राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

ब्रेकिङ स्टोरी

स्वास्थ्यमा सुधार भएपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

By खबरहब

May 01, 2023

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आइतबार राति नेपाल फर्किएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुगेका राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई उपचाररत रहनु भएकोमा अस्पतालबाट डिस्चार्ज भई आज नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता हुनुभयो ।’

उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गते भारत गएका हुन्। उनको भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको हो।

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ।