आज जेठ १८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून १, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते
पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोर मैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ ।
मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना माई (४०), बिलाल (३८), इकबाल (३०), शानो माई (२८) र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।
घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपि विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र
फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ ।
बिहीबार सम्प्रेषित स्थानीय समाचार अनुसार लुटपाट, पकेटिङ र अन्य अपराधमा वृद्धि भएकोमा सर्वसाधारणले चिन्ता व्यक्त गरेपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको हो ।
अपराधहरू प्रायः अवसरवादीहरूद्वारा गरिने र कुनै इलाका विशेषलाई केन्द्रित गर्ने प्रहरीको बुझाइ छ । प्रहरीले सुरक्षा सुनिश्चित गर्न सडकमा गस्ती गर्न स्निफर कुकुरहरू समेत प्रयोग गर्ने बताइएको छ ।
राजधानी सुभामा १५ जनाको प्रहरी टोली जति बेला पनि गस्तीमा रहने र सुरक्षा कडा पारिने बताइएको छ ।
श्रीलङ्कामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौती
सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटमा फसेको श्रीलङ्काले बिहीबार तीन वर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ ।
श्रीलङ्काको केन्द्रीय बैङ्कले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत बिन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्याङ्कले देखाएको छ । गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति करिब १० प्रतिशतले घटेको देखिएको छ ।
मौद्रिक बोर्डले मुद्रास्फीतिको कमी प्रक्षेपण गरेभन्दा छिटो कम भएकाले मौद्रिक अवस्थालाई सहज बनाउने निर्णयमा पुगेको जनाएको छ ।
जुलाई २०२० मा दरहरू एक प्रतिशत बिन्दुले घटाइएपछि यो पहिलो कटौती हो ।
आर्थिक सङ्कट बढ्दै गएपछि केन्द्रीय बैङ्कले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गत वर्षको अप्रिलमा सात प्रतिशत बिन्दुले वृद्धि गरेको थियो ।
आर्थिक रूपमा धराशायी बनेको एशियाली राष्ट्रले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक सङ्कटका कारण ऋणभार चुलिएको थियो ।
केन्द्रीय बैङ्कले गत वर्ष ७.८ प्रतिशतको आर्थिक सङ्कुचनपछि हाल अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको जनाएको छ ।
श्रीलङ्कामा अति आवश्यक वस्तुहरूको लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो ।
यसै मुद्दाका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई महिनौँ लामो विरोध प्रदर्शनपछि गत जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य पारिएको थियो ।
केन्द्रीय बैङ्कले अर्थतन्त्रको पछिल्लो समीक्षामा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति एकल आँकडामा झर्ने अनुमान गरिएको जनाएको छ । यो सेप्टेम्बरमा ६९.८ प्रतिशतमा पुगेको थियो र खाद्य मुद्रास्फीति लगभग १०० प्रतिशत पुगेको थियो ।
इरानमा २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड
इरानले यस वर्ष ३०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो वर्ष मृत्युदण्डको सजाय पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ ।
नर्वेस्थित इरान मानवअधिकार (आईएचआर) का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो ।
मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो । इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो ।
गत सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन नेतृत्वले कदम चालिरहेका बेला इरानले जनतामा डर पैदा गर्न मृत्युदण्डको दायरा बढाएको अभियानकर्मीले आरोप लगाएका छन् ।
विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा सात जनालाई फाँसी दिइएको छ तर अधिकारकर्मीले विशेष गरी लागूपदार्थ र हत्याको अभियोगको आधारमा, जातीय अल्पसङ्ख्यकलाई असमानरूपमा लक्षित गरिएको र कम जटिल प्रकृतिका मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको बताएका छन् ।
आईएचआरका निर्देशक महमुद अमिरी–मोगद्दामका अनुसार, ‘इस्लामिक गणतन्त्रले स्वेच्छाचारीरूपमा मृत्युदण्ड दिनुको उद्देश्य विरोध प्रदर्शन रोक्न र यसको शासन लम्ब्याउन सामाजिक डर फैलाउनु हो ।’
‘यदि अन्तर्राष्ट्रिय समुदायले मृत्युदण्डको वर्तमान लहरप्रति कडा प्रतिक्रिया देखाएन भने आगामी महिनामा सयौँ मानिस इरानी सत्ताधारी समूहको अत्याचारको सिकार हुनेछन् ।’
यस वर्ष फाँसी दिइएकामध्ये ५९ प्रतिशत अर्थात् १८० जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको बताइएको छ ।
मे महिनामा मृत्युदण्ड दिइएकामध्ये २० प्रतिशतभन्दा बढी अर्थात् ३० जना देशको दक्षिणपूर्वमा बसोबास गर्ने सुन्नी बलुच अल्पसङ्ख्यक समुदायका थिए ।
