अन्तर्राष्ट्रिय

तीव्र राजनीतिक दबाबमा रहेका प्रधानमन्त्री सुनकले बेलायती अर्थतन्त्र सुधार्न सक्लान् ?

By हिमाल कोइराला

March 01, 2023

पछिल्लो समय बेलायतको अर्थतन्त्रमा अपेक्षाअनुसार सुधार हुन सकेको छैन । युरोपेली युनियन ईयूबाट अकस्मात् बाहिरिएसँगै लय गुमाएको बेलायती अर्थतन्त्रलाई कोरोना महामारी र हाल आएर युक्रेनमा जारी रुसी आक्रमणले थप तहसनहस बनाएको छ ।

गत वर्षको अन्त्यतिर बेलायतको अर्थतन्त्र मन्दीको अवस्थाबाट बालबाल बचेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ओएनएसले उल्लेख गरेको छ । यद्यपि सन् २०२३ मा बेलायतको अर्थतन्त्रमा वृद्धि नभई सङ्कुचन हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष सन् २०२३ मा बेलायतको अर्थतन्त्र रुसी अर्थतन्त्रभन्दा सुस्त हुने अनुमान गरेको छ ।

बीबीसीका अनुसार यस वर्ष बेलायती अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशतले सङ्कुचन हुने अपेक्षा गरिएको छ । यता युक्रेन आक्रमणपछि पश्चिमा मुलुकको चौतर्फी नाकाबन्दीको सामना गरिरहेको रुसी अर्थतन्त्रमा शून्य दशमलव ३ प्रतिशतको वृद्धि हुने आईएमएफको प्रक्षेपण छ ।

पछिल्ला केही वर्षयता बेलायती अर्थतन्त्रमा एकपछि अर्को धक्का लाग्दै आएको छ । ईयूबाट बाहिरिएसँगै ईयूसँग बेलायतको व्यापारिक सम्बन्ध टुट्न पुग्यो । बेलायतलले कूल व्यापारको आधा व्यापार ईयूसँग मात्रै गर्दै आएको छ ।

ईयूबाट बाहिरिएसँगै बेलायतले भन्सार, सुरक्षा, गुणस्तर, पारवहनजस्ता सुविधा पनि गुमायो । त्यसपछि कोरोना भाइरसको महामारीका कारण विश्वभरका अन्य अर्थतन्त्रजस्तै बेलायती अर्थतन्त्र पनि सुस्ताउन पुग्यो । विश्व बैंकको तथ्याङ्क अनुसार महामारीबीच सन् २०२० मा बेलायतको अर्थतन्त्र ११ प्रतिशतले सङ्कुचित भयो ।

गत वर्षको फेब्रुअरी महिनामा रुसले युक्रेनमा थालेको आक्रमणसँगै विश्व अर्थतन्त्रमा फेरि अर्को धक्का लाग्यो । त्यसपछि पूर्वप्रधानमन्त्री लिज ट्रसले गत वर्षको सेप्टेम्बर महिनामा धनाढ्यलाई कर छुट दिएर अर्थतन्त्र उकास्ने नीति ल्याएपछि बेलायती अर्थतन्त्रप्रति लगानीकर्ताले विश्वास गुमाए ।

बेलायती मुद्रा पाउण्डको मूल्यमा पनि भारी गिरावट आयो । सन् २०२२ को अक्टोबर महिनामा बेलायतमा मुद्रास्फीति दर ४१ वर्षकै उच्च ११ दशमलव १ प्रतिशत हुन पुग्यो ।

यसरी अर्थतन्त्रमा एकपछि अर्को धक्का लाग्दै जाँदा आम बेलायतीहरूको जनजीवन अस्तव्यस्त र जीवनस्तर नै खस्किन पुग्यो । विश्व बजारमा ऊर्जाको मूल्य उच्च हुँदा त्यसले पारेको असर सामान्य बेलायतीले पनि महसुस गर्न थाले ।

फलस्वरूप ट्रेड युनियन आन्दोलनको लामो एवम् गर्विलो इतिहास रहेको बेलायतमा शिक्षा, रेल, स्वास्थ्य, हवाईजहाज, अग्निनियन्त्रण लगायत सेवाका कर्मचारी हडतालमा उत्रन समेत बाध्य हुँदै आएका छन् । यसबाहेक पछिल्लो समय न्यून आयस्तर भएका मानिसहरूलाई खाना खुवाउन स्थापना गरिएका फुडब्यांकमा मानिसहरूको चाप बढ्न थालेको बेलायती सञ्चारमाध्यमले बताउने गरेका छन् ।

अर्कोतर्फ बेलायती अर्थतन्त्रको खराब अवस्थाबीच आम बेलायती जनतामाझ वर्तमान सत्तारुढ राजनीतिक दलप्रति उच्च अविश्वास रहेको देखिएको छ । गत साता यूगभले गरेको सर्वेक्षणमा सत्तारुढ कन्जरभेटिभ पार्टीले २२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी लेबर पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ ।

विभिन्न राजनीतिक विवादले गाँजिएको बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीमाथि तीव्र दबाब उत्पन्न भएको छ । कोरोना महामारीका बेला प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा भोज आयोजना गरेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री बोरिस जोन्सनले सन् २०२२ को सेप्टेम्बर महिनामा राजीनामा दिन बाध्य भए ।

जोन्सनपछि प्रधानमन्त्री बनेकी लिज ट्रस १० डाउनिङ स्ट्रिटमा केबल ४९ दिनमात्र टिक्न सकिन् । त्यसपछि गत वर्षको अक्टोबर महिनामा प्रधानमन्त्री बनेका ऋषि सुनकमाथि अर्थतन्त्रलाई उकास्न तीव्र दबाब रहँदै आएको छ । यस्तो दबाबबीच सुनकले बेलायतलाई कता लैजान्छन्, त्यो हेर्न बाँकी छ ।