फाइल तस्वीर

ट्राभल

पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मन्त्री किराती

By खबरहब

March 01, 2023

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किरातीले देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएकाले सरकार योजनाबद्ध तवरले अगाडि बढेको बताए ।

“हवाई सुरक्षाका लागि प्राविधिक जाँच र फेरबदलसम्मका विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरिसकिएको छ”, उनले भने, “हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ ।”

मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै नेपाल वायुसेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने दाबी गरे । उनले नेपालगञ्ज विमानस्थलमा रु तीन अर्ब बढीको लगानीमा अत्याधुनिक टर्मिनल भवन निर्माण सुरु गरेको बताए ।