महिलाका लागि इरानको पहिरन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शन पछिल्ला महिनामा केही हदसम्म कम भएको छ तर अझै पनि छिटपुट रूपमा जारी छ ।
इरानले गत मे महिनाको सुरुमा प्रदर्शनसँग सम्बन्धित मुद्दामा थप तीन जनालाई फाँसी दिएको थियो । यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो ।
उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा
कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ।
न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन्। यद्यपि देशका शीर्ष नेता सी चिनफिङले युवाहरूलाई आफू सामान्य काम गरिरहेको छु वा ग्रामीण इलाकामा जाँदैछु भन्ने सोच्न छोड्न आग्रह गरेका छन्।
“युवाहरूले ‘कठिन समयसँग जुध्न’ सिक्नुपर्छ,” सीले भने। द न्युयोर्क टाइम्सका अनुसार अब सरकारले उनीहरूलाई कठिनाइहरू सहन भनिरहेको छ। गत वर्षको जुनमा स्नातकोत्तर गरेकी ग्लोरिया ली जागिर पाउन भौतारिरहेकी थिइन्। लीले भने, “हामीलाई तिक्ततासँग जुध्नु भनेको छलजस्तै हो, हामी बिनाशर्त आफूलाई समर्पित गर्नेछौं र उनीहरू आफैले गर्न नचाहेको काम गर्नेछौं तर रोजगारीको सहज सुनिश्चतता हुनुपर्छ।”
न्युयोर्क टाइम्सका अनुसार मे महिनामा युवा दिवससम्बन्धी आधिकारिक पिपुल्स डेलीको पहिलो पृष्ठको लेखमा सीलाई उद्धृत गर्दै भनिएको छ, “जीवनमा सफलताका अनगिन्ती उदाहरणहरूले के देखाउँछ भने युवावस्थामा कटुता व्यहोर्नु भनेको इनाम पनि प्राप्त गर्नु हो।” उक्त लेखमा सीले युवाहरूबाट गरेको अपेक्षाबारे चर्चा गरिएको थियो।
सांस्कृतिक क्रान्तिको दौडान ग्रामीण इलाकामा काम गरेको आफ्नो अनुभव प्रयोग गर्दै राष्ट्रपति सीले युवाहरूलाई ‘आफैले भोगेका कष्टहरू खोज्न’ बारम्बार आग्रह गरेका छन्। एक स्वतन्त्र राजनीतिक टिप्पणीकार काई शेन्कुनले एक ट्वीटर पोस्टमा लेखेका छन्, “युवाहरूले शान्तिपूर्ण र स्थिर जीवन त्यागेर दुःख भोग्नुपरोस् भन्ने उहाँ किन चाहनुहुन्छ?” यस वर्ष उच्च एक करोड १६ लाख स्नातकहरू राष्ट्रिय जनशक्तिका लागि तयार भएका छन् तर पाँच मध्ये एक युवा बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।
न्युयोर्क टाइम्सका अनुसार चीनको नेतृत्वले बढ्दो समृद्धिको बीचमा हुर्केको पुस्तालाई फरक वास्तविकता स्वीकार्न तयार गराउने अपेक्षा गरेको छ। युवा बेरोजगारी दर चिनियाँ कम्युनिस्ट पार्टीले गम्भीरताका साथ लिएको तथ्याङ्क हो किनभने निष्क्रिय युवाहरूले आफ्नो शासनलाई खतरामा पार्न सक्छन् भन्ने विश्वास गर्दछ।
चिनियाँ नेता माओत्सेतुङले सांस्कृतिक क्रान्तिका क्रममा सीसहित एक करोड ६० लाखभन्दा बढी सहरी युवालाई ग्रामीण क्षेत्रमा श्रम गर्न पठाएका थिए। सांस्कृतिक क्रान्तिपछि यी बेरोजगार युवाहरू सहरमा फर्कनुले पार्टीलाई केही हदसम्म स्वरोजगार, वा राज्य–योजनाबद्ध अर्थव्यवस्था भन्दा बाहिरको रोजगारी अँगाल्न बाध्य बनाएको थियो।
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार, युद्धविराम पालना पहिलो शर्त
संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने शर्त अघि सारेको छ।
साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि अमेरिकाले मध्यस्थता गर्न चाहेको बताउँदै युद्धविरामको पालनामा गम्भीर हुन आह्वान गरेको छ।
“युद्धविरामको पालना गर्न दुवै पक्ष गम्भीर रहेको स्पष्ट भएपछि, अमेरिका र साउदी अरबले द्वन्द्वको समाधान वार्ताबाट खोज्न तथा अवरुद्ध भएका वार्तालाई पुनः सुरु गर्न अमेरिका र साउदी तयार छन्,” अमेरिका विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री एन्टोनी ब्लिङ्केन ओस्लो पुगेपछि भनेका छन्।
सुडानको सेनाले बुधवार युद्धविराम वार्ताबाट बाहिरिएपछि अर्धसैनिक बलको आधार क्षेत्रमा विस्फोट गराएको छ भने आफ्नो प्रतिद्वन्द्वीले सहायता सामग्री प्राप्तिमा अवरोध गर्दै युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्षबाट युद्धविरामको गम्भीर उल्लङ्घन भएको बताएका छन्। सुडानी जनताप्रतिको दायित्व दुवै पक्षले बिर्सन नहुनेमा जोड दिँदै उनले युद्धविरामको पालना गर्न आग्रह गरेका छन्।
अस्ट्रेलियामा फेला पर्यो सबैभन्दा पुरानो हड्डी
अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको दाबी गरिएको छ।
बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको उल्लेख गरिएको छ। जुन सरिसृप अस्ट्रेलियाको आकाशमा १ सय ७० मिलियन वर्ष पहिले उड्ने गरेको थियो।
अस्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूको परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरू यस्तो निष्कर्षमा पुगेका हुन्।
बुधवार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमुनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो। यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेको थियो।
मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अस्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए।