फाइल फोटो

देश/प्रदेश

कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध

By खबरहब

January 01, 2023

उदयपुर – कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् ।

यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको भन्दै फेरि फोहोर फाल्न रोक लगाएका हुन् । यसअघि १९ मङ्सिरमा फोहर फाल्ने ठाउँ अन्यत्र सार्न माग गर्दै नगरपालिकामा स्थानीयवासीले ज्ञापनपत्र बुझाएका थिए ।

राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारीले भने, “ज्ञापनपत्रमा पुस १ गतेदेखि फोहर फाल्न नदिने अल्टिमेटम दिइएको थियो ।” पुस १ गतेको अवरोधपछि भएको वार्तामा १५ दिनभित्र अन्यत्र स्थान खोज्ने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनमा नआएको भन्दै फोहर फाल्न रोक लगाइएको स्थानीय देव ढुङ्गेलले बताए ।