समाचार

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

By खबरहब

February 01, 2023

काठमाडौँ– महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले विमोचन गर्ने भएका छन् । 

 विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोकाअघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । 

कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारीका काम सुरु गरिसकेको जनाइएको छ ।