देश/प्रदेश

उपमहानगरद्वारा आरनका आधुनिक साधन वितरण

By खबरहब

March 01, 2023

लुम्बिनी– बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ । 

आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो ।

उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका साधन हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा नगरप्रमुख पाण्डेयले परम्परागतरूपमा आरन चलाएर जीविका चलाउँदै आएका व्यवसायीको पेसालाई निरन्तरता दिँदै स्वरोजगार बन्न मद्दत गरेको बताए। उनले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए।

 बुटवल उपमहानगरपालिकाका आन्तरिक स्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकालाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरिएको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए।