट सुधार्नुका साथै अरु खेलको नतिजा पनि कुर्नुपर्ने हुनेछ।

उद्घाटन खेलमै न्युजिल्याण्डसँग हारेपछि अस्ट्रेलियाको खराब फर्म देखिएको हो। यद्यपि उसले दोस्रो खेलमा श्रीलंकालाई हरायो। अनि तेस्रो खेलमा इंग्ल्याण्डसँग वर्षाका कारण अंक बाँड्न बाध्य भयो। यही अवस्था इंग्ल्याण्डको पनि छ।

अब आयरल्याण्ड र अफगानिस्तानसँगका दुवै खेल अष्ट्रेलियाले जित्नैपर्छ। त्यतिले मात्रै पुग्दैन, इंग्ल्याण्डले पनि बाँकी रहेका दुई खेलमध्ये कुनै एक हार्नुपर्छ। न्युजिल्याण्डसँगको खेलले इंग्ल्याण्डको भाग्य तय गर्नेछ।

सुरुदेखि राम्रो प्रदर्शन गरिरहेको न्युजिल्याण्ड ५ अंकसहित शीर्ष स्थानमा छ। उसले दुई जित हात पार्दा १ खेल वर्षाका कारण खेल्न नपाई अंक बाडेको छ। सेमिफाइनल पुग्ने न्युजिल्याण्डको सम्भावना बलियो बन्दा इंग्ल्याण्ड, अस्ट्रेलिया र आयरल्याण्डको समान तीन अंक छ। रनरेट इंग्ल्याण्डको राम्रो छ।

आयरल्याण्डले वर्षाकै कारण इंग्ल्याण्डलाई पहिलोपटक हराएको थियो। यसले इंग्ल्याण्डलाई सहजै सेमिफाइनल पुग्न पनि बञ्चित गरेको छ। अब न्युजिल्याण्डबाहेक सेमिफाइनल पुग्न अस्ट्रेलिया, इंग्ल्याण्डले धेरै ठूलो संघर्ष गर्नुपर्नेछ।

कुनै एउटा सानो गल्ती हुँदा र वर्षा बाधक बन्दा पनि दुवै टिम सेमिफाइनलबाट बाहिरिन सक्छन्। त्यसमा पनि गएको विश्वकप विजेता अष्ट्रेलियाकै घरेलु मैदानमा भइरहेको विश्वकपमा समूहचरणबाटै बाहिरिने सम्भावना बढ्दो छ। कमजोर रनरेट र बाँकी रहेका तीन खेलमा पनि अस्ट्रेलियाको नतिजा एकनास हुन सक्ने छैन।

अब आयरल्याण्ड र अफगानिस्तानसँगका दुवै खेल अष्ट्रेलियाले जित्नैपर्छ। त्यतिले मात्रै पुग्दैन, इंग्ल्याण्डले पनि बाँकी रहेका दुई खेलमध्ये कुनै एक हार्नुपर्छ। न्युजिल्याण्डसँगको खेलले इंग्ल्याण्डको भाग्य तय गर्नेछ।

जसरी बलियो मानिएको पाकिस्तानले सुरुमा भारतपछि जिम्बाबेसँग पनि खेल हार्‍यो, त्यसरी नै सेमिफाइनल समीकरण बन्दा कुन टिम बाहिरिन्छ ? कुन टिम शीर्ष चारमा प्रवेश गरेको गर्छ ? यसै भन्न सकिन्न।

यता ग्रुप २ पनि रोचक छ। तर भारत र दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनिसकेको छ। आइतबार दक्षिण अफ्रिकाले भारतलाई हरायो। अफ्रिकी टिमले कमाल गर्दा भारतीय टिमले पहिला ब्याटिङ गर्दा १३३ रन मात्रै बनाउन सकेको थियो। भारतीय बलरले अफ्रिकी ब्याटरलाई सुरुमा कमजोर पारेका थिए। तर डेभिड मिलरको फिनिशिङले भारतको हार टार्न सकेन। अन्ततः भारतलाई पछि पार्दै ५ अंकसहित दक्षिण अफ्रिकी ग्रुप २ को शीर्ष स्थानमा छ।

यदि भारतले दक्षिण अफ्रिकालाई हराएको भए पाकिस्तानको सम्भावना रहन्थ्यो। तर अब भारतले बाँकी खेल जितेपछि र दक्षिण अफ्रिकाले एउटै खेल जितेमा पनि दुवै टिम सेमिफाइनल पुग्नेछन्। दुवै समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्ने नियम छ।

यस्तो अवस्थामा बलिया टोली मानिएका अस्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, भारत र दक्षिण अफ्रिकामध्ये कसले विश्वकप ट्रफी उचाल्छ ? अनुमान गर्नै सकस छ। पाकिस्तान, इंग्ल्याण्ड वा अस्ट्रेलियामध्ये कुन टिम सेमिफाइनल पुग्छ भन्ने नै यकिन छैन। यद्यपि अहिले बलियो सम्भावना भएका न्युजिल्याण्ड, भारत र दक्षिण अफ्रिकाको सम्भावना पनि एकनास नरहन सक्छ।

जसरी बलियो मानिएको पाकिस्तानले सुरुमा भारतपछि जिम्बाबेसँग पनि खेल हार्‍यो, त्यसरी नै सेमिफाइनल समीकरण बन्दा कुन टिम बाहिरिन्छ ? कुन टिम शीर्ष चारमा प्रवेश गरेको गर्छ ? यसै भन्न सकिन्न।

त्यसमाथि यो समय अस्ट्रेलियामा परिरहेको पानीले गर्दा खेलको रोमाञ्चकता मात्रै थपेको छैन, रौनक केही हराएको पनि छ। यद्यपि यस्तो चुनौतीपूर्ण समयमा सेमिफाइनल पुग्दै कुन देशले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचाल्छ ? अहिल्यै अनुमान गर्न हतार हुन्छ।