फाइल फोटो

राजनीति

आठ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय 

By खबरहब

March 01, 2023

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

वडा, क्षेत्र, प्रदेशका साथै सबै जनवर्गीय संगठनको अधिवेशन आगामी जेठभित्र सम्पन्न गरी निर्धारित समयमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको बैठकले संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग, संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